नेपाल आउँदै टोयोटाका दुई नयाँ ईभी मोडल

काठमाडौं । विश्वकै ठूलो कार निर्माता टोयोटाले नेपाली बजारमा दुई इलेक्ट्रीक कार ल्याउने योजना अगाडि सारेको छ । कम्पनीले सन् २०२४ को मध्य (आगामी ६ महिना) भित्र दुई विद्युतीय कार नेपाल ल्याउने गरी तयारी गरिरहेको हो ।

‘विद्युतीय कारको रुपमा हामी एसयूभी र सेडान नेपाल बजारमा ल्याउने तयारीमा छौं । सम्भवत सन् २०२४ को मध्यसम्ममा यी दुई मोडल नेपालमा बिक्री सुरु हुन्छ’, यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि स्रोतले भन्यो ।

कम्पनीले ठ्याक्कै नेपाल ल्याउने तयारी थालेको मोडलका बिषयमा जानकारी नदिएपनि एसयूभीको रुपमा बीजेडफोरएक्स र सेडानको रुपमा बीजेडथ्री मोडल नेपाल ल्याउने छ । बीजेडफोरएक्स अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरु भएको मोडल हो । यसमा आवश्यक अपग्रेडसहित कम्पनीले २०२४ मोडल बजारमा उतार्दैछ ।

त्यसैगरी बीजेडथ्री सेडान अहिले चीनमा बिक्री हुँदै आएको कार हो । निकै लग्जरी फिचरसहित आएको यो सेडान कार बीवाइडीसँग सहकार्य गरेर टोयोटाले तयार गरेको हो । यसको बिक्री अझै चीनमा सुरु भइसकेको छैन ।

यस्तो छ बीजेडफोरएक्स

टोयोटा बीजेडफोरएक्स कम्पनीको सफल कम्प्याक्ट एसयूभी र्‍याभफोरमा आधारित मोडल हो । सिंगल चार्जमा ५१० किलोमिटर रेन्ज आउने डब्लूएलटीपी टेष्टले देखाएको यो एसयूभीमा ७१.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ ।

निकै फ्यूल इफिसेन्सी देखिएको टोयोटा बीजेडफोरएक्सले प्रति १०० किलोमिटर यात्रा गर्न १४ किलोवाट आवर मात्रै ब्याट्री खपत हुन्छ । यसले १५० किलोवाट क्षमताको फास्ट डिसी चार्जर सपोर्ट गर्छ । यसलाई करिब ३२ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

टोयोटाले यसमा १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । यो भनेको अधिकतम २०४ पीएस पावर हो । साथै, १६० किलोवाट क्षमताको मोटरमा पनि उपलब्ध छ । नेपाली बजारमा कुन मोटर साइजमा आउँछ, अहिल्यै एकिन जानकारी प्राप्त भएको छैन ।

बीजेडथ्री

टोयोटाले यो सेडान कारमा पनि बीजेडफोरएक्सको जस्तै समान ७१.४ किलोवाट आवरको ब्याट्री र १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । यसको रेन्ज पनि लगभग उस्तै ५१० किलोमिटर रहने छ ।

चीनमा मात्रै उपलब्ध हुने बीजेडथ्रीएक्सको अन्तर्राष्ट्रिय स्पेक्श सन् २०२४ को सुरुवातमा बाहिर आउने अनुमान गरिएको छ ।


Back_to_top