विश्व बजारमा फैलिँदै चिनियाँ कारको शक्ति, चीनमा ३ बीच कडा प्रतिस्पर्धा

काठमाडौं । चीनको अटोमोबाइल उद्योग अब घरेलु बजारमा कसले बढी कार बेच्ने भन्ने दौडमा सीमित छैन । उनीहरूको ध्यान विश्व बजारमा केन्द्रित भइसकेको छ ।

चिनियाँ ठूला कार निर्माता बीवाइडी, जिली र एसएआईसी जस्ता ठूला उत्पादक विश्वभर आफ्ना कार बिक्री गर्न चाहन्छन् । अहिले चीनका ३ ठूला कार निर्माताको नाम आउँदा बीवाइडी, एसएआइसी र जिली नै अग्रस्थानमा छन् ।

यी तीन ब्राण्डका अलावा चेरी, डोङफेङ, जीडब्लूएम, चांगान, बीएआइसी जस्ता ब्राण्ड पनि स्थानीय बजारका विदेशमा कार निर्यातमा ठूलो भूमिका निर्वाह गर्दै आएका छन् । यहाँ स्टार्टअप कम्पनीमा लिपमोटरको नाम पनि बिर्सनु हुँदैन ।

उनीहरूकाे ध्यान युरोप, एसिया, ल्याटिन अमेरिका र मध्यपूर्वमा चिनियाँ कारको बजार विस्तार गर्नमा लागिपरेको देखिन्छ । चिनियाँ कार निर्माताहरू मूल्य, प्रविधि र उत्पादन क्षमताको आधारमा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न सफल भएका छन् ।

विश्वमा आफ्ना उत्पादनको विस्तारमा चिनियाँ कम्पनीहरूले दौड लगाइरहँदा मुख्य तीन कम्पनीको रणनीतिका बारेमा यहाँ चर्चा गरिएको छ । साथै, तीन वटै कम्पनीको क्षमता र कमजोरीका विषयमा पनि केही कुरा यहाँ समेटिएको छ ।

तीन ब्राण्डको अवस्था

बीवाइडी चीनमा सबैभन्दा ठूलो उत्पादन क्षमता भएको ब्राण्ड हो । कम्पनीले बीवाइडी, डेन्जा, याङवाङ, बाओ जस्ता प्रिमियम र मासमार्केट ब्राण्डमा काम गर्दै आएको छ । सन् २०२५ मा बीवाइडीले ४६ लाख कार बिक्री गरेको थियो ।

ब्याट्रीदेखि पावरट्रेनसम्म महत्वपूर्ण प्रविधिमा आफ्नै उत्पादन भएको बीवाइडी सन् २०२६ मा पनि चीनको सबैभन्दा ठूलो कार उत्पादक हो । सेप्टेम्बर २०२६ सम्मको उत्पादन २७ लाख युनिट पुगिसकेको छ ।

जिलीले बहुब्राण्ड रणनीतिको साथ प्रतिस्पर्धामा रहेको छ । जिली, ग्यालेक्सी, लिंक एण्ड को, जिकर, रेडारा, पोलास्टर जस्ता ब्राण्ड जिली ग्रुप भित्र छन् ।

सन् २०२५ मा जिली अटोले ३० लाख २४ हजार गाडी बिक्री गरेको थियो । त्यसमा न्यू इनर्जी भेहिकलको हिस्सा १६ लाख ८८ हजार थियो ।

चीनको लामो समय पहिलो स्थानमा रहेको कार उत्पादक एसएआईसी ग्रुप हो । ग्रुपसँग एमजी, रिवे, आइएम, वुलिङ, मेक्सस जस्ता ब्राण्ड छन् । कम मूल्य र मासमार्केट सेग्मेन्टमा एसएआइसी निकै बलियो ब्राण्ड हो । यसका अलावा एसएआइसी ग्रुपले थुप्रै अन्तर्राष्ट्रिय ब्राण्डका कार पनि चीनमा उत्पादन गर्छ ।

विश्व बजारमा बीवाइडीको तीव्र छलाङ

अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई बीवाइडीले निकै बलियो बनाएको छ । उसको अन्तर्राष्ट्रिय छलाङमा ईभीको महत्वपूर्ण भूमिका देखिन्छ ।

