हाइब्रिड ‘कोरोला क्रस’मा के छ खास ? कर्जामा लिँदा यस्तो छ मासिक किस्ता

काठमाडौं । टोयोटाको चर्चित मोडल कोरोला अझैपनि धेरैलाई सेडानमा मात्रै उपलब्ध छ भन्ने लाग्न सक्छ । नेपाली बजारमा विगत ३ वर्षदेखि कोरोला क्रस एसयूभीको रूपमा बिक्री हुँदै आएको छ ।

नेपालको लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले बिक्री वितरण गर्दै आएको कोरोला क्रस एसयूभीको मूल्य १ करोड ८१ लाख रुपैयाँ छ । मूल्यको हिसाबले महँगो सुनिने कोरोला क्रस फिचरको मामलामा भने निकै अब्बल देखिन्छ ।

जापानी कार निर्माताको सफल मोडल कोरोलाको एसयूभी भएकै कारण यसको मूल्य माथि लाग्छ । त्यसमाथि पछिल्ला दिनमा प्रदूषण मापदण्ड अपग्रेड हुँदा पनि टोयोटाका कारहरु महँगो बन्दै गएका छन् ।

पछिल्ला वर्षमा टोयोटाका कारहरू संसारभर टिकाउ, सुरक्षित र लग्जरीको मानक बन्दै गएका छन् । यस्तोमा नेपाली बजारमा उपलब्ध कोरोला क्रसको मुख्य मुख्य विशेषताका बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।

इन्टेरियर फिचर

कोरोला क्रस एसयूभीमा स्मार्ट इन्ट्री एण्ड स्टार्ट बटम, ७ इन्चको मल्टी इन्फर्मेशन डिस्प्ले, ८ इन्चको टच स्क्रीन पाउन सकिन्छ । यसमा ६ वटा स्पीकर, एप्पल कार प्ले र एन्ड्रोइट अटो उपलब्ध छ ।

अटोमेटिक सहितको ड्यूलजोन एसी, थ्री स्पोक स्टेरिङ ह्वील, टिल्ट र टेलिस्कोपीक स्टेरिङ, ड्राइभिङमा ईभी मोड, लेदर सिट, ८ तरिकाले एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट दिइएको छ । अगाडिको प्यासेन्जरलाई ४ तरिकाले मिलाउन मिल्ने सिट, पछाडिका यात्रुलाई ६०ः४० मा फोल्डिङ गर्न मिल्ने सिटले आरामदायी यात्रा गराउने छ ।

सुरक्षा फिचर

टोयोटाका कार सुरक्षाको लागि परिचित छन् । कम्पनीको टीएनजीए प्लेटफर्ममा बनेको कारमा इबीडी सहितको एबीएस, क्रुजकन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल पाउन सकिन्छ ।

त्यसैगरी, इमर्जेन्सी स्टप सिग्नल, भेहिकल स्टेविलिटी कन्ट्रोल, पार्किङ सेन्सर, रिभर्स क्यामेरा, टायर प्रेसर वार्निङ, ७ एयरब्याग, थ्री पिन सिटबेल्ट, चाइल्ड लक, चाइल्ड रेसिस्टेन्स सिस्टम दिइएको छ ।

साइज

कोरोला क्रस एसयूभीको लम्बाइ ४४६० एमएम, चौडाइ १८२५ एमएम र उचाइ १६२० एमएम छ । यसमा २६४० एमएम लामो ह्वीलबेस छ भने ग्राउण्ड क्लियरेन्स १६१ एमएम छ । यसमा ४४० लिटरको बुट स्पेस पाउन सकिन्छ । ५ जनाले आरामदायी यात्रा गर्न मिल्ने कोरोला क्रसमा ३६ लिटरको इन्धन ट्याङ्की पाउन सकिन्छ ।

सस्पेन्सन र ब्रेकिङ

कोरोला क्रसमा अगाडि म्याफर्सन स्ट्रुट र पछाडि टोर्सन बीम सस्पेन्सन प्रयोग भएको छ । जापानी निर्माताले अगाडि भ्यान्टिलेटेड डिस्क र पछाडि सोलिड डिस्क ब्रोक दिएको छ ।

फ्रन्ट ह्वील ड्राइभ सिस्टममा उपलब्ध कोरोला क्रसमा १८ इन्चको आल्मुनियम अलोय ह्वील पाउन सकिन्छ । गाडीको टर्निङ रेडियस केबल ५.२ मिटर छ ।

इन्जिन र माइलेज

कोरोला क्रस हाइब्रिड मोडलमा १७९८ सीसी क्षमताको फोर सिलिण्डर भीभीटी-आई इन्जिन दिइएको छ । साथै, यसमा ५३ किलोवाटको इलेक्ट्रीक मोटर छ । इन्जिन र इलेक्ट्रीक मोटरले संयुक्त रूपमा १४० हर्सपावर प्रदान गर्छ । यसको पीकटर्क भने १७२ न्यूटन मिटर छ । यसमा सीभीटी गियरबक्स उपलब्ध छ ।

यस्तो छ मासिक किस्ता

यसको मूल्य १ करो ८१ लाख रुपैयाँ भएको कारण मूल्यको ४० प्रतिशत रकम डाउन पेमेन्ट वापत सुरुमै तिर्नु पर्ने हुन्छ । सुरुमा ७२ लाख ४० हजार रुपैयाँ तिर्नु पर्छ ।

बैंकले १ करोड ८ लाख ६० हजार रुपैयाँ कर्जा उपलब्ध गराउने छ । उक्त कर्जा ७ वर्षको अवधिको लागि अहिले चलिरहेको ६.५ प्रतिशतको ब्याजदरमा कर्जा लिँदै मासिक किस्ता १ लाख ६१ हजार २६५ रुपैयाँ हाराहारी पर्न आउँछ ।

७ वर्षसम्म तिर्नु पर्ने मासिक किस्ताको बिबरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नोटः कम्पनीले दिने डिस्काउन्ट लगायतका विषय यहाँ समावेस गरिएको छैन । यदि, डिस्काउन्ट दिएको खण्डमा मासिक किस्ता बापतको रकम घट्ने छ ।


Back_to_top