विद्युतीय माइक्रोबसमा बढ्दै प्रतिस्पर्धा, यस्ता छन् ११ सिटमा दुई प्रतिस्पर्धी

काठमाडौं । भन्सारले आर्थिक ऐनको ब्याख्या देखाउँदै फोल्डीङ सिटलाई मान्यता नदिएपछि दिगो ग्रुपले डाँफे माइक्रोभ्यान धरौटीमा छुटाएको छ । कम्पनीले गाडी भन्सारमा अड्केको र दिनदिनै खर्च बढेको भन्दै धरौटी राखेर छुटाएको हो ।

विद्युतीय सार्वजनिक सवारीसाधनको रुपमा चलाउन आयात हुने गाडीमा १ प्रतिशत मात्रै भन्सार लाग्ने ब्यवस्था भएपनि १० सीटभन्दा कम क्षमताको गाडीलाई सार्वजनिक यातायातमा गणना नहुने कारण देखाउँदै दिगोलाई १० प्रतिशत भन्सार तिर्न भनिएको थियो ।

‘हामीले धरौटी राखेर गाडी छुटाएका छौं । सम्पूर्ण प्रमाण सहित कानुनी प्रक्रियामा जाने तयारी भएको छ’, दिगो ग्रुपका प्रबन्ध निर्देशक राजन रायमाझीले भने ।

दिगोले ल्याएको डाँफेको सफलतासँगै सिजी ग्रुपले पनि इलेक्ट्रीक माइक्रोबस ल्याएर विक्री सुरु गरेको छ । यी दुबै कम्पनीले विक्री गर्ने माइक्रो भ्यान एउटै प्लेटफर्ममा बनेका मोडल हुन् । त्यसैले दिगोले धरौटीमा गाडी छुटाएर मुद्दामा जाने मनसाय बनाएको कारण यो मुद्दा किनारा नलागेसम्म सिजीले पनि भ्यान नल्याउने योजना बनाएको जनाएको छ ।

विद्युतीय माइक्रो बस काठमाडौंबाट पूर्वका अधिकांश जिल्लादेखि पश्चिमका पनि धेरै जिल्लामा पुग्ने गरेका छन् । ११ सिट क्षमता भएका यी माइक्रोबस चाँडै भरिने र छिटो गन्तब्यमा पुग्न सकिने भएकै कारण यात्रुहरुको रोजाईमा पर्दै आएको ब्यवसायीहरु बताउँछन् ।

इन्धनयुक्त माइक्रोभ्यान जस्तै टोयोटा, निसान, फोटोन, फोर्स जस्ता ब्राण्डले विक्री गर्दै आएको माइक्रोबसको मूल्य सुरुवाती ५० लाखदेखि १ करोड रुपैयाँ बढि पर्छ । यतिका लगानी गरेर माइक्रो चलाउँदै आएका व्यवसायीहरुलाई अहिले भने इलेक्ट्रीक माइक्रोबसले तान्न थालेको देखिन्छ ।

अहिले बजारमा दिगो ग्रुप र चौधरी ग्रुपले ११ सिट क्षमताको माइक्रोबस विक्री वितरण गर्दै आएका छन् । दिगो ग्रुपले विगत ५/६ वर्षदेखि चिनियाँ कम्पनी डिएफएसकेले उत्पादन गरेको डाँफे मोडल नेपाल ल्याएर बिक्री वितरण गर्दै आएको छ । कम्पनीले हाइवेका विभिन्न स्थानमा उक्त भ्यानका लागि आवश्यक चार्जिङ स्टेशन समेत संचालन गरिरहेको छ ।

यता, चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले नेपाल ल्याएको चांगन कम्पनीको केवाईसी भी-५ मोडल पनि ११ सिट क्षमताको इलेक्ट्रीक माइक्रोबस हो । कम्पनीले यसको १४ सिटर भेरियन्ट पनि नेपालमा विक्री गर्दै आएको छ ।

लगानी हिसावले ४२ देखि ४५ लाख भित्रै पर्ने यी दुबै माइक्रोबस प्रतिकिलोमिटर २ रुपैयाँभन्दा कम लागतको इन्धनले यात्रा गर्न सकिने भएको कारण लामो दुरीमा समेत चल्न थालेका हुन् ।

हाल दिगोका इलेक्ट्रीक भ्यान सिन्धुली, गाईघाट, कटारी, बर्दिबास, चितवन पोखरा, सुर्खेत, धनगढी लगायतका रुटमा संचालनमा रहेका छन् भने सिजी अन्तर्गतको चांगनको भी-५ इलेक्ट्रीक भ्यान पनि पुर्वको बर्दिबासदेखि पश्चिम सुर्खेतसम्मको रुटमा संचालन हुँदै आएका छन् ।

यी दुवै इलेक्ट्रीक भ्यान सहजता र कम्फर्टका हिसाबले लामो दुरीको यात्रा गर्न र कमर्सियल प्रयोजनका लागि उपयुक्त रहेका छन् ।

ब्याट्री क्षमता र रेन्ज

दिगो डाँफे मोडलमा सिएटीएलले उत्पादन गरेको ४२ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ । यसलाई ४० किलोवाट आवरको फास्ट चार्जरले चार्ज गर्दा १ घन्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

एक पटकको फुल चार्जमा डाँफेलाई २५० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ । एनइडीसीले भने यसले सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ ।

सिजी मोटर्सले नेपालमा विक्री गर्दै आएको चांगनको केवाईसी भी-५ मोडलमा पनि ४२ किलोवाट आवरकै सिएटीएल ब्याट्री दिइएको छ । यसलाई फुल चार्जमा ३०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसले पनि फास्ट चार्जर सपोर्ट गर्छ ।

साइज

डाँफे मोडल इलेक्ट्रीक भ्यानको लम्बाई ४५०० एमएम, चौडाई १६८० एमएम र उचाई २००० एमएम रहेको छ । सिजीको चांगन इभीको लम्बाई ४४९५ एमएम, चौडाई १६८० एमएम र उचाई १९९० एमएम रहेको छ । दिगो भ्यानको ह्विल बेस ३०५० एमएम छ भने सिजीको ह्विल बेस २९३० एमएम रहेको छ ।

चालकलाई सहज

इलेक्ट्रीक गाडीमा गियरबक्स नहुँने भएकाले हाइवे होस् वा सहरी क्षेत्र अटोमेटीक गाडी चलाउन निकै सजिलो हुन्छ । दिगो डाँफे रियर ह्वील ड्राइभ सिस्टम भएको माइक्रोबस हो । यसमा १८८ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

चांगन केवाईसी भी-५ पनि ११ जनाले यात्रा गर्न मिल्ने अटोमेटीक माइक्रोबस हो । चलाउन निकै सहज यो माइक्रोबसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स, १०० किलोमिटर प्रतिघन्टाको स्पीड पाउन सकिन्छ ।

दुबै गाडीमा लगभग समान फिचर रहेका छन् । दुबै मोडलमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । पावर स्टेरिङ, ईबीडीको साथमा दिइएको एबीएस, हिल एसिस्ट कन्ट्रोल, रिभर्स क्यामेरा, एसी, हिटर, रिजेनेरेटीभ ब्रेकिङ सिस्टम पनि यी दुई गाडीमा समावेश छन् ।

मूल्य

सिजी मोटर्सले ११ सिट क्षमताको केवाईसी भी-५ माइक्रोबसको मूल्य ४२ लाख ५० हजार निर्धारण गरेर विक्री गर्दै आएको छ । दिगोले डाँफे ११ सिटर भ्यानको मूल्य ४४ लाख ९५ हजार रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top