काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक विद्युतीय सवारी साधनलाई बढेको भाडादर नअसुल्न निर्देशन दिएको छ ।
विभागले सार्वजनिक सूचना जारी गर्दै डिजेल इन्जिनबाट चल्ने सवारीले स्वचालित भाडा समायोजन प्रणाली अनुरुप वृद्धि भएको भाडा लिन पाउने भए पनि ईभीको हकमा यो नियम लागू नहुने बताएको हो ।
विभागले गत चैत २५ गतेदेखि अन्तर प्रदेश संचालन हुने इन्धन गाडीको भाडादर बढाएको थियो । तर, पछिल्लो समय ईभीले समेत बढेको भाडा लिन थालेसँगै साबिककै भाडादर मात्रै लिन विभागले निर्देशन दिएको हो ।
‘२५ चैतमा विभागबाट प्रकाशित सूचना अनुसार अन्तर्राष्ट्रियस्तरमै जैविक इन्धनको मूल्यवृद्धि हुन गई स्वचालित भाडा समायोजन प्रणाली अनुरुप अन्तरप्रदेशीय सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरिएको हो । जस अनुसार यात्रुवहाक तथा मालवहाक सार्वजनिक सवारीसाधनको भाडामा भएको वृद्धि केवल डिजेल इन्जिन प्रयोग हुने सार्वजनिक सवारीसाधनको हकमा मात्रै भएको, तर विद्युतीय सवारी साधनको हकमा उक्त भाडा वृद्धि लागु हुने छैन,’ विभागद्धारा जारी सूचनामा भनिएको छ ।
विभागले यातायात सेवा प्रदायकलाई यात्रुले भाडा तिरेको यात्री टिकट अनिवार्य रुपमा दिनुपर्ने प्रावधान रहेकाले सोही अनुसार गर्नु/गराउनु भनेको छ । बढी भाडा लिएको तथा टिकट नदिएको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।
‘…उल्लिखित व्यवस्थाको विपरीत भए/गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ तथा अन्य प्रचलित कानुन बमोजिमको कारबाही हुने व्यहोरा सम्बन्धित सबैको जानकारी लागि अनुरोध छ,’ विभागले भनेको छ ।

