काठमाडौं । सन् २०२२ को अगष्ट १५ मा महिन्द्राले बीई (बर्न इलेक्ट्रीक) कन्सेप्ट देखाउँदा सबैलाई लागेको थियो, यो कन्सेप्टमा मात्र सीमित हुनेछ । हुन पनि किन नहोस्, महिन्द्राले देखाएको कन्सेप्ट महँगो खेलौना कारको जस्तो र्याडिकल डिजाइनमा थियो ।
तर, महिन्द्राले यसै हप्ता उक्त कन्सेप्टको दुईवटा कार बीई ६ ई र एक्सईभी ९ई लन्च गरेको छ । भारतका धेरै अटो पत्रकारहरूले यी कारहरू आफैं चलाएर अनुभव गरेको भिडियोहरू सार्वजनिक भइरहेको छ । अहिले अटो बजारमा यी कारको निकै चर्चा छ ।
महिन्द्राले बनाएको यी ग्लोबल डिजाइनका फ्युचरिस्टिक ईभीहरूले विश्व बजारमा महिन्द्राको ईभीलाई प्रतिस्पर्धा गर्न सक्ने गरी उभ्याएको छ ।
महिन्द्राले लन्च गरेको नेक्स्ट जेन ईभीहरू बीई ६ई र एक्सईभी ९ई कन्सेप्ट डिजाइनको आधारमा हुबहु देखिएका छन् । यसको नाममा मात्र केही परिवर्तन भएको छ । नेक्स्ट जेन डिजाइन, नेक्स्ट जेन फिचर, नेक्ट जेन टेक्नलोजी, नेक्स्ट जेन प्रफर्मेन्स, नेक्स्टजेन सुरक्षा भएका यी कारहरूको मूल्य पनि धेरैलाई अचम्मित पारिरहेको छ ।
महिन्द्राले लन्च गरेको दुई ईभी मध्य कम्प्याक्ट कुपे एसयूभी डिजाइनमा रहेको बीई ६ईका ५ गज्जबका फिचर बारे हामीले यहाँ चर्चा गरेका छौं ।
१. एमएआइए पावर डिजिटल एक्सपिरियन्स
बीई ६ई मा महिन्द्रा आर्टिफिसियल इन्टेलिजेन्स आर्किटेक्चर ( एमएआइए) प्रयोग भएको छ । महिन्द्रका अनुसार यो आर्किटेक्चर विश्वको सबैभन्दा पावरफुल आर्किटेक्चर हो । एमएआइएले इथर्नेट ब्याकबोन भएको नेक्स्ट जेन डोमेन आर्किटेक्चर हो ।
यसमा क्वालकम स्न्यापड्रागन ८२९५ चिपको प्रयोग भएको छ, जुन फास्टेस्ट अटोमेटिभ ग्रेड चिसेट हो । यसमा ओभर दी एयर अपडेट, अल्ट्राफास्ट ६ औं जेनेरेशनको जीपीयू, २४ जीबी र्याम र १२८ जीबीको स्टोरेज रहेको छ । महिन्द्रा बीई ६ई मा एडासको लेबल २ प्लस सुरक्षा रहेको छ । जसलाई मोबाइल आई क्यूटीएम ६ चिपले पावर दिएको छ । यसमा २ जीबीको र्याम र ८ मेगा पिक्सेलको क्यामरा रहेको छ ।
२. ककपिट एक्सपिरीयन्स
महिन्द्रा बीई ६ई मा इन्फोटेन्मेन्ट र इन्स्ट्रुमेन्ट कन्सोलको लागि दुई वटा स्क्रीन रहेको छ । यसमा डल्बी एट्मससहितको १६ वटा स्पीकर सहितको हर्मन कार्डनको साउण्ड सिस्टम रहेको छ । यो ईभीमा ठूलो साइजको ग्लास स्काई रुफ रहेको छ । स्काई रुफमै इन्ट्रीग्रेटेड एम्बियन्ट लाइटले रातको समयमा यसको क्याबिन एक्सपिरियन्स नेक्स्ट लेबलको बनाएको छ । बीई ९ई मा फ्रन्ट सिटमा बस्नेले मात्र होइन रियर प्यासेन्जरले पनि इन्फोटेन्मेन्टका लागि पर्सनल स्क्रीनको अप्सन रहेको छ ।
३ . रेन्ज तथा पफर्मेन्स
बीई ६ई महिन्द्राको एड्भान्स डेडिकेटेड इलेक्ट्रीक इनग्लो प्ल्याटफर्ममा बनेको हो । यसमा २१० किलोवाट सम्मको रियर माउण्टेड इलेक्ट्रीक मोटर रहेको छ । जसले २८५ पीएसको पावर तथा ३८० न्युटन मिटरको टर्क दिन्छ । यो मात्र ६.७ सेकेण्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ ।
यो ईभीमा ५९ र ७९ किलोवाट आवरको बीवाइडीको ब्लेड ब्याट्री छ । यो ब्याट्रीप्याकले एक पटकको फुलचार्जमा ६५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । रेन्ज, एभ्रिडे र रेस गरी ३ फरक ड्राइभ मोड रहेको यो ईभीमा १० सेकेण्डसम्म पावर दिनको लागि छुट्टै पावर मोड समेत दिएको छ । १७५ किलोवाटसम्मको डीसी फास्ट चार्जरबाट २० मिनेटमा २० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
४. सेफ्टी फिचरहरू
महिन्द्राले बीर्ई ६ईलाई पावरफुल प्रफर्मेस सेन्ट्रीक ईभी मात्र नबनाई सुरक्षाका धेरै फिचरहरू समेत दिएको छ । यसमा ५ वटा राडार तथा एउटा भिजन क्यामरा सहितको एडास लेबल २ प्लस सिस्टम रहेको छ । यो एसयूभीले पैदलयात्रु, जनावर, ब्यारिकेटहरू र विभिन्न खालको सवारी साधनलाई डिटेक्ट गर्छ ।
यो ईभीमा चालकलाई समेत सजक राख्न ड्राइभर र अकुपेन्ट मोनिटरिङ सिस्टम समेत रहेको छ । यसमा क्याबिन भित्र रहेको क्यामराले चालको थकाइ अवस्थाको मनिटर गरी आवश्यक सुझाव समेत दिन्छ । यो क्यामराको सहयोगले अन्य व्यक्तिसँग भिडियो कल समेत गर्न सकिन्छ ।
त्यस्तै, यो ईभीमा गाडी भित्र वा बाहिरै बसेर साँचोको सहयोगमा अटोपार्क गर्न सकिन्छ । अटो पार्कका लागि गाडीमा १२ वटा अल्ट्रासोनिक सेन्सर दिइएको छ ।
५. लाइफ टाइम ब्याट्री वारेन्टी
महिन्द्रा धेरै ईभी चालकको ब्याट्री रिप्लेसमेन्ट सम्बन्धी समस्या एकैपटक समाधान गरिदिएको छ । कम्पनीले बीई ६ईमा लाइफ टाइम ब्याट्री वारेन्टी दिने जनाएको छ । यो वारेन्टी पहिलोपटक खरिद गर्ने व्यक्तिगत सवारीधनीलाई मात्र लागू हुनेछ । यदि उक्त ईभी दोस्रो पक्षलाई बिक्री भएमा पनि ब्याट्रीका स्ट्याण्डर्ड वारेन्टी १० वर्ष वा २ लाख किलोमिटर कायमै रहने कम्पनीले जनाएको छ ।