सिन्धुली । धरान–चतरादेखि हेटौँडासम्मको सडक निर्माण गर्ने क्रममा सिन्धुलीमा भने लामो समयदेखिको विवाद अझै हट्न सकेको छैन ।
राजमार्ग निर्माण अघि गरिएको नक्सांकन अनुसार झण्डै ५ किलोमिटर सडकको ट्रयाक खन्ने विषयमा विवाद हुँदै आएको छ ।
राजमार्ग निर्माणका लागि शान्तिनगर चोकदेखि खट्टारसम्मको सडकखण्डको ट्रयाक अझै यकिन हुन सकेको छैन ।
सो क्षेत्रमा हाल भूकम्पपीडितले सात धुर, १० धुर र एक कट्ठा जग्गा किनेर घर बनाएको र आफूहरुलाई सुकुम्वासी नबनाउन आग्रह गरेका छन् ।
नक्साङ्कन गरिएको स्थानबाट सडक विस्तार गर्दा धुराबजा, मिलनचोक, साङबाले, खट्टारका दर्जनौँ भौतिक संरचना हटाउनु पर्ने, धेरै मानिस विस्थापित तथा सुकुम्बासी हुने भन्दै स्थानीयले विरोध जनाएपछि नक्साङ्कन गरिएको स्थानबाट नभई अन्यत्रबाटै विकल्प खोज्नुपर्ने उनीहरुले माग गर्दै आएका छन् । यस विषयमा राजनीतिक दल, आयोजना प्रमुख, स्थानीयवासी तथा प्रशासनबीच बारम्बर बैठक बसे पनि उपयुक्त निकास निस्कन सकेको थिएन ।
तर, हाल आएर राजनीतिक दल, संघ तथा प्रदेशका सांसद, प्रशासन तथा स्थानीय सरकारले नक्साङ्कन गरिएको स्थानभन्दा उत्तरबाट उपयुक्त स्थान छनोट गरी राजमार्ग निर्माणमा सहयोग गर्नेमा ऐक्यबद्धता जनाएका छन् ।
राजमार्गलाई सिन्धुलीमाडीको पुरानो बजार धुराबजारबाट हटाउँदा सिन्धुलीमाडीको अस्तित्व नै कुरुपजस्तै हुने भन्दै विरोध व्यापक भएपछि राजमार्गको ट्रयाक परिवर्तन गर्न लामो समयपछि यस्तो ऐक्यबद्धता सम्बन्धित निकायले जनाएका हुन् ।
करोडौँ मूल्यका भौतक पूर्वाधार तथा सिन्धुलीका पुरानो पहिचानलाई जोगाउन भन्दै धरान–चतरा-हेटौँडा राजमार्गको ट्रयाक नक्साङ्कन गरिएको ठाउँबाट नभई साविक हाज्माको २ नम्बर गेट हुँदै कुमाल फाँट भई खट्टार जोड्ने सहमति भएको छ ।
धेरै दबाब र विवादपछि राजमार्गको ट्रयाक परिवर्तन गर्ने भनिएको स्थानमा पनि अहिले फेरि स्थानीयले विरोध गरेका छन् । नक्साङ्कन भएको स्थानबाट नै राजमार्ग जानुपर्ने वा अन्य स्थानबाट विकल्प खोजिनु पर्ने उनीहरुको माग रहेको छ ।
यदि त्यसो नभई आफूहरुको जग्गाबाट राजमार्ग लैजान खोजे चलनचल्तीको मूल्यका आधारमा मुआब्जा पाउनु पर्नेमा उनीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइसकेका छन् ।
घरमा धारा चाहिन्छ, घर नजिकै बिजुलीको पोल चाहिन्छ, ढल चाहिन्छ र घरको ढोकाबाट निक्लने बित्तिकै गोडा उचाल्नासाथ गाडी चाहिने तर आफ्नो जग्गाको एक चिम्टी माटो पनि छुन नहुने भन्ने मानसिकता आजदेखि छाड्नुस् ।
सोही निर्णयलाई पुनःविचार गर्न सोमबार बिपीनगर आदर्श टोल विकास समितिले गरेको एक छलफल कार्यक्रममा सिन्धुली निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित संघीय सांसद हरिबोल गजुरेल र निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेश सांसद विनोदकुमार खड्कालाई आग्रह गरेका छन् ।
