काठमाडौं । यामाहाको पहिलो हाइब्रिड टेक्नोलोजी भएको मोटरसाइकल नेपाल आइपुगेको छ । यामाहा नेपालले हाइब्रिड एफजेडएस नेपाल ल्याएको हो ।
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू राइडले केही दिन भित्रै यो मोटरसाइकल नेपालमा बिक्री सुरु गर्ने जनाएको छ ।
हाइब्रिड टेक्नोलोजी भएको एफजेडको डिजाइन र इन्जिन पुरानै छ । तर, कम्पनीले केही फिचरहरु भने थप गरेर ल्याइएको हो । यामाहा एफजेडएसमा १४९ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन छ । उक्त इन्जिनले १२.४ पीएस पावर र १३.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
यो हाइब्रिड मोडलमा ४.२ इन्च टीएफटी कलर डिस्प्ले, स्मार्ट कनेन्ट फिचर, टर्न वाइ टर्न नेभिगेशन, ट्रयाक्सन कन्ट्रोल लगायत नयाँ फिचरहरु थप गरिएको छ । हाइब्रिड एफजेडएस मोडलमा स्टार्ट एन्ड स्टप सिस्टम समेत उपलब्ध छ । यसले साइलेन्ट स्टार्टमा मद्दत गर्छ ।
के छ खास ?
यामाहा एफजेडएस ‘माइल्ड हाइब्रिड टेक्नोलोजी’ भएको मोटरसाइकल हो । यसमा रेगुलर इन्जिनसँग स्मार्ट मोटर जेनेरेटर र पावर एसिस्ट सिस्टमको संयोजन पाइन्छ । त्यसको संयुक्त पर्फमेन्सले मोटरसाइकलको माइलेज वृद्धि गर्छ ।
हाइब्रिड टेक्नोलोजीको सहायताले मोटरसाइकलको टर्क बढेको छ । त्यही कारण पहिलेको तुलनामा स्मुथ र छिटो स्टार्टअप दिन सक्षम भएको छ । साइलेन्ट स्टार्ट र ट्राफिकमा रोकिएको समयमा आफैँ इन्जिन बन्द हुँदा ब्याट्री र इन्धन बचत गर्छ । हाइब्रिड मोडलको माइलेज सडकमै ५० किलोमिटर माथि रहने यामाहाको दावी छ ।

