काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले यातायात व्यवस्था विभागले तयार पारेको ‘सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२’ सम्बन्धी छलफल गरेको छ ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटगरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा विस्तृत छलफल गरेको हो ।
अध्यक्ष चौधरीले विभागले तयार पारेको निर्देशिकाको सम्बन्धमा जिज्ञासा राख्दै विभागले गरिरहेको अध्ययन र तयारीको प्रशंसा गरे ।
अध्यक्ष चौधरीले उक्त प्रस्तावित निर्देशिकामा भएका बुँदाहरू बारे नाडा र विभाग बीच विस्तृत छलफलगरी अघि बढनुपर्ने धारणा राखे ।
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले प्रस्तावित निर्देशिकामा उल्लेखित केही बुँदाहरूको विषयमा थप छलफल गरिनुपर्ने आवश्यकता रहेको बताउँदै उल्लेखित बुँदाहरूका सम्बन्धमा सिल सिलेवार छलफलगरी सो निर्देशिकालाई यथार्थ र व्यावहारिक बनाउनु पर्ने आवश्यकता रहेको बताए ।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेहरूलाई दण्डित गर्नु पर्ने र सही कार्य गर्नेहरूलाई पुरस्कृत गर्नु पर्ने बताए । यसैक्रममा महासचिव उप्रेतीले नेपालमै ब्याट्री उद्योगहरूको स्थापना भइसकेको जानकारी दिए ।
विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले सो प्रस्तावित निर्देशिका तयार पार्न संयुक्त राष्ट्र र युरोपेली युनियनले के कस्तो व्यवस्था गरेको छ भन्ने बारेमा समेत अध्ययन गरिएको बताए ।
महानिर्देशक पोखरेलले यस विषयमा नाडा जस्तो मुख्य सरोकारवालाहरूसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताए ।
उनले नेपालमा अहिलेसम्म सवारी साधन आयात सम्बन्धी कुनै स्पष्ट नियम नभएकाले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भइरहेको बताए । सोही क्रममा महानिर्देशक पोखरेलले यस विषयमा नाडासँग सहकार्य गरेर अघि बढ्ने बताए ।

