काठमाडौं । सन् २०२२ को केही घन्टा मात्रै बाँकी छ । विश्व अर्थतन्त्रमा देखिएको गम्भीर किसिमको मन्दीले मानिसको दैनिकीमा ठूलो प्रभाव पारेको थियो ।
अर्थतन्त्रमा आएको संकुचनको कारण गाडीको विक्रीमा गिरावट आएसँगै विभिन्न ब्राण्डले आफ्नो उत्पादन बन्द गर्नु परेको थियो । यस क्रममा नेपाली बजारमा पनि विक्री हुँदै आएका विभिन्न ७ मोडलको उत्पादन बन्द भएको थियो ।
जापानी अटोमोवाइल कम्पनी निसानको बजेट कार उत्पादन गर्ने ब्राण्ड डाट्सनले आफ्नो सम्पूर्ण उत्पादन अप्रिल २०२२ मा बन्द गरेको थियो । कम्पनीले उत्पादन गर्दै आएको रेडी गो, गो र गो प्लस मोडलको उत्पादन रोकेसँगै सम्पूर्ण उत्पादन यूनिट बन्द गरेको हो ।
नेपालमा समेत बजेट कार खोज्नेको राम्रो रोजाईमा पर्दै आएको रेडी गो मोडल अब कहिल्यै नेपाल आउने छैन । सन् २०२२ डाट्सनको लागि निरास वर्षको रुपमा लिन सकिन्छ ।
त्यसैगरी, रेनो डस्टर पनि सन् २०२२ को फेब्रुअरीमा उत्पादन बन्द भएको मोडल हो । नेपालमा निकै चर्चा कमाएको डस्टर कम मूल्यमा फोर ह्वील ड्राइभ अप्सनमा समेत उपलब्ध मोडल थियो । डस्टरको आयात पूर्ण रुपमा बन्द भइसकेको छ ।
फक्सवागेन पोलो पनि अप्रिल २०२२ बाट उत्पादन बन्द भएको मोडल हो । निकै सफल प्रिमियम ह्याचव्याक पोलोको नयाँ जेनेरेशन आउने बताइएको छ । तर, त्यसको आधिकारीक विवरण कम्पनीले बाहिर ल्याएको छैन । करिब १२ वर्षपछि कम्पनीले भारतमा यसको उत्पादन बन्द गरेको हो ।

सन् २०२२ मे महिनामा अर्को ठूलो परिमाणमा विक्री भएको हुन्डाईको इन्ट्री लेभल ह्याचव्याक सेन्ट्रो बन्द भयो । कम्पनीले मासिक २ हजार यूनिटभन्दा धेरै विक्री भइरहेकै समयमा सेन्ट्रोको उत्पादन बन्द गर्ने निर्णय लिएको थियो । नेपालमा पनि निकै राम्रो संख्यामा विक्री भएको सेन्ट्रोको स्थानमा कम्पनीले नयाँ मोडल ल्याउने जनाएको छ ।

मारुती सुजुकीले पनि अक्टोबर २०२२ मा आफ्नो क्रसओभर मोडल एसक्रसको उत्पादन बन्द गरेको छ । कम्पनीले एसक्रसको स्थानमा ग्राण्ड भिटारा मोडल ल्याए विक्री सुरु गरिसकेको छ । एसक्रस पनि नेपालमा विक्री हुँदै आएको मोडल थियो ।


