काठमाडौं । विद्युतीय एसयूभीमा कडा प्रतिस्पर्धा सुरू भएको छ । चिनियाँ ब्राण्डहरू बीवाइडी, एमजी र ओमोडा बीच कडा टक्कर सुरू भएको हो ।
वि.सं. २०८० मा बीवाइडी र एमजीले उत्कृष्ट व्यापार गरेका थिए । नयाँ वर्ष २०८१ लागेसँगै प्रतिस्र्धी थपिँदै गएका छन् । विद्युतीय एसयूभीमा प्रतिस्पर्धी बढेसँग कडा टक्कर हुने देखिएको हो ।
विद्युतीय सवारीसाधनमा सदावहार प्रभाव छाड्न सफल एमजी, विश्वभर न्यू इनर्जी भेहिकलको लिडर बीवाइडी र चेरीको विद्युतीय ब्राण्ड ओमोडा बीच सुरूआती प्रतिस्पर्धा सुरू भइसकेको छ । चांगानको दिपल एस-सेभेन र नेटाको एक्स मोडल पनि समान प्रतिस्पर्धामा देखिएका छन् ।
अझै धेरै ब्राण्डले विद्युतीय एसयूभीहरू नेपाल ल्याउने अन्तिम तयारी गरिरहेका छन् । यस्तोमा वि.सं. २०८१ मा बजारमा उपलब्ध रहेका एमजी जेडएस ईभी, बीवाइडी एटो-थ्री र ओमोडा ई-फाइभ बीच कडा टक्कर हुने देखिन्छ ।
ब्याट्रीमा कति फरक ?
वीवाइडी एटो-थ्री दुई ब्याट्री अप्सनमा उपलब्ध छ । कम मूल्यको एटो-थ्री एड्भान्स मोडलमा ५० किलोवाट आवर र लङ रेन्ज सुपेरियर मोडलमा ६० किलोवाट आवरको ब्याट्री छ ।
चेरीको ओमोडा ई-फाइभ मा ६१ किलोवाट आवरको ब्याट्री छ । बीवाइडी एटो-थ्री र ओमोडा ई-फाइभ दुवैमा फिनड्रिम्सले बनाएको ब्लेड ब्याट्री पाउन सकिन्छ ।

यी तीन मध्ये सबैभन्दा कम मूल्यमा किन्न पाइने एमजी जेडएस ईभीमा ५१ किलोवाट आवरको ब्याट्री छ । एमजीले विश्वकै सबैभन्दा ठूलो हाइभोल्टेज ब्याट्री निर्माता सीएटीएलको ब्याट्री प्रयोग गरेको छ ।
पावर एउटै
फरक ब्राण्ड, फरक बडी डिजाइन र फरक ब्याट्री भए पनि यी तीनवटै गाडीमा समान ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ ।
रेन्ज
ब्याट्री क्षमता र मोटर पावरले रेन्ज निर्धारण गर्छ । डब्लूएलटीपीले प्रमाणित गरे अनुसार ओमोडा ई-फाइभले सिंगल चार्जमा ४३० किलोमिटर, एटो-थ्री सुपेरियरले ४२० किलोमिटर, एटो थ्री एड्भान्सले ३४५ किमी रेन्ज दिन्छ । साथै, एमजी जेडएस ईभीको रेन्ज ३२० किलोमिटर रहेको छ ।

ग्राउन्ड क्लियरेन्स
ग्राउन्ड क्लियरेन्समा पनि एटो-थ्री र एमजी जेडएसको समान १७५ एमएम छ भने ओमोडा ई-फाइभमा १८० एमएम रहेको छ ।
ड्यास बोर्ड
निकै प्रिमियम अनुभव गर्न पाइने तीन वटै कारको ड्यास बोर्ड पृथक देखिन्छ । तीनवटै कम्पनीले आ-आफ्नो एसयूभीको ड्यासबोर्डमा सफ्टटच मेटेरियलको प्रयोग गरेका छन् ।
ओमोडा-ई फाइभमा समान १२.५ इन्चको दुई स्क्रीन पाउन सकिन्छ । एउटामा इन्फर्मेश र अर्कोमा भेहिकल सेटिङसहितको इन्फोटेन्टमेन्ट सिस्टम चलाउन सकिन्छ ।
बीवाइडीको ड्यासबोर्ड निकै बल्की लाग्छ । यसमा १२.८ इन्चको रोटेड स्क्रीन र ५ इन्चको इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ ।
एमजीले जेडएस ईभीमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र ७ इन्चको डिजिटल क्लष्टर दिएको छ । तीनवटै एसयूभीमा फिजिकल बटम दिइएको कारण चालकलाई धेरै फिचर चलाउन सहज हुन्छ ।

अन्य फिचर
एमजी, बीवाइडी र ओमोडाले आफ्ना कारमा एडास फिचर दिएका छन् । एटो-थ्री र एमजी जेडएस ईभीमा ठूलो पानारोमिक सनरुफ पाउन सकिन्छ । दुवै कारमा ३६० डिग्री क्यामेरा दिइएको छ ।
ओमोडा ई-फाइभमा सानो सनरुफ छ । तर, यसमा ५४० डिग्री क्यामेरा पाउन सकिन्छ । यसको मतलब गाडी मुनिको भागमा पनि क्यामेरा दिइएको छ ।
यस बाहेक सुरक्षा फिचरमा तीनवटै ईभी अब्बल छन् । सबै मोडलले ग्लोबल एनक्याप क्र्यास टेस्टमा फाइभ स्टार रेटिङ पाउन सफल भएका छन् ।
मूल्य
मूल्यका हिसाबले सबैभन्दा सस्तो एमजी जेडएस ईभी छ । पारामाउन्ट मोटर्सले यसको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
साइमेक्स इंकले बीवाइडी एटो-थ्री एड्भान्स मोडलको मूल्य ५५ लाख ९९ हजार र सुपेरियर मोडलको मूल्य ६६ लाख ८० हजार रुपैयाँ छ ।
ओमोडा यी दुई मोडलको बीचमा किन्न पाइनेगरी एसपीजी अटोमोबाइलले मूल्य तोकेको छ । कम्पनीले इन्टोडक्टरी प्राइसभन्दै ५९ लाख ४९ हजारमा ई-फाइभ बिक्री गर्दै आएको छ ।


