लाइसेन्स प्रिन्ट भएर थुप्रियो, लिन जाँदैनन् सेवाग्राही

काठमाडौं । यातायात व्यवस्था विभागले मास प्रिन्टर ल्याएर लाइसेन्स प्रिन्ट गर्न थालेसँगै विभागमा लाइसेन्सको चाङ लागेको छ । लाइसेन्स परिक्षा पास गरेको केही महिनासम्म नियमित फलोअपमा रहनेले पनि लाइसेन्स तयार भएपछि लिन नआउने गरेको विभागले जनाएको छ ।

‘सुरुमा तयार भयो भनेर सोध्छन्, प्रिन्ट भएपछि लिन नआएर सबै यातायात कार्यालयको घर्रा भरिएर बसेका छन्’ विभाग स्रोतले मेरोअटोसँग भन्यो ।

विभागले मास प्रिन्टर संचालनमा ल्याएर लाइसेन्स छाप्ने कामलाई अगाडि बढाएको भएपनि अझै ६ लाख पुराना लाइनमा रहेका लाइसेन्स प्रिन्ट हुन सकेको छैन । मास प्रिन्टर संचालनमा ल्याएपछि पनि मासिक १ लाखको हाराहारी मात्रै लाइसेन्स प्रिन्ट भएको विभागले जनाएको छ ।

मास प्रिन्टरबाट लाइसेन्स छाप्न सुरु भएको २ महिना भएको छ । अहिलेसम्म २ महिनामा २ लाख लाइसेन्स प्रिन्ट भएका छन् । अहिले प्रत्येक दिन ३ देखि ४ हजारको दरमा लाइसेन्स प्रिन्ट हुँदै आएको छ ।

‘अहिले देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुन्छ । लाइसेन्स वितरणको काम प्रदेश सरकारले गर्ने भएकाले सातै प्रदेशबाट वितरणको काम सुरु भएको छ, त्यसैले अब धेरै समस्या हुँदैन’ विभागका प्रबक्ता तिर्थराज खनालले भने ।

लाइसेन्स प्रिन्टिङको प्रक्रिया चलिराखेको छ सम्पुर्ण लाइसेन्स प्रिन्ट भइसक्न अझै ३ देखि ४ महिना लाग्न सक्ने छ । त्यसपछि मात्र लाइसेन्सका लागि ट्रायल पास गरी लाइसेन्स फारम भरेको १५ दिनमै लाइसेन्स पाइने विभागले जनाएको हो ।

‘मास प्रिन्टरबाट दुईलाखभन्दा बढी प्रिन्ट भइसकेको छ, यही गतिमा काम अघि बढे ३ देखि ४ महिनामा सामान्य गतिमा आउँछौँं’, विभागका महानिर्देशक गोगन बहादुर हमालले भने ।

अहिले विभागमा ३ वटा पुरानो र एउटा मास प्रिन्टरबाट दैनिक लाइसेन्स प्रिन्ट हुँदै आएको निर्देशक हमालले जानकारी दिए ।

सरकारले कागजी लाइसेन्स हटाएर देशव्यापी रुपमा स्मार्ट लाइसेन्स वितरण गर्न थालेपछि लाइसेन्सको माग अनुसार छपाइको सन्तुलन बिग्रिएको थियो । जसका कारण अझैसम्म पनि सेवाग्राहीले समयमै लाइसेन्स प्राप्त गर्न सकेका छैनन् ।

आफ्नो लाइसेन्स प्रिन्ट भयो वा भएन एकिन गर्न विभागको वेभसाइटबाट सकिने जनाइएको छ ।


Back_to_top