काठमाडौं । भारतमा उत्पादन भएका दुई विद्युतीय कार नेपाली बजारमा बिक्री सुरू हुँदै छन् । टाटाको कर्भ ईभी र हुन्डाईको क्रेटा ईभी बिक्री सुरू हुन लागेका हुन् ।
टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपाल ल्याएर विभिन्न किसिमका परीक्षण सुरू गरिसकेको कर्भ ईभी मार्च महिनाबाटै बिक्री सुरू हुने जनाइएको छ । हुन्डाईले पनि क्रेटा ईभी मार्च पहिलो साताबाट बिक्री गर्दैछ ।
टाटा मोटर्सको चौथो ईभीको रूपमा नेपाल आएको कर्भ साइज, मोटर पावर र ब्याट्री प्याकको आधारमा हुन्डाई क्रेटा ईभीसँग सिधा प्रतिस्पर्धा गर्ने मोडल हो । मार्चमै अन्य धेरै मोडल नेपाल आउने भएको कारण भारतबाट आउने यी दुई मोडलको प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ ।
चिनियाँ ब्राण्ड बीवाइडीले एटो-२, दीपलले एस-०५, मलेसियन ब्राण्ड प्रोटोनले इमास–७ र ब्रिटिस ब्राण्ड एमजीले एस–५ मोडल बजारमा ल्याउँदैछन् । यी चार मोडलसँग पनि टाटा कर्भ र क्रेटा ईभीको प्रतिस्पर्धा हुने देखिन्छ ।
कडा प्रतिस्पर्धा सुरू हुन लागेको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउन लागेका कर्भ ईभी र क्रेटा ईभीमा रहेका मुख्य भिन्नतालाई हामीले यहाँ केलाउन खोजेका छौं ।
मोटर र ब्याट्री साइज
हुन्डाईले क्रेटा ईभीलाई ९९ र १२६ किलोवाटको मोटरमा ल्याउने छ । यी दुवै मोडलमा ब्याट्री साइज पनि फरक हुनेछ । सानो मोटरसँगै ४२ किलोवाट आवर क्षमताको ब्याट्री रहनेछ । त्यसैगरी, ठूलो मोटरसँग ५१.४ किलोवाट आवरको ब्याट्री रहनेछ । हुन्डाईले इनर्जी हाइडेन्सिटी भएको एनसीएम ब्याट्री दिएको हो ।

टाटाले कर्भ ईभीमा ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । टाटाले निर्यात गर्ने मोडललाई ९८ किलोवाट क्षमताको मोटर दिएको छ । दुवै ब्याट्री अप्सनमा समान मोटर साइज उपलब्ध हुनेछ ।
रेन्ज
भारतमा उत्पादन भएका यी दुवै गाडीको वास्तविक रेन्ज टेस्ट भएको छैन । एआरएआईको रेन्ज हाम्रो सडकसँग मिल्दोजुल्दो देखिँदैन । त्यसैले दुवै ब्राण्डका ईभीले ३०० देखि ४०० किलोमिटरसम्म रेन्ज दिने अनुमान गर्न सकिन्छ ।
ग्राउण्ड क्लियरेन्स
धेरै विद्युतीय गाडी किन्ने मानिसको चासो ग्राउण्ड क्लियरेन्समा हुनेगर्छ । टाटाले कर्भ ईभीमा १९० एमएम ग्राउण्ड क्लियरेन्स दिएको छ । हुन्डाईले भने २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स अफर गरेको छ ।
बडी डिजाइनमा फरक
टाटा कर्भ ईभी कुप्पे डिजाइन एसयूभी हो । यसलाई भारतमा उत्पादन भएको पहिलो कुप्पे एसयूभी पनि भनिन्छ । हुन्डाई क्रेटा हल्का बक्सी डिजाइन एसयूभी हो । पेट्रोल भर्सनमा निकै ठूलो सफलता पाएको क्रेटाको लुक्सकै कारण पनि धेरै मानिसले छनोट गर्ने गरेका छन् ।

सर्भिस र चार्जिङ नेटवर्कमा प्रतिस्पर्धा
आधुनिक र मोर्डन सर्भिसमा हुन्डाई र टाटा नेपालमा दुवै बलियो ब्राण्डमा पर्छन् । देशका मुख्य सहरमा सेल्स, सर्भिस र स्पेयर पार्टस्को बलियो नेटवर्क दुवै ब्राण्डसँग छ ।
हुन्डाईले सन् २०१८ देखि विद्युतीय गाडी बिक्री गर्दै आएको छ । टाटाले पनि २०२१ देखि नेपालमा ईभी उपलब्ध गराउँदै आएको छ । निरन्तर नयाँ मोडल ल्याइरहेको टाटाले एकपछि अर्को सर्भिस नेटवर्क थप गर्दै आएको छ ।
चार्जिङको मामलामा डीसी फास्ट चार्जरको हकमा टाटा अगाडि देखिन्छ । एसी चार्जर दुवै ब्राण्डले राम्रोसँग लगाएका छन् । हुन्डाईले १०० किलोवाटको डीसी चार्जर र सँगै बनाउन लागेको सर्भिससहितको ‘चार्जसप’ नेपालीको लागि नयाँ कन्सेप्ट हुने देखिन्छ ।

