बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु, १९ घाइते

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । 
मृत्यु हुनेमा बसका सहचालक मकवानपुर धियाल-९ बस्ने वर्ष ४४ का चन्द्रबहादुर तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १५२१ नम्बरको बस र काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७५२८ को ट्रक इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा एकापसमा ठक्कर खाँदा सहचालक तिमल्सिनाको मृत्यु भएको हो भने १९ जना घाइते भएको प्रहरीले जनाएको छ । 
घाइतेमध्ये पाँचजनाको चितवन मेडिकल कलेज र अन्यको कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
बसले अगाडिको गाडीलाई उछिन्ने क्रममा सो दुर्घटना भएको उनले बताए । दुर्घटनाका कारण सडक एकतर्फ मात्र सञ्चालनमा छ । 


Back_to_top