चेरीले विकास गरेको सोलिड स्टेट ब्याट्रीको रेन्ज १५०० किमी बढी

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता चेरीले ब्याट्री प्रविधिमा केन्द्रित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

कम्पनीले यही मार्च १८ (बुधबार)मा सोलिड स्टेट ब्याट्री विकासमा भएको प्रगतिबारे जानकारी दिन कार्यक्रम आयोजना गर्ने भएको हो ।

कार्यक्रममा चेरीले भविष्यका ब्याट्री प्रविधि र विकास योजनाबारे विस्तृत प्रस्तुत गर्नेछ । कम्पनीका अनुसार चेरीले पूर्ण सोलिड स्टेट ब्याट्री विकास गरिरहेको छ । जुन सन् २०२६ भित्रै सीमित साधनमा भए पनि प्रयोगमा ल्याउने कम्पनीको लक्ष्य छ ।

त्यसपछि क्रमशः व्यावसायिक प्रयोग विस्तार गर्ने चेरीको योजना छ । कम्पनीले सन् २०२७ भित्र उक्त सोलिड स्टेट ब्याट्रीलाई आम प्रयोगका लागि बजारमा उपलब्ध गराउने छ ।

सोलिड स्टेट ब्याट्रीमा परम्परागत तरल इलेक्ट्रोलाइटको सट्टा ठोस पदार्थ प्रयोग गरिन्छ। यस्तो डिजाइनले हाल प्रयोगमा रहेका लिथियम–आयन ब्याट्रीको तुलनामा बढी ऊर्जा घनत्व र राम्रो तापीय स्थिरता प्रदान गर्न सक्छ । ईभी उत्पादकहरूले यसको विकासमा व्यापक अनुसन्धान गरिरहेका छन् ।

हालसम्म कम्पनीले विकास गरेको सोलिड स्टेट ब्याट्रीका विस्तृत प्राविधिक विवरण सार्वजनिक गरेको छैन । चेरीका अनुसार सोलिड स्टेट ब्याट्रीले एकपटकको फुलचार्जमा १५०० किलोमिटरभन्दा बढी रेन्ज दिने सम्भावना छ । तर उक्त दूरी निर्धारण गर्न प्रयोग गरिएको परीक्षण साइकल बारे भने कम्पनीले स्पष्ट जानकारी दिएको छैन।

चेरीले यसअघि सन् २०२४ मा आयोजित कम्पनीको ग्लोबल इनोभेसन सम्मेलनमा चेरीले ‘कुनपेंग ब्याट्री” ब्राण्ड औपचारिक रूपमा सार्वजनिक गरेको थियो। यस ब्रान्डअन्तर्गत हाइब्रिड प्रणाली, लिथियम-आयन सेल तथा न्यू जेनेरेसन ब्याट्री प्रविधि सम्बन्धी विकास कार्यक्रमहरू समेटिएका छन्।

यसअघि चेरीले ६०० वाट आवर÷केजी ऊर्जा घनत्व लक्ष्य राखिएको सोलिड स्टेट ब्याट्री मोड्युलको प्रोटोटाइप समेत प्रस्तुत गरेको थियो । जसलाई कम्पनीको दीर्घकालीन विद्युतीकरण रणनीतिको एक भागका रूपमा व्याख्या गरेको थियो ।

पछिल्लो समय चिनियाँ अटोमोबाइल निर्माता र ब्याट्री आपूर्तिकर्ताहरूले सोलिड स्टेट ब्याट्रीलाई भविष्यको महत्वपूर्ण प्रविधिका रूपमा अघि सारेका छन्। यद्यपि ठूलो मात्रामा उत्पादन र लागत नियन्त्रण जस्ता चुनौतीहरू कायमै रहेको विश्लेषकहरू बताउँछन्।


Back_to_top