बेवारिसे र जफत गरिएका सवारी व्यवस्थापन गर्न समिति गठन

काठमाडौं । सरकारले जफत गरिएका, बेवारिसे फेला परेका, प्रयोगविहीन भएर थन्किएका सवारी साधनको व्यवस्थापन गर्न एक समिति गठन गरेको छ ।

मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको सचिवस्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका (शासकीय सुधार क्षेत्र) हेर्ने सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन हेर्ने सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव,अर्थ सचिव र महालेखा नियन्त्रक सदस्य रहने छन् ।

उक्त समितिको सचिवालयको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जनशक्ति व्यवस्थापन महाशाखाले सम्पादन गर्नेछ ।

त्यस्तै, बैठकले मन्त्रिपरिषद्को २०८१ मंसिर ६ गते निर्णयद्धारा गठित, ‘पुराना सरकारी सवारीसाधन तथा यन्त्र उपकरणहरूको व्यवस्थापन गर्ने सम्बन्धी कार्यदल’ लाई सबै सरकारी निकायले प्रयोगमा नरहेका सवारी साधन तथा यन्त्र उपकरणको तत्कालै विवरण पठाउनुपर्ने निर्णय पनि गरेको छ ।

बैठकले सबै निकायहरूलाई अविलम्ब जिन्सी निरीक्षण प्रतिवेदन तयार गरी ‘पब्लिक एसेट म्यानेजमेन्ट सिस्टम’ (पीएएमएस)मा इन्ट्री गर्न समेत निर्देशन दिएको छ ।


Back_to_top