काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको पहिलो इलेक्ट्रीक कारले नेपाली बजारमा राम्रै प्रतिक्रिया पाउन थालेको छ । साँग्रिला मोटर्सले विगत ५ महिनामा १०५ यूनिट इलेक्ट्रीक सीथ्री नेपाल ल्याएर ग्राहकलाई हस्तान्त्रण गरिसकेको जनाएको छ ।
मिड रेन्ज मा सब फोर मिटर एसयूभी भनेर कम्पनीले यसको मार्केटिङ गरिरहेको छ । साइजमा सब फोर मिटर एसयूभीकै हाराहारी रहेको सीथ्रीले न्युयोर्क अटो शो अन्तर्गत भएको १९औँ वर्ल्ड कार अवार्ड समारोहमा ‘वर्ल्ड अर्बन कार अफ दी इयर २०२३’ जित्न सफल भएसँगै अन्तर्राष्ट्रिय बजारमा पनि यसले चर्चा कमाउन थालेको हो ।
सिट्रोनले आफ्नो भारत मेड पहिलो ईभीमा २९.२ किलोवाट आवर क्षमताको ब्याट्री र ४२ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । इलेक्ट्रीक सीथ्री नियमित डिसी फास्ट चार्जर प्रयोग गर्न मिल्ने सेगमेन्ट कै पहिलो गाडी भएको कम्पनीको दावी छ ।
यसमा रिजेनेरेटिभ ब्रेकिङ, फुल्ली अटोमेटीक ड्राइभ फिचर, सुरक्षाको लागि एबीएस, इएसपी र मल्टिपल एयरब्यागहरू दिइएको छ । डिजाइन, सेफ्टी र रेन्जमा उत्कृष्ट दावी गरिएको सीथ्री इलेक्ट्रीकले सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ ।
सिट्रोनले गाडीमा ३ वर्ष वा एक लाख २५ हजार किलोमिटरको वारेन्टी दिइएको छ । साथै, ब्याट्रीमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटरको वारेन्टी प्रदान गरिएको छ । त्यसैगरी मोटरमा भने ५ वर्ष वा एक लाख किलोमिटरको वारेन्टी रहेको कम्पनीको भनाइ छ ।

