काठमाडौं । एमभी दुगड ग्रुपले एकपछि अर्को दुईपाँग्रे ब्राण्ड बन्द गर्न थालेको छ । गत वर्ष मात्रै जेसिट्स ब्राण्डको बन्द गरेको कम्पनीले अहिले अर्को इलेक्ट्रीक ब्राण्ड रिभोल्ट बन्द गरेको हो ।
कम्पनीले १ वर्षको अवधिमै दुई ब्राण्ड बन्द गरेको हो । जसमा रिभोल्ट ब्राण्ड नेपाल भित्र्याएको १० महिनामै बन्द गरेको हो । कम्पनीले ठूलो तामझामका साथ गत चैतमा भारतीय ब्राण्ड रिभोल्टका मोटरसाइकल लन्च गरेको थियो । तर, अपेक्षित रूपमा बिक्री हुन नसकेपछि बाध्य भएर नक्सालस्थित शोरुम बन्द गरेको हो ।
कम्पनीले रिभोल्ट आरभी वान, आरभी वान प्लस, आरभी ४०० बीआरजेड, आरभी ब्लेज र आरभी ४०० गरी ५ मोडलका मोटरसाइकल एकैसाथ लन्च गरेको थियो । ती मोटरसाइकलको मूल्य ३ लाखदेखि साढे चार लाखसम्म तोकेको थियो ।
कम्पनीले ल्याएको मोटरसाइकल तुलनात्मक रूपमा महँगो हुनु, कम रेन्ज, पर्याप्त चार्जिङ पूर्वाधार अभाव, सर्भिस नेटवर्क र स्पेयर पार्टसको सुनिश्चिता नहुँदा बिक्न सकेनन् । ठूलो अपेक्षाका साथ नेपाल भित्र्याएको ब्राण्डले बजार पाउन नसकेपछि बाध्य भएर बन्द गरेको हो ।
नेपालमा इलेक्ट्रीक स्कुटरको बिक्री क्रमशः बढ्दो क्रममा छ । तर, इलेक्ट्रीक मोटरसाइकलप्रति आकर्षण नै देखिँदैन । बजारमा स्थापित ब्राण्डका पेट्रोल मोटरसाइकलकै दबदबा छ । पछिल्लो समय च्याउ उम्रेसरी नयाँ ब्राण्ड आउने तर, ग्राहलाई सर्भिस, स्पेयरपार्टस लगायत सुविधा नदिने प्रवृति बढ्दो । दुगडले पनि रिभोल्टमा सोही प्रवृति देखाउँदा ब्राण्ड नै बन्द हुन पुगेको हो ।
चर्चित ब्राण्ड खोसिए, नयाँ टिकाउनै सकेन
एमभी दुगड ग्रुप पछिल्लो समय अटोमोबाइल बजारमा ओरालो यात्रामा छ । अर्थात् एकपछि अर्को धक्का खाँदै व्यवसाय खुम्चिँदै गएको हो । अहिले कम्पनीलाई अटोमोबाइल क्षेत्रमा टिक्नै हम्मेहम्मे परेको देखिन्छ ।
पुराना चर्चित ब्राण्ड एकपछि अर्को खोसिए भनेर ल्याएका नयाँ ब्राण्ड पनि टिकाउन नसकेर धमाधम बन्द गरिरहेको छ । कम्पनीले ब्राण्ड टिकाउन आवश्यक पूर्वाधार, सर्भिस सेन्टर, स्पेयर पार्टसको उपलब्धता सुनिश्चित गराउँनभन्दा बिक्रीमा मात्रै ध्यान दिएको देखिन्छ । जसकारण कम्पनी अटो क्षेत्रमा बद्नामसँगै विलयको बाटोमा देखिन्छ ।
दुगड ग्रुपले पछिल्लो ५ वर्षमा दुई चर्चित ब्राण्ड गुमाएको छ । दुगड ग्रुपले मोटरसाइकलतर्फ रोयल इनफिल्ड र स्कुटरतर्फ अप्रिलिया भेष्पाको डिलरशिप गुमाएको हो । चर्चित ब्राण्ड गुमाएपछि ल्याएका नयाँ ब्राण्ड जेसिस्ट, रिभोल्ट पनि बन्द गरेको छ । दुगड आफ्नै कर्मले अहिले दुईपाँग्रे ब्राण्डविहीन बनेको छ ।
ग्राहकलाई फसायो
दुगड आफू मात्रै होइन, ग्राहकलाई समेत डुबाउने बाटोमा लागेको छ । कम्पनीले नेपाली बजारमा जेसिस्ट र रिभोल्टका करिब २०० युनिट मोटरसाइकल र स्कुटर बिक्री गरेको छ ।
तर, अहिले ती ग्राहकले न सर्भिस पाउन सकेका छन्, न स्पेयर पार्टस । ती ग्राहक अहिले एकातर्फ सर्भिसिङ नपाएर भौँतारिरहेका छन् भने अर्कोतर्फ महँगो मूल्यमा अन्य ब्राण्डकै स्पेयर पार्टस किन्न बाध्य भएका छन् । अर्थात् उनीहरू दुगडकै कारण फसेका छन् ।
कुनै पनि बिक्रेताले आफूले बिक्री गरेका सवारी साधनलाई नियमित सर्भिसिङ र स्पेयर पार्टस उपलब्ध गराउनु उसकै दायित्व हो । तर, दुगडले कुनै पनि सेवाको सुनिश्चित नगरी नाफा कमाउने उद्देश्यले मात्र सवारी बिक्री गरेको देखिन्छ । जुन ग्राहक माथि थोका र सुनियोजित ठगी समेत हो ।