सन् २०२५ मा पहिलोपटक १० लाख युनिट कार निर्यात गर्न सफल भएको बीवाइडीले सन् २०२६ को सेप्टेम्बरसम्मा ११ लाख युनिटमाथि कार निर्यात गरिसकेको छ । बीवाइडी अहिले १२१ देशमा आफ्नो उत्पादन बिक्री गर्दै आएको छ । नेपालमा पनि बीवाइडी पहिलो स्थानमा रहेको ब्राण्ड हो ।

जिलीको रणनीति स्थानीय उत्पादन

जिलीले भने विदेशमा बिक्री बढाउनेसँगै स्थानीय बजारमै कार उत्पादनलाई प्राथमिकता राखेको छ । सन् २०२५ मा ४ लाख २० हजार युनिट जिलीका कार अन्तर्राष्ट्रिय बजारमा बिक्री भए । अघिल्लो बर्षको विक्रीलाई कम्पनीले यस वर्ष पार गरिसकेको छ ।

इन्डोनेसिया, इजिप्ट र कजाकिस्तान जस्ता बढ्दो अर्थतन्त्र भएका देशमा जिलीले प्लान्ट लगाइसकेको छ । युरोप र अमेरिकी बजारपनि उसको नजरमा छ । जिली ईभी र हाइब्रिड मोडलको बलमा अगाडि बढिरहेको कम्पनी हो ।

पुरानो नेटवर्कको फाइदा लिँदै एसएआइसी

एसएआईसीसँग पहिलेदेखि निर्माण भएको अन्तर्राष्ट्रिय नेटवर्क छ । उसको एमजी ब्राण्ड युरोपमा निकै चर्चित मानिन्छ । सन् २०२५ मा एसएआईसी ग्रुपले चीन बाहिर १० लाख ७१ हजार कार बिक्री गरेको थियो ।

एसएआइसी ग्रुपको नेटवर्क विश्वभर १७० भन्दा बढी देश छ । उसको वुलिङ जस्ता ब्राण्ड पनि विश्वबजारमा गइरहेका छन् ।

प्रतिस्पर्धा कारमा सीमित हुँदैन

यी तीन कम्पनीको रणनीति हेर्दा चिनियाँ अटोमोबाइल क्षेत्रमा चलिरहेको प्रतिस्पर्धा अर्को चरण प्रवेश गरेको स्पष्ट हुन्छ ।

बीवाइडीको ताकत ठूलो ईभी उत्पादन स्केल, ब्याट्री र प्रविधिमा देखिन्छ । जिली बहुब्राण्डको सहायातमा अगाडि बढ्दैछ । एसएआइसीको ताकत अन्तर्राष्ट्रिय नेटवर्कमा राम्रो देखिन्छ ।

त्यसैले आगामी प्रतिस्पर्धा चीनमा धेरै कार बेच्नेमा सीमित हुनेछैन । विश्व बजारमा प्रविधि, मूल्य, ब्राण्ड, सेवा र स्थानीय उत्पादनलाई एउटै संरचनामा सफलतापूर्वक कसले चाँडो जोड्छ भन्नेमा देखिन्छ ।

तीन ब्राण्डको कमजोर पक्ष

माथि चर्चा भएका बलिया र सबल पक्ष हुन् । यी तीनै कम्पनीका केही कमजोरी पनि छन् । बीवाइडीले अझै सफ्टवेयर र इन्फोटेन्टमेन्ट जस्ता कुरामा ठूलो सुधार गर्नु पर्ने देखिन्छ । अर्को इन्ट्री लेभल कारको डिजाइनमा सुधार आवश्यक देखिन्छ ।

जिलीको सबैभन्दा बलियो पक्ष नै व्यवस्थापन राम्रो गर्न नसकेको खण्डमा कमजोरी बन्ने देखिन्छ । उसँग भएका सहायक ब्राण्डको व्यवस्थापन जिलीको लागि चुनौती बन्न सक्छ । अर्को ब्याट्रीमा परनिर्भरता जिलीको कमजोरी हो ।

एसएआइसी ग्रुपको मुख्य कमजोरी पूर्णतः सरकारी स्वामित्वको हुनु हो । द्रुत गतिमा लिनु पर्ने निर्णयमा सरकारी कम्पनी भएको कारण केही ढिला सुस्ती हुनसक्छ । त्यसको प्रमाण वर्षौं पहिलो स्थानमा रहेको कम्पनीले बीवाइडी र जिली जस्ता उत्पादकले उछिनी सकेका छन् ।


Back_to_top