काठमाडौं । सन् २०२१ मोटरसाइकल तथा स्कुटरको लागि स्वर्ण वर्ष सावित भएको थियो । तर, बजारमा देखिएको तरलता अभाव लगायतका कारण सन् २०२२ निकै निरासजनक बन्यो ।
सन् २०२१ को तुलनामा ५० प्रतिशत हाराहारीले दुईपाङ्ग्रे साधनको बजार गुमेको तथ्यांकले देखाउँछ । नेपाली अटोमोवाइल बजारले लामो सयम प्रतिबन्ध खेप्नु परेको कारण १५० सीसी माथिका मोटरसाइकल आयात बन्द भयो ।
सन् २०२२ मा समग्र दुईपाङ्ग्रे बजारमा निरास देखिए पनि केही ब्रान्डका कुनै कुनै मोडल भने राम्रो संख्यामा विक्री भएका छन् । यस्तोमा सन् २०२२ मा बजारमा आएका र राम्रो व्यापार गर्न सफल मोटरसाइकलको बारेमा चर्चा गरेका छौं ।
हिरो एक्सपल्स २०० फोर भी
सन् २०२२ मा सार्वजनिक भएर ब्यापक चर्चा कमाएको मोटरसाइकल हिरो एक्सपल्स २०० फोर भी पहिलो नम्वरमा पर्छ । हिरो मोटोकर्पको उत्पादन इन्ट्री लेभल एड्भेन्चर सेग्मेन्टमा आएको एक्सपल्स २०० फोर भीले नेपाली सडकमा राम्रो छाप छाडेको छ ।

यसअघि नै बीएस ४ भर्सनमा उपलब्ध मोटरसाइकल छोटो समयमा सफल भएसँगै आएको नयाँ भर्सनले ब्यापक चर्चा कमायो । ग्राहकले ६ महिनासम्म पर्खेर मोटरसाइकल डेलिभरी लिने अवस्था आएको थियो ।
एक्सपल्स २०० फोर भीमा २०० सीसी लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १९.१ पीएस पावर र १७.३५ एनएम टर्क प्रदान गर्छ । एनजीएम हिरोले ४ लाख ५३ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेर यसको विक्री गर्दै आएको छ ।
यामाहा एफजेड एक्स
यामाहाले २०२२ मा नेपाल ल्याएको तीन मोडल आर १५ एम, आर १५ भी ४ र यामाहा एफजेडएक्स हो । यी तीन मोडलमा आर १५ सिरिजले राम्रो चर्चा पाएको थियो । तर, व्यापारमा भने एफजेडएक्सले राम्रो गर्यो ।

निओ रेट्रो डिजाइन भएको मोर्डन मोटरसाइकल पारखीले एफजेडएक्सलाई रुचाएको पाइयो । यसमा १४९ सीसी क्षमताको एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ७२५० आरपीएममा अधिकतम १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।
एमएडब्लू इन्टरप्राइजेजले यो मोटरसाइकलको मूल्य ४ लाख ४० हजार ९०० रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।
अपाचे आरटीआर १६० फोर भी
नेपाली बजारमा सबैभन्दा धेरै भेरियन्टमा उपलब्ध अपाचे आरटीआर १६० फोर भी हो । विभिन्न ५ भेरियन्टमा उपलब्ध यो मोटरसाइकलको बीएस ६ भेरियन्ट २०२२ मा नेपाल आएको थियो ।

नेकेड स्पोर्टस डिजाइनको यो मोटरसाइकल पावर, लुक्स र आवाजको कारण युवा माझ परिचित रहेको छ । आरटीआर १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । उक्त इन्जिनले १७.४ पीएस पावर ८००० आरपीएममा र १४.७ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । यसमा पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स दिइएको छ ।
कम्पनीले ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको यो मोटरसाइकलको मूल्य अहिले पनि यथावत छ ।
बजाज पल्सर एन २५०
बजाजले २०२२ मा तीन नयाँ मोडल नेपाल ल्याएको थियो । यी तीन वटै मोटरसाइकलले अपेक्षा अनुरुप ब्यापार गर्न सकेन । ब्यापार राम्रो नभएपनि कम्पनीले एकै पटक पल्सर एनएस १२५, पल्सर एन १६० र एन २५० बजारमा ल्याएर ग्राहकलाई शोरुममा ल्याउने काम भने गर्यो ।

यी तीन मोटरसाइकलले आफ्नो सेग्मेन्टमा राम्रो चर्चा र ब्यापार गर्न सफल भएका छन् । विशेषत नेपाली बजारमा २५० सीसी सेग्मेन्टमा रहेको खाडल बजाज पल्सर एन २५० ले पुरा गर्न सफल भएको देखिन्छ ।
पल्सर एन २५० मा २४९ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन रहेको छ । यसले २४.१ बीएच पावर तथा २१.५ एनएमटर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
कम्पनीले ४ लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको थियो भने अहिले पनि यही मूल्यमा पल्सर एन २५० किन्न सकिन्छ ।
सुपर शोको टीएस स्ट्रीट हन्टर
नेपाली बजारमा इलेक्ट्रीक दुईपाङ्ग्रे सवारीसाधनले खासै ब्यापार गर्न सकिरहेको छैन । यस्तोमा इलेक्ट्रीक मोटरसाइकलको खासै चर्चा हुने गरेको पाईदैन । नेपालमा नै उत्पादन भएको यात्रीको केही चर्चा हुने गरेको पाइन्छ । त्यस्तोमा २०२२ मा नेपालमा नै पहिलो पटक भएको नाडा ईभी शोमा सुपर शोको टीएस स्ट्रीट हन्टरले राम्रो चर्चा कमाएको थियो ।
यसको अग्रेसिभ डिजाइन तथा २०० किलोमिटर रेन्ज दिने यो मोटरसाइकल ईभी शोको आकर्षण बन्न सफल भएको थियो । नाडा ईभी शोमा धेरै विक्री भएको दुई पाङ्ग्रे बन्न सफल भएको थियो । सप्लाईका कारण धेरै व्यापार गर्न नसकेको यो मोटरसाइकलले चर्चा भने राम्रै भइरहेको छ ।

सुपर सोको टीसी स्ट्रीट हन्टरमा २५०० वाटको हाइ पर्फमेन्स ह्वील हव मोटर रहेको छ । यसले १८० एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै यसले एक पटकको फुल चार्जमा २०० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाइएको छ । साथै, ३.५ किलोवाटको मोटर रहेको छ । यसमा दुई ब्याट्री अप्सन पाउन सकिन्छ ।
यसमा दुई ब्याट्री छ । एउटा ब्याट्रीले १०० किमि र दुई वटै ब्याट्रीको कम्बाइन २०० किमि रेन्ज रहको कम्पनीको दावी छ । यो मोटरसाइकलको टप स्पीड क्षमता ७५ किलोमिटर प्रतिघन्टा रहेको छ । डबल ब्याट्री अप्सनमा आउने टीएस स्ट्रीट हन्टरको मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । सिंगल ब्याट्री अप्सनको मूल्य भने ३ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।