स्थानीयवासीले सो क्षेत्रमा हाल भूकम्पपीडितले सात धुर, १० धुर र एक कट्ठा जग्गा किनेर घर बनाएको र आफूहरुलाई सुकुम्वासी नबनाउन आग्रह गरेका छन् ।
थोरै जग्गाबाट आफूहरुले गाँस, बास तथा जीवन निर्वाहको जोहो गरेकाले आफूहरुको पेटमा लात हान्ने काम रोक्न स्थानीय बुद्धिमान विकले सांसदसँग आग्रह गरे ।
स्थानीयको गुनासाको सम्बोधनगर्दै पुर्व कृषिमन्त्री तथा संसद् हरिबोल गजुरेलले धरान–चतरा—हेटौँडा राजमार्गको विस्तारका क्रममा सिन्धुलीको अनावश्यक विवादले आफूलगायत सिन्धुलीबाट निर्वाचित सांसद लज्जित हुनुपरेको बताए ।
‘घरमा धारा चाहिन्छ, घर नजिकै बिजुलीको पोल चाहिन्छ, ढल चाहिन्छ र घरको ढोकाबाट निक्लने बित्तिकै गोडा उचाल्नासाथ गाडी चाहिने तर आफ्नो जग्गाको एक चिम्टी माटो पनि छुन नहुने भन्ने मानसिकता आजदेखि छाड्नुस् ।’ उनले कडा स्वरमा आफ्नो तर्क राखे ।
आफूले सिन्धुलीको नक्साङ्कन भएको स्थानमध्ये धुराबजारदेखि खट्टारसम्मको स्थानबाट राजमार्ग विस्तार नगर्ने भनी हस्ताक्षर गरिसकेकाले यस कदमबाट पछि नहट्ने पनि बताए ।
यो फाँटको खोतीयोग्य जमिन विनाश नगर्न आग्रह गर्ने तर दिन प्रतिदिन अव्यवस्थित तवरले घर उमार्ने परिपाटी ठीक नभएको उनको भनाइ छ ।
उनले धरान–चतरा-हेटौँडा राजमार्ग विस्तारै पूर्वदेखि पश्चिमसम्म जोड्ने राजमार्ग हुने भएकाले पूर्व र पश्चिमको केन्द्रबिन्दु यहाँ भई व्यापारिक केन्द्र हुने भएकाले आजैदेखि आफूलाई सघाउन आग्रह गरे ।
यस्तै, प्रदेश सांसद विनोदकुमार खड्काले आत्तिएर नास हुने भो भनी विरोध र धर्ना जुलुस गर्नुपर्ने अवस्था नभएको बताए ।
समयमा उचित ध्यान नदिने पछि पछुताउने परिपाटी रहेको भन्दै धरान–चतरा-हेटौँडा राजमार्ग र शहरीकरणको अवधारणाले यहाँको मुहार फेर्ने भएकाले आफूहरुलाई भाग्यमानी ठानी राजमार्गको निर्माणमा अवरोध नगर्न उनले आग्रह गरे ।
स्थानीयले उचित मुआब्जा पाउनु पर्ने र शहरीकरण हुने हो भने केका आधारमा हुन्छ त्यो सडक निर्माण पहिले नै जनतालाई जानकारी गराउनु पर्ने माग गरेका छन् ।
सो क्षेत्रबाट राजमार्ग विस्तार हुन नदिने भन्दै सन्तोषकुमार बोहराको संयोजकत्वमा संघर्ष समिति गठन गरी विरोधका कार्यक्रम गर्दै आएका छन् । राजमार्ग विस्तार गर्ने क्रममा जनतालाई सुकुम्वासी नबनाई सुक्षित तवरले राजमार्ग विस्तार गर्नुपर्ने उनीहरुको माग रहेको छ ।
नेपाल सरकारको राजपत्रमा उल्लेख भएबमोजिम नै राजमार्ग निर्माण हुनुपर्ने माग राख्दै संघर्ष समिति गठन गरिएको हो । राजमार्ग हाज्माको २ नं गेट हुँदै जाँदा थुप्रै संरचना तथा जमिनको विनास हुने भएकाले राजमार्ग नक्साङ्कन भएकै ठाउँबाट जानुपर्ने उनीहरुको माग रहेको छ ।

