कुन कुन चिनियाँ ब्राण्ड टिक्लान् नेपालमा ?

काठमाडौं । अहिले नेपाली बजारमा करिब दुई दर्जन चिनियाँ ब्राण्डका चार पाङ्ग्रे उत्पादन बिक्री हुँदै आएका छन् । विशेषगरी चीनका ठूला कार निर्माताले उत्पादन गरेका साधन नेपालमा उपलब्ध भइसकेका छन् ।

विश्व न्यू इनर्जी भेहिकललाई लिड गरिरहेको बीवाइडीदेखि स्टाटअप कम्पनीसम्मका उत्पादन नेपालमा बिक्रीको लागि उपलब्ध छन् । यी सबै ब्राण्डले उत्कृष्ट व्यापार पाएका भने छैनन् ।

अहिले बजारमा रहेका बीवाइडी, एमजी, ओमोडा/जेकोदेखि दीपलसम्मका ब्राण्डले राम्रो बिक्री निकाल्न थालेका छन् । नामी, नेटा, स्काइवेल, बीएडब्लू, हेनरी, भोल्टस्, जिकर, एक्सपेङ, स्मार्ट, डायून, अबतार, लीप, एलइभी जस्ता ब्राण्डका चार पाङ्ग्रे साधन स्थापित हुन प्रतिस्पर्धा गरिरहेका छन् ।

‘अहिले बजार प्रयोग कै चरणमा छ । कुन कुन ब्राण्डले भविष्यमा पनि राम्रो ब्यापार गर्छ, अहिल्यै भन्न कठिन छ । तर, राम्रा ब्राण्डका उत्पादन निरन्तर बिक्री हुन्छन्’, चीनबाट विद्युतीय गाडी ल्याएर ब्यापार गर्दै आएका एक ब्यवसायीले मेरोअटोसँग भने ।

यस्तै खाले धारणा सबै ब्यवसायीको छ । उनिहरु आफ्नो उत्पादन भन्दा पनि राम्रो बिक्री र बिक्रीपछिको सेवा दिने ब्राण्डहरु लामो सयम बजारमा टिक्ने बताउँछन् ।

चीनबाट गाडी आयात गर्ने अधिकांश ब्यवसायीको भनाइलाई आधार मान्ने हो भने चिनियाँ कारहरु फ्यूचरस्टीक डिजाइन र नयाँ प्रविधिमा अब्बल छन् । तर, प्रविधिमा पहुँच कुनै एक देश वा भूगोलको मात्रै हुन्छ भन्ने होइन । त्यसैले चीन बाहिर बन्ने कारहरु पनि फ्युचस्टीक र हाइटेक हुन्छन् । त्यसको पछिल्लो उदाहारण महिन्द्राको नयाँ बीई ६ ई र एक्सईभी ९ ईलाई लिन सकिन्छ ।

ब्याट्रीको फाइदा उठाउँदै चिनियाँ कम्पनीहरु

लिथियम आयोन ब्याट्रीको सबैभन्दा ठूलो उत्पादक, प्रयोगकर्ता र बिक्रेता देश चीन हो । न्यू इनर्जी भेहिकलको प्रयोग बढ्दै जान थालेसँगै चीन विश्वकै ठूलो कार निर्यातकर्ता पनि हो । अहिले चीनमा बिक्री हुने करिब ५० प्रतिशत कार न्यू इनर्जीमा आधारित छन् ।

ब्याट्री इनोभेसनमा सीएटीएल, बीवाइडी, सीएएलबी, गोसन, फारेसिस, सनवाडा जस्ता ब्राण्डले चीनमा ब्याट्री बनाउँदै आएका छन् । चीनमा नै ब्याट्री बन्ने भएसँगै त्यहाँका कारहरुमा लाग्ने ब्याट्रीको लागत पनि कम हुन्छ । जसका कारण चिनियाँ ईभी प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुँदै आएका छन् ।

यूरोप, अमेरिकी र अन्य एशियाली देशमा उत्पादन हुने कारको तुलनामा चीनमा बन्ने विद्युतीय कारको मूल्य कम रहेको छ । त्यसैले यी कारहरुसँग प्रतिस्पर्धा गर्न अन्यलाई सहज भने छैन ।

कुन कुन ब्राण्ड टिक्लान् ?

अहिल्यै तोकेर यो ब्राण्ड टिक्छ र त्यो टिक्दैन भन्ने अवस्था छैन । चीनमा पनि धेरै स्टार्टअप कम्पनीहरु आफ्नो भविष्यलाई लिएर चिन्तित छन् । उनिहरु राम्रो उत्पादन ल्याउन लागि परेका छन् । तर, आर्थिक रुपमा धान्न मुस्किल पर्ने अवस्थामा पुगेका छन् । त्यसैले मर्जर लगायतका विकल्पमा दर्जनौं ब्राण्डले कुरा गरिरहेका छन् ।

हाम्रो बजारको सन्दर्भमा जुन ब्राण्ड वा कम्पनीले उत्कृष्ट गाडी, राम्रो मूल्य र ब्यवस्थित सर्भिस अफर गर्छन्, त्यही ब्राण्ड र कम्पनी टिक्ने हो । भर्खरै नयाँ ब्राण्डहरु एकपछि अर्को आउन थालेको कारण टिक्ने र बन्द हुने कम्पनी छुट्टाउन अझै केही महिना कुर्नुपर्ने हुन्छ ।


Back_to_top