ग्राहकले किन खोज्दै छन् बीएस-६ सवारी साधन ? यस्तो फरक

काठमाडौं । नेपाली बजारमा बीएस-६ का मोटरसाइकल तथा कारहरु आउने क्रम सुरु भएको छ । बीएस-६ (भारत स्टेज ६) भारत सरकारले ल्याएको सवारी प्रदुषण मापदण्ड हो ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको इन्जिनबाट एक्जस्ट पाइप हुँदै वातावरणमा धुवाँको रुपमा निस्कने प्रदुषण कति हुनु पर्ने हो भन्ने एकिन गर्न यस्ता मापदण्डको प्रयोग गर्ने गरिन्छ ।

नेपालमा सरकारले ‘नेपाल प्रदुषण मापदण्ड-३’ लागु गरिरहेको अवस्था छ । भारतमा बीएस-४ मापदण्डका गाडी उत्पादन भइरहेकोमा सन् २०२० अप्रिल १ बाट एकै पटक बीएस-६ मापदण्डका गाडी उत्पादन सुरु भएको हो ।

भारतमा बीएस-६ मापदण्डका गाडी उत्पादन सुरु भएसँगै नेपालमा पनि क्रमिकरुपमा बीएस-६ मापदण्डका दुई पाङ्ग्रे तथा ४ पाङ्ग्रे सवारी साधनहरु आउन थालेका छन् ।

बीएस-६ र बीएस-४ मा कति अन्तर छ, कसरी काम गर्छ लगायतका विषयमा यहाँ हामीले चर्चा गर्न लागेका छौं ।

प्रदुषण मापदण्डमा रहेको फरक

बीएस-४ र बीएस-६ मा भएको मुख्य फरक भनेको दुबै स्टाण्डर्डको इन्जिनबाट निस्कने धुवाँमा हुने केमीकलको मात्रा हो । सवारी साधनको इन्जिनमा पेट्रोलियम पदार्थ जलेपछि निस्कने केमिकलको हिस्सालाई बीएस-६ इन्जिनले धेरै मात्रामा घटाएको छ । त्यही कारण मानविय स्वास्थ्यमा प्रत्येक्ष रुपमा हानी पूर्याउने यस्ता तत्वहरु कमसेकम बातावरणमा फैलियोस् भन्ने उद्देश्यले नयाँ मापदण्ड लागु गरिएको हो । यसमा रहने परिमाण पेट्रोल इन्जिन र डिजल इन्जिनका लागि फरक फरक तय गरिएको छ ।

नयाँ प्रदुषण मापदण्डमा विषेशत ४ प्रकारको रसायनलाई मापन गरिएको छ । यसमा नाइट्रोजन अक्साइड, हाइड्रो कार्बन, पर्टीकुलर मटिरीयल र कार्बनडाइ अक्साइडको मात्रा प्रति किलोमिटर यात्रा गर्दा एउटा निश्चित सीमासम्म मात्र उत्सर्जन गर्न पाउने नियम बनाइएको छ ।

तलको टेबल हरौँ ।

माथिको टेबल अनुसार पेट्रोल इन्जिनको मापदण्डमा सामान्य फरक देखिएता पनि डिजलको मापदण्डमा रसायनिक पदार्थको मापदण्ड धेरै फरक गरिएको देखिन्छ । सवारीले फाल्ने धुवाँमा हुने सबभन्दा खतरनाक नाइट्रोजन अक्साइडलाई बीएस-४ पेट्रोल इन्जिनका लागि २० मिलिग्राम प्रति किलोमिटरबाट घटाइएको छ ।

डिजल इन्जिनमा बीएस-४ भन्दा बीएस ६ मा १७० मिलिग्रामले कम हुनु पर्ने छ । हाइड्रोकार्बन पेट्रोल इन्जिनमा बीएस-४ जस्तै राखिएको छ भने, डिजलमा ३०० मिलिग्रामबाट घटाएर १७० मिलिग्राम तोकिएको छ । पर्टिकुलर मेटिरीयलमा भने पहिला पेट्रोल इन्जिनमा कुनै मापदण्ड थिएन । तर, बीएस-६ मा प्रति किलोमिटर ४.५ मिलिग्रामसम्म मात्र हुनु पर्ने बनाएको छ । जुन डिजलमा २५ मिलिग्रामबाट घटाएर पेट्रोलको जस्तै ४.५ मिलिग्राममा सिमित गरिएको छ । कार्बनडाइ अक्साइडको सम्बन्धमा भने कुनै पनि परिवर्तन गरेको छैन ।

बीएस ४ बाट बीएस ६ मा अपग्रेड गर्दा पेट्रोल इन्जिनमा खासै ठूलो परिवर्तन भएको छैन । यस्तो परिवर्तन डिजेल इन्जिनमा धेरै रहेको छ । कम्पनीहरुले फिउल इन्जेक्सन र केही सेन्सरहरुको प्रयोगले पेट्रोल इन्जिलहरु सजिलै बीएस-६ स्टाण्डर्डमा उक्लेका छन् ।

इन्धनमा हुने फरक

इन्जिन मात्र बीएस-६ मापदण्डको हुँदैमा प्रदुषण कम हुने होइन । इन्जिनमा हालिने पेट्रोल डिजल पनि बीएस-६ मापदण्डको हुनु पर्छ । नेपालमा पनि अहिले पूर्णत बीएस ६ मापदण्डको पेट्रोलियम पदार्थ आयात हुन थालेको छ ।

बीएस-४ बाट बीएस-६ मापदण्डका इन्धन ल्याउँदा यसका मिश्रणमा केही फरक गरिएको छ । विषेशत इन्धनमा सल्फर र लीड मिसाइएको हुन्छ । बीएस ६ मापदण्डको इन्धनमा यस्ता रसायनहरुको मिसावट कम गरिएको छ ।

बीएस-४ डिजलमा सल्फरको मात्रा ५० पार्टिकुलर पर मिलियनबाट घटाएर १० बनाएको छ । त्यस्तै, पेट्रोलमा सल्फरको मात्रा डिजलमा जस्तै ५० बाट घटाएर १० बनाएको छ । पेट्रोलमा मिसावट हुने लिडको मात्रा पनि ०.००५ ग्राम प्रति लिटरबाट घटाएर ०.०००५ ग्राम प्रति लिटर कायम गरिएको छ ।


Back_to_top