काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार आकाशिँदै गएको छ । ६ महिनाको अवधिमै डलरको मूल्य करिब १० रुपैयाँले बढेको छ । यसले समग्रमा नेपालको अर्थतन्त्रमै असर पार्दै गएको छ ।
नेपाल आयातमुखी देश भएकाले डलरको भाउ बढ्दा फाइदाभन्दा घाटा धेरै हुन्छ । नेपालमा उपभोग हुने झण्डै ९० प्रतिशत वस्तु आयात हुन्छ । निर्यातको हिस्सा करिब १० प्रतिशत मात्र रहेकाले डलरको मूल्य बढ्दा देशले पाउनेभन्दा धेरै गुमाउनु पर्ने हुन्छ । निर्यातमा आधारित अर्थतन्त्र भएकाले डलरको मूल्यवृद्धिको लाभ नगन्य मात्र पाउँछ ।
डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा त्यसको असर नेपाली मुद्रामा देखिएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर (पेग) गरिएको छ । यसले भारतसँगको व्यापारमा डलरको भाउ बढे पनि असर पर्दैन छ । तर, भारत बाहेक अन्य देशसँगको व्यापारमा ठूलो असर पार्छ ।
डलरको मूल्य वृद्धिको प्रत्यक्ष असर नेपालको अटोमोबाइल बजारमा पनि देखिन थालेको छ । नेपालको अटो बजार पूर्णतः आयातमा निर्भर छ । नेपालमा आयात हुने दुई तिहाई बढी सवारी साधन तथा स्पेयर पार्टस भारत र चीनबाट आयात हुनछ । भारतसँग धेरै मालवस्तु भारतीय रुपैयाँ र चीनसँग युआनमै खरिद हुन्छ । तर, युआनसँग हाम्रो मुद्रा खुला बजारमा कारोबार हुनेहुँदा विनिमयदर तलमाथि भइरहन्छ ।
महँगो डलरसँगै चीन र अन्य तेस्रो देशबाट आयात गर्ने हरेक मालवस्तुको मूल्य वृद्धि हुने भएको छ । पछिल्ला तीन महिनामै डलरको मूल्य ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसको समग्र असर हाम्रो पूरै व्यापार चक्रमा परेको हो ।
यहाँ अटोमोबाइल क्षेत्रमा डलर मूल्य बढ्दा पर्ने प्रभावको विषयमा चर्चा गरिएको छ ।
१. कारको मूल्य बढ्ने : डलरको मूल्य बढ्दा सबैभन्दा पहिलो पर्ने असर गाडीको मूल्यमा हो । केही महिना अगाडि १ डलरको मूल्य १३९ रुपैयाँ भएको समयमा निर्धारण भएको कारको मूल्य अहिले बढ्ने नै भयो । यहाँ डलरको मूल्य मात्रै बढ्दैन । एक्सचेन्ज रेट अनुसार उक्त बढेको मूल्यमा भन्सार, अन्तःशुल्क, सडक निर्माण दस्तुर सबै बढ्छ ।
अझ, डलरमा खरिद गरेर ल्याउने पेट्रोल कारको मूल्य त निकै धेरैले बढ्नेछ । खासगरी युरो र डलरमा खरिद गर्ने हाइब्रिड र पेट्रोल कारमा झण्डै १५ देखि २० प्रतिशतसम्म मूल्य बढाउनु पर्ने अवस्था आइसकेको व्यवसायीहरू बताउँछन् ।
तुलनात्मक रूपमा ईभीमा कर कम भएको कारण त्यति धेरै मूल्य वृद्धि गर्नु पर्ने अवस्था नआउला । तर पनि ५ देखि १० प्रतिशत मूल्य बढ्ने पक्कापक्की देखिइसकेको छ ।
२. स्पेयर पार्टस महँगो हुने : गाडी जस्तै डलर महँगो हुँदा स्पेयर पार्टसमा पनि समस्या आउने नै छ । स्पेयर पार्टसको मूल्य बढ्दा गाडीको संचालन खर्च पनि पहिलेको तुलनामा बढ्ने निश्चित छ ।
३. इन्धनको भाउ आकाशिने : नेपालमा भारतबाट पेट्रोलियम पदार्थ आयात हुन्छ । कच्चा तेल भारतले पनि अन्तर्राष्ट्रिय बजारबाट डलरमै खरिद गरेर ल्याउने भएको कारण डलर महँगो हुँदा पेट्रोलियम पदार्थको मूल्य बढ्ने छ ।
४. डिलरहरूको स्टक बढ्ने र आर्थिक भार थपिने : डलरको एक्सचेन्ज रेट बढी हुँदाको असर नेपालमा रहेका स्थानीय अटोमोबाइल डिलरहरूमा पनि पर्नेछ । गाडी महँगो हुँदा बिक्रेता पर्ख र हेरको अवस्थामा जान्छन् । त्यसको मतलब गाडी किन्ने मानिस नहुँदा डिलरकोमा स्टक थुप्रने अवस्था आउँछ । त्यही कारण ब्याज धेरै तिर्नुपर्ने र पूँजी फस्ने कारण डिलरहरूलाई आर्थिक भार थपिने छ ।

