करिडोरमा अन्डरपास संचालन

काठमाडौं । उपत्यका भित्रका ५ करिडोरहरुमा रहेका पुलमुनी निर्माणधीन अन्डरपास सञ्चालमा ल्याइएको छ । हाल हनुमानथान पुल, बालकुमारी पुल, गोपीकृष्ण हल नजिकको पुल, भत्केको पुल र नयाँ बसपार्क पुलमुनी निर्माण गरिएको अन्डरपास संचालनमा आएको हो । 

ट्राफिक प्रहरी महाशाखाका अनुसार हाल सबै करिडोरलाई पीच तथा ढलान गर्ने काम चलिरहेको भएपनि एकतर्फीरुपमा ति अन्डरपासहरु संचालनमा आइरहेको छ । अब जतिसक्दो चाँडो पूर्णरुपमा खुलाउने गरी काम अगाडि बढेको छ । 

गोपीकृष्ण देखि भत्केको पुलसम्म बनेको दुईवटा अन्डरपास काम पुरा भएर संचालनमा आएको छ । अर्कोतर्फको केही स्थानमा ढलान गर्न बाँकी रहेको महाशाखाले जानकारी दिएको छ । 

यस्तै हनुमानस्थानमा वारीपारी दुबै तर्फको बाटो संचालनमा ल्याइएको छ । सो करिडोरको सडक ढलान भएको छ भने एकतर्फ ढलान गर्न बाँकी रहेको छ । उक्त सडक ग्रयाबेल गरेर टिपर बाहेक अन्य सवारी संचालनका लागि खुल्ला गरिएको महाशाखाले जानकारी दिएको छ । 

यस बाहेक अन्य ठाउँमा करिडोर कालोपत्रेभइ संचालनमा आएको ट्राफिक प्रहरी कार्यालय प्रमुख बसन्त पन्तले बताए । 

‘क्रसिङमा जहाँपनि कुर्नु पर्छ, पालो कुर्ने अवस्थामा कमी आओस् र हतार भएका चालकलाई विकल्पको रुपमा करिडोर खुल्ला गरिएको हो,’ पन्तले भने । 

करिडोर खुलाउनका लागि हाल काठमाडौं महानगरपालिका, ट्राफिक महाशाखा, उपत्यका विकास प्राधिकरण, डिभिजन सडक कार्यालय र सडक विभाग एक भएर जुटिरहेका छन् ।  

यस्तै बालकुमारी, रातोपुल, कालो पुल, सेतोपुल, गोपीकृष्ण पुल मुनी ढलान हुने क्रममा रहेको उनले जानकारी दिए । असार अघि नै करिडोरको ढलान र कालोपत्रे सकिने गरी काम भइरहेको उनले बताए । 

यसले उपत्यकामा भइरहेको ट्राफिक जामलाई केही भएपनि घटाउन सहयोग पुग्ने अनुमान गरिएको छ ।


Back_to_top