काठमाडौं । २ वर्ष अघिसम्म कुनै एक वा दुई ब्राण्डको मात्रै हालीमुहाली रहेको नेपाली विद्युतीय कार बजारमा अहिले ‘कट थ्रो कम्पिटिसन’ सुरू भएको छ । सन् २०२४ को सुरूवातसँगै नयाँ नयाँ ब्राण्डहरूको बजार प्रवेशको कारण प्रतिस्पर्धा चुलिएको हो ।
गत भदौमा आयोजना भएको नाडा अटो शो २०२४ बाट नेपाली बजारमा पनि प्राइस वार सुरू भएको थियो । एमजीले आफ्नो जेडएस ईभीमा एकै पटक ६ लाख रुपैयाँ मूल्य घटाएर बजारमा ठूलो हल्लाखल्ला पैदा गरेको थियो । त्यसको काउन्टरमा सेरेसले ४ लाख रुपैयाँ मूल्य घटाएको थियो । यी दुवै मोडल बजारमा एक अर्काका प्रतिस्पर्धी मोडल थिए ।
त्यसपछि नाडामा आएका अधिकांश गाडीको एमआरपी र अफर मूल्य फरक बन्यो । लीप सी-१०, जेको जे-६, जिकर एक्स, स्काइवेल बीइ ११, एक्सपेङ जी-६, जीएसी एवोन-वाइ जस्ता मोडल घट्दो मूल्यमा उपभोक्ताले खरिद गर्न पाए । १२० किलोवाट क्षमताको मोटरमा केई एक्स-थ्री प्रो मोडल नेपाल आयो । ४८ लाख ९६ हजार रुपैयाँ अफर मूल्यमा बिक्री भएको उक्त एसयूभी ९९ किलोवाटमा ल्याएर अहिले ४३ लाख ९६ हजारमा उपलब्ध गराइएको छ । यसले प्रतिस्पर्धा थप कडा हुने देखिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर विद्युतीय गाडीको मूल्यमा गिरावट आइरहेको छ । नेपालमा भने निरन्तर मूल्य बढाउँदै लाने कम्पनीहरू पनि छन् । खरिद मूल्यमा २० हजार युवानसम्म मूल्य घटेर चीनबाट गाडी आयात भए पनि यहाँ मूल्य नघटाउने कम्पनीहरू पनि छन् ।
थप प्राइस वारको सम्भावना
अहिले केईले घटाएको मूल्य बजारमा प्राइस वारको अर्को कडी हो । अझ अर्को महिनाबाट भारतमा उत्पादन भएको हुन्डाई क्रेटा बजारमा आएसँगै थप प्राइस वारको सम्भावना देखिन्छ ।
‘क्रेटाको मूल्य कस्तो रहन्छ, त्यही अनुसार बजारमा गाडीको मूल्य थपघट हुन्छ । यदि क्रेटा सोचेभन्दा कम मूल्य (४८/४९) लाख भित्रै आयो भने चिनियाँ कार बिक्रेतालाई दबाब पर्छ । त्यसले बजारमा प्राइस वार निम्त्याउने छ,’ नाम उल्लेख नगर्ने शर्तमा एक गाडी आयातकर्ताले मेरोअटोसँग भने ।
अहिले बजारमा सबैभन्दा धेरै ईभी बिक्री गर्ने बीवाइडी, टाटा, दीपल, ओमोडा, जेको, नेटा, नामी, लीपमोटर जस्ता ब्राण्ड छन् । यी सबै ब्राण्डले बिक्री गर्दै आएको ईभीले राम्रो बजार पाइरहेको छ । यदि, पाइस वार सुरू भएको खण्डमा यी सबै ब्राण्डले आफ्नो गाडीको मूल्य समायोजन गर्नेछन् ।

