काठमाडौं । टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डकेट प्रालिले बिक्री गर्दै आएको टोयोटा ल्याण्ड क्रुजर प्राडोको नयाँ भर्सन नेपालमा बिक्री सुरू भएको छ । सन् २०२४ को सुरूवातमै अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरू भएको ल्याण्ड क्रुजर प्राडो २५० नेपालमा शनिबार एक कार्यक्रम आयोजना गरी बिक्री सुरू गरिएको हो ।
नेपाली बजारमा ल्याण्ड क्रुजर प्राडो एलसी २५० को सुरूवाती मूल्य ३ करोड २० लाख रूपैयाँ रहेको छ । यसको टप भेरियन्टको मूल्य ३ करोड ७० लाख रूपैयाँ पर्नेछ ।
यसअघिको तुलनामा विल्कुलै फरक लुक्समा आएको अफरोड मेसिनलाई वैद्य्यज अर्गनाइजेसनका प्रसिडेन्ट सुरज वैद्यले सार्वजनिक गरेका थिए । उनले यसमा रहेका फिचरका बारेमा जानकारी गराएका थिए ।
‘मूल्य सुन्दा महंगो लाग्छ । तर, अहिले पनि टोयोटाका गाडी लगानी नै हो । गाडी जति पुरानो हुँदै गए पनि ग्राहकले पैसा गुमाउनु पर्दैन । त्यसैले आज पनि टोयोटाका गाडी किन्दा इन्भेष्ट गरेको सम्झन सकिन्छ,’ वैद्यले भने ।
कार्यक्रममा केही पृथकशैली अपनाएर गाडी सार्वजनिक गरिएको थियो । प्राडोका विभिन्न सिरिजलाई प्रदर्शनी गर्दै नयाँ प्राडो कति फरक थियो भन्ने विषय देखाइएको थियो ।
यस्तो छ ल्याण्ड क्रुजरको इतिहास
विश्व बजारमा ६९ वर्ष पहिला आएको टोयोटा ल्याण्ड क्रुजर निरन्तर सफल मोडल हो । नेपालमा पनि यसले आफ्नो बिक्रीको ५७ वर्ष पूरा गरिसकेको छ ।

सन् १९६७ मा पहिलो पटक ल्याण्ड क्रुजर नेपाल आएको थियो । ल्याण्ड क्रुजर नेपाली बजारमा थर्ड जेनेरेसनदेखि निरन्तर उपलब्ध भएको इतिहास छ । कम्पनीले सन् १९५५ देखि १९५९ सम्म पहिलो जेनेरेशन मोडल बजारमा ल्याएको थियो । जे २० र जे ३० नामबाट चिनिएको उक्त मोडल नेपाल आएन । नेपाल नआए पनि यही मोडलबाटै टोयोटाले अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरू गरेको हो ।
सन् १९६० मा ल्याण्ड क्रुजरको ४० सिरिज सार्वजनिक भएको थियो । फोर ह्वील ड्राइभ सिस्टम सहित आएको उक्त अफरोड एसयूभी दक्षिण अमेरिकी देशमा ‘बस ट्याक्सी’को रूपमा समेत प्रयोग भएको थियो ।

जस्तोसुकै बाटोमा पनि चलाउन मिल्ने ड्राइभिङ सिस्टमसहित आएपछि यो एसयूभी, युरोप, अमेरिकादेखि मिडिल इष्टमा रहेका देशहरूमा समेत निकै रुचाइयो । अहिले पनि अरबियन देशहरू ल्याण्ड क्रुजरको सबैभन्दा ठूलो खरिदकर्ता हुन् ।
ल्याण्ड क्रुजरलाई विश्व बजारमा ५० हजार युनिट पुर्याउन करिब १५ वर्षको लागेको थियो । सन् १९६५ मा ५० हजारको आँकडा भेट्टाएको ल्याण्ड क्रुजरले सन् १९६८ मा १ लाख युनिटको आँकडा पूरा गरेको थियो । यही समय नेपाली बजारमा पनि ल्याण्ड क्रुजर उपलब्ध भएको हो ।

सन् १९७२ मा २ लाख युनिटको बिक्री आँकडा पूरा गरेको ल्याण्ड क्रुजरले सन् १९७९ मा ८ लाख युनिट बिक्री पूरा गरेको थियो । सन् १९८० मा १० लाख युनिट पूरा गरेको टोयोटाले सन् २०१९ मा एक करोड युनिट बिक्री आँकडा भेट्टाएको थियो । सन् २०२३ को अन्तिमसम्म थप १३ लाख युनिट ल्याण्ड क्रुजर बिक्री भएको छ ।
नयाँ प्राडो एलसी २५० मा के-के पाउन सकिन्छ ?
टोयोटा प्राडो एलसी २५० दुई र तीन रो सिटको साथ उपलब्ध भएको छ । नयाँ प्राडोमा २० इन्चको आल्मुनियम ह्वील, रेन सेन्सिङ वाइपर, मस्कुलर फ्रन्ट बम्पर, अटोमेटिक हेडल्याम्प, ठूलो एयर ड्याम, फगल्याम्प, मडगाड, विन्डो डिफगर, रियर स्पोइलर जस्ता आवश्यक फिचर यसमा छन् ।
टोयोटाले एलसी २५० मा क्रुजकन्ट्रोल, कुल्ड बक्स, ८ वटा सेन्सर, मल्टी स्पोक स्टेरिङ ह्वील, सनरूफ, एडास फिचर, ८ वटा एयरब्याग, लेदर सिट, ड्युल जोन एसी, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ दिइएको छ ।

नयाँ एसयूभीको लग्जरी भेरियन्टमा १२.३ इन्चको इन्फर्मेशन डिस्प्ले उपलब्ध एलसी २५० मा हेडअप डिस्प्ले, हिटर, ग्लोवबक्स, ८ तरिकाले एड्जस्ट गर्न मिल्ने चालक सिट, १० वटा स्पीकर, वायरलेस इन्ट्री पाउन सकिन्छ ।
कम्पनीले नेपाल ल्याएको एलसी २५० प्राडोको अल राउण्डर भेरियन्टमा सनरूफ, अटोमेटिक एसी जस्ता फिचर छैन । साथै, स्क्रीन सानो छ भने स्पीकरको संख्या पनि कम हुनेछ ।

