नेटा भी र इसीथ्रीः मूल्यमा ४ लाख फरक, आयातमा कडा प्रतिस्पर्धी

काठमाडौं । विद्युतीय कार ब्राण्डको बढ्दो आयातसँगै प्रतिस्पर्धा पनि राम्रै भइरहेको छ । लगभग एउटै सेग्मेन्टमा उपलब्ध नेटा भी र सिट्रोन इसीथ्री एक अर्काका कडा प्रतिस्पर्धी हुन् ।

सिट्रोन विश्व बजारमा कहलिएको फ्रेन्च ब्राण्ड हो भने नेटा उदाउँदो चिनियाँ स्टाटअप कम्पनी हो । यी दुबै ब्राण्डले एक÷एक मोडल मात्रै इलेक्ट्रीक कार उपलब्ध गराएका छन् । नेपाल आउने नेटा भी चीनमा उत्पादन भएको हो । सिट्रोनले भने भारतमा उत्पादन गरेर इसीथ्री नेपाल पठाउँछ ।

सिजी मोटर्सले ३८ लाख ९९ हजार मूल्य तोकेर नेटा भी बिक्री गर्दै आएको छ । यसमा कम्पनीले राम्रै छुट दिने बताएको छ ।

साँग्रिला मोटर्सले नेपाल ल्याएको सिट्रोन यूरोपकै चर्चित ब्राण्डमा पर्छ । तर, भारतीय बजारमा उत्पादन गरेको इसीथ्रीको चर्चा भने कमै सुन्न पाइन्छ । कम्पनीले ३४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर इसीथ्री बिक्री गर्दै आएको छ ।

आयातमा को अगाडि ?

नेटा भी अघिल्लो वर्षनै नेपाल आएको हो । कम्पनीले क्रसओभर सेग्मेन्टमा ल्याएको नेटा भीलाई धेरैले मिनी टेस्ला भनेर हेर्ने गरेका छन् । बटम रहित क्लिन ड्यासबोर्ड, ठूलो स्कृन र सिंगल चार्जमा ३५० किलोमिटर हाराहारी रेन्ज भएको कारण यसलाई धेरैले आफ्नो ग्यारेजमा सजाएका छन् ।

सिट्रोन इसीथ्री नेपाल आउन थालेको धेरै भएको छैन । चालु आर्थिक वर्षको सुरुवातसँगै इसीथ्री नेपाल आएको हो । यसले हाइवेमा सिंगल चार्जमा २२० किलोमिटर हाराहारी मात्रै रेन्ज दिन्छ । त्यसैले यी दुई मोडलको पछिल्लो ६ महिनाको आयातलाई हामीले प्रस्तुत गरेका छौं ।

भदौदेखि माघसम्मको आयातको आधारमा केही यूनिट अगाडि इसीथ्री देखिन्छ । नयाँ ब्राण्डको रुपमा आएको कारण इसीथ्रीको आयात धेरै भएको सहजै अनुमान लगाउन सकिन्छ ।

६ महिनाको अवधिमा सिट्रोनले १५८ यूनिट इसीथ्री नेपाल ल्याउदा नेटा भी १४५ यूनिट आयात भएको छ । यसले भोलिका दिनमा पनि यी दुई मोडल बीच कडै प्रतिस्पर्धा हुने देखाउँछ ।

साइजमा पनि कडै प्रतिस्पर्धा

नेटा भी र इसीथ्री बीच साइजमा पनि कडा प्रतिस्पर्धा देखिन्छ । नेटा भीको लम्बाई ४०७० एमएम, चौडाई १६९० एमएम, उचाई १५४० एमएमको रहेको छ । यो कारमा २४२० एमएम लामो ह्वीलवेस छ । यसमा १६० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

सिट्रोन इसीथ्रीको लम्बाई ३९८१ एमएम, चौडाई १७३३ एमएम र उचाई १६०४ एमएम छ । यसमा २५४० एमएम लामो ह्वीलवेस रहेको छ । यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स छ ।


Back_to_top