चेरीले देखायो ‘ओमोडा’ इलेक्ट्रीक कार, नेपाल आउने पक्का

काठमाडौं । चिनियाँ मोटर कम्पनी चेरीले संघाईमा जारी अटो शोमा ‘ओमोडा– फाइभ‘ ईभी प्रदर्शनी गरेको छ । कम्पनीले ल्याएको ओमोडा ईभीले अहिले निकै चर्चा पाइरहेको छ ।

चेरीले ल्याएको ओमोडा फाइभ ईभीको फाइनल प्रोडक्सन देखाएको हो । ओमोडा एसयूभीमा ६४ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिङ्गल चार्जमा ४५० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ ।

यसमा कम्पनीले १५० किलोवाट पीक पावरको मोटर रहने छ । त्यो भनेको २०४ पीएस पावर र ४०० एनएम टर्क हो । ओमोडा फाइभ ईभीले डिसी फास्ट चार्जर सपोर्ट गर्छ । डिसी चार्जरबाट ४० मिनेटमा नै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने ७.२ किलोवाटको एसी चार्जरले पाँच घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

चेरीले यसअघि इन्टरनल कम्बस्चन इन्जिनमा पनि ओमोडा फाइभ विक्री गर्दै आएको भएपनि ईभी कम्बस्चनको तुलनामा भिन्न डिजाइनमा तयार भएको छ । ईभी प्रेरित ग्रिल, बोल्ड डिजाइन र स्टाइलिस पछाडिको भागले यसलाई निकै स्पोर्टी लुक्स प्रदान गरेको छ ।

त्यस्तै, यसको इन्टेरियर प्रिमियम फिचरले भरिपूर्ण छ । फिचर लोडेड ईभीको रुपमा तयार भएको अमोडामा आकर्षक स्टेरिङ ह्वील, मोडर्न ड्यासबोर्ड र लग्जरी सिटको पाउन सकिन्छ ।

यसलाई कम्पनीले चीन बाहिर पनि यही वर्षको अन्त्यसम्मबाट विक्री सुरु गर्ने योजना बनाएको छ । नेपालमा पनि चेरीका उत्पादन विक्री वितरण हुँदै आएको छ । चेरी ओमोडा नेपाली बजारमा पनि आउने कम्पनीले संकत गरिसकेको छ । चेरी नेपालका एमडी गौरब सारडाले संघाई अटो शोबाटै चाँडै नेपाल आउने संदेश दिएका छन् ।


Back_to_top