काठमाडौं । अमेरिकी डलरको मूल्य आकाशिँदा त्यसको असर भारत बाहेकका देशबाट हुने आयातमा पर्ने देखिएको छ । भारतसँग भारुमा कारोबार हुने भए पनि अन्य अधिकांश देशसँगको व्यापार डलरमा हुने भएकाले आयातमा त्यसको प्रत्यक्ष असर पर्ने देखिएको हो ।
यद्यपि, अहिले चीनसँगको व्यापार चिनियाँ युआनमा हुन थालेकाले त्यहाँबाट आयात हुने सामानमा पनि डलरको मूल्य वृद्धिको असर कम देखिन्छ ।
हाल चीनबाट आयात हुने धेरै जसो ईभी युआन र केही ब्राण्डका ईभी डलरमा आयात हुँदै आएको छ । यस्तोमा चिनियाँ ईभीको मूल्यमा अहिल्यै ठूलो असर पर्ने देखिँदैन । तर, दीर्घकालमा भने डलरको मूल्य वृद्धिको असर चिनियाँ आयातमा पनि देखिने छ ।
डलरको भाउ लगातार आकाशिए पनि हाल नेपाली बजारमा चिनियाँ ईभीको मूल्य बढेको छैन । ईभी आयातकर्ताहरूका अनुसार अहिले डलरको मूल्य वृद्धिको दबाब कम गर्न हेजिङको प्रयोग र बिक्रेताले आफ्नो नाफा नै घटाएका छन् । तर, यो लामो समयसम्म टिक्न सक्ने देखिँदैन ।
‘अहिले धेरै देशबाट सोही देशको मुद्रामा बिल भएर सामान आयात हुँदै आएका छन् । हेजिङ लगायतका टुल्सको प्रयोग पनि भएका छन् । यी सबै विधि अल्पकालीन हुन् । निरन्तर डलर बढ्दै जाने र स्थानिय मुद्रामा त्यसको दबाब पर्ने हो भने मूल्य बढाउनु पर्ने वाध्यता हुन्छ । तर, अहिल्यै त्यस्तो अवस्था आएको छैन,’ बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका एमडी यमुना श्रेष्ठले भनिन् ।
अधिकांश कम्पनीले डलरको मूल्य १३३ रुपैयाँ हुँदा गाडीको मूल्य निर्धारण गरेका हुन् । अहिले प्रतिडलरको मूल्य नै ७ रुपैयाँसम्म वृद्धि भएको छ । यसले २० हजार डलरमा आयात हुँदै आएको गाडीमा नै १ लाख ४० हजार रुपैयाँ डलरकै कारण फरक पर्न थाल्यो । त्यसैले गाडी आयातकर्ता नै अलमलमा परेका छन् ।
‘चीनबाट हुने आयात युआनमै हुन थालेको छ । त्यसैले मूल्यमा खासै असर परेको छैन । तर, डलरमै आायत गर्नेहरूलाई भने प्रत्यक्ष असर परेको छ । त्यसैले त बजारमा जापानबाट आयात हुने गाडीको मूल्यमा ठूलो उतरचढाव देखिएको छ,’ ओमोडा÷जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलका जनरल मेनेजर ज्ञानेन्द्र चन्दले मेरोअटोसँग भने ।
पछिल्ला दुई महिनामा नै निरन्तर डलरको मूल्यले नयाँ रेकर्ड बनाउन थालेसँगै गाडी आयात गर्ने कम्पनीहरू के गर्ने भन्ने आन्तरिक छलफलमा समेत रहेको केही व्यवसायीहरूको भनाइ छ ।
अहिले चीनबाट सबैभन्दा धेरै आयात हुने विद्युतीय साधन हुन् । यी सबै साधनमा डलरको प्रत्यक्ष असर नपरे पनि केही ब्राण्डमा समस्या देखिएको छ । भारतसँग नेपाली मुद्रा र भारतीय मुद्रा बीच ‘पेग’ भएको कारण धेरै ठूलो असर पर्दैन । तथापि, डलर बलियो बन्दा मूल्य वृद्धिको खतरा भारत र नेपाल दुवै देशमा पर्ने निश्चित नै छ ।