काठमाडौं । बीवाइडीको प्रिमियम ब्राण्ड डेन्जा वैशाख महिनामै नेपालमा लन्च हुने भएको छ । बीवाइडीको आधिकारिक बिक्रेता रहेको साइमेक्स इंकले नै डेन्जा ब्राण्डका गाडी बिक्री गर्ने भएको हो ।
‘डेन्जको लागि शोरुम निर्माण पूरा भएको छ । अबको केही दिनमै ब्राण्ड लन्च गर्ने तयारी गरेका छौं । प्रोडक्टहरूको घोषणा हुन केही थप दिन लाग्छ,’ साइमेक्स इंकका सीईओ सहिल श्रेष्ठले मेरोअटोसँग भने ।
साइमेक्सले डेन्जा ब्राण्डको लागि नयाँ शोरुम नक्साल नारायणचौरमा तयार पारेको छ । जुन बीवाइडीको शोरुमको नजिकै छ ।
सन् २०११ मा जर्मन लग्जरी कार निर्माता मर्सिडिज बेन्ज र चिनियाँ न्यू इनर्जी कार निर्माता बीवाइडीको संयुक्त लगानीमा यो ब्राण्ड स्थापना भएको हो । यसमा यी दुवै कम्पनीको ५०/५० प्रतिशत लगानी थियो ।
सन् २०२२ मा बीवाइडीले आफ्नो हिस्सा बढाएर ९० प्रतिशत बनायो र ब्राण्डको रिब्राण्डिङ थाल्यो । डेन्जा ब्राण्डमा उन्नत प्रविधिको प्रयोग भएको छ । यसमा बीवाइडीको नयाँ जेनेरेसन ब्लेड ब्याट्री प्रयोग भएको छ । ई प्लेटफर्म ३.०, इन्टेलिजेन्ट ह्याम्पिङ सिस्टम उपलब्ध भएको कारण डेन्जालाई लक्जरी र रिफाइन अनुभव प्रदान गर्ने ब्राण्ड भनिन्छ ।

नेपालमा लामो समय अगाडि ल्याएको डेन्जा डी नाइन एमपीभीसँगै कम्पनीले डेन्जा बी फाइभ प्लगइन हाइब्रिड मोडल पनि नेपाल ल्याउने छ । डेन्जा डी नाइनका धेरै कुरा बाहिर आए पनि बी फाइभका धेरै कुरा बाहिर आएका छैनन् ।
नेपाली बजारमा प्रिमियम र लक्जरी एसयूभी खोज्नेको रोजाइमा पर्न सक्ने बी फाइभ एसयूभीमा रहेका फिचरका बारेमा यहाँ चर्चा गरिएको छ ।
साइज
डेन्जा बी फाइभ दुई भेरियन्टमा बजारमा आउने छ । भेरियन्ट अनुसार साइज पनि फरक हुन्छ । डाइनामिक भेरियन्टको लम्बाइ ४८८८ एमएम छ । प्रिमियम भेरियन्टको लम्बाइ ४९२१ एमएम छ । दुवै भेरियन्टको चौडाइ भने समान १९७० एमएम पाउन सकिन्छ ।
भेरियन्ट अनुसार हाइट पनि केही फरक छ । डाइनामिक भेरियन्टको उचाइ १९२० एमएम छ भने प्रिमियम भेरियन्टको उचाइ १९३० एमएम छ । ह्वीलबेस दुवै भेरियन्टमा समान २८०० एमएम लामो छ ।

ह्वील साइज पनि फरक छ । डाइनामिक भेरियन्टमा १८ इन्चको ह्वील छ । माथिल्लो प्रिमियम भेरियन्टमा २० इन्चको ह्वील पाउन सकिन्छ ।
इन्जिन र हाइब्रिड सिस्टम
डेन्जा बी फाइभ मोडलमा १४९७ सीसी क्षमताको टर्बो इन्जिन दिइएको छ । यक्त इन्जिनको अधिकतम १८१ एचपी पावर प्रदान गर्छ । इन्जिनको पीकटर्क भने २६० न्युटन मिटर रहेको छ ।
यसमा ईएचएस इलेक्ट्रीक हाइब्रिड सिस्टम उपलब्ध छ । उक्त सिस्टमसँग ३१.८ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । यसमा ८३ लिटर क्षमको इन्धन ट्याङ्की छ । फुल ट्याङकी इन्धन र फुल चार्ज ब्याट्री छ भने ८५० किलोमिटर चलाउन सकिने डब्लूएलटीपी टेस्टमा देखिएको छ । ईभी मोडमा मात्रै १०० किलोमिटर हाराहारी चलाउन सकिन्छ ।

इलेक्ट्रीक मोटर निकै पावरफुल प्रयोग भएको छ । अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुने बी फाइभ एसयूभीको अगाडि २०० किलोवाट र पछाडि २८५ किलोवाटको मोटर दिइएको छ । इन्जिन र मोटरको संयुक्त पावर ४२५ किलोवाट हुनेछ । निकै पावरफुल मोटर भएको कारण यसलाई शून्यबाट १०० किलोमिटरको स्पीड भेट्टाउन केबल ४.८ सेकेण्ड मात्रै लाग्नेछ ।

