इलेक्ट्रीक भ्यानमा ‘कट थ्रोट कम्पीटीसन’, प्राइसवार सुरु हुँदै

काठमाडौं । दिगोले करिब ३ वर्ष अगाडि प्यासेन्जर भ्यान सेग्मेन्टमा नयाँ इलेक्ट्रीक भ्यान ल्याएको थियो । चीनकै सबैभन्दा ठूलो कमर्शियल गाडी उत्पादक डोङफेङ मोटर्सले उत्पादन गरेको ईभी दिगोले ल्याएको थियो ।

विश्वको सबैभन्दा ठूलो व्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको ४२ किलोवाट आवरको ब्याट्रीप्याक भएका रहेको भ्यान छोटा रुटहरुमा तुुरुन्तै चल्न थाले ।

दैनिक संचालन खर्च एकदमै कम लाग्ने हुनाले डिजेलमा हुने ४/५ हजारको खर्च बचत हुदाँ धेरै रुटमा यसको माग हुन थाल्यो । ६० किलोवाटकोे रियल एक्सलमा इलेक्ट्रीक मोटर भएकाले उकालोमा तान्न र स्पीड गुडाउन कुनै समस्या भएन ।

रिभर्स पार्किङ क्यामरा, ड्यासबोर्डमा इन्फोटेन्मेन्ट स्कृन, एयर कण्डिसन जस्ता आधुनिक फिचर भएकाले देशभरका अन्तरप्रदेश रुटहरुमा यस्ता भ्यान निकै सफल भए ।

दिगोले बिस्तारै काम गर्दै आएको क्षेत्रमा सिजी मोटर्सले तुरुन्तै आक्रमक तेबर देखायो । दिगोले अवाश्यक सेवा सुविधा दिन नसकिरहेको बजारमा सिजीले केवाईसी ब्राण्डका ईभीहरु अत्याधिक धेरै संख्यामा ल्यायो ।

कम्पनीले भ्यान मात्रै ल्याएन देशव्यापी नेटवर्क, सजिलो फाइनान्सीङ सुविधा र रुटका सबै स्थानमा फास्ट चार्जरको सुविधा उपलब्ध गरायो । पुरै ईभीको इको सिस्टम तयार पारेको सिजीले पहिलो वर्षमै ७/८ सय भ्यान बिक्री गर्न सफल भयो ।

दिगो र सिजीको सफलतालाई पछ्याउदै पुरानो व्यापारिक घराना विसाल ग्रुपले साइनरेको एसआरएम मोडल ल्यायो । पछिल्लो समयमा यहि सेग्मेन्टमा गाडी भित्राउनेको लहर चलेको छ । आगामी भदौमा हुन लागेको नाडा अटो शोमा बुकिङ रहेका १३ वटा लाइट कमर्शियल ईभी ब्राण्डहरुले ११ सिट क्षमताको भ्यानलाई नै मुख्य प्राथमिकतामा राख्दैछन् ।

यहि सेग्मेन्टमा प्रतिस्पर्धा गर्नको लागि पूरानो अटोमोवाइल घराना एमएडब्लूले सकोन ब्राण्ड ल्याएको छ । अर्को व्यापारी घराना त्रिवेणी ग्रुपले डोङफेङको सहायक कम्पनी डीएफएसी ब्राण्डका ईभी ल्याउन थालेको छ । त्यस्तै विभिन्न ब्राण्डका डिलर लिएर काम गरिरहेको शशिला मोटर्सले उलिङ ब्राण्ड ल्याएको छ । मेघा मोटर्सले सीएचटीसीका भ्यान बिक्री गर्ने भएको छ । यसका अलावा दक्ष अटोमोवाइल, नेक्सन भेन्चर, नेशनल मोटर्स, इको अटो ट्रेडिङले पनि नयाँ ब्राण्डका ईभी भ्यान ल्याउने भएका छन् ।

कटथ्रोट कम्पीटीसन हुने

सबै ब्राण्डका भ्यानहरु करिब समान साइज तथा एउटै स्पेकमा आउने छन् । यी भ्यानहरुमा ४२ किलोवाटको ब्याट्री प्याक, ५० किलोवाटको मोटर तथा ४५ लाख हाराहारीमा मूल्य उपलब्ध हुनेछ ।

पछिल्लो समयमा भने मूल्यमा घटाघट सुरु भएको छ । हालै मात्र यो सेग्मेन्टमा नयाँ ब्राण्ड भित्राएको मेघा बिजनेश ग्रुपले सीएचटीसीको नयाँ भ्यान ४१ लाख ९० हजारबाटै बुकिङ खोलेको छ । कम्पनीले समान स्पेशिफीकेसन भएको भ्यानलाई अन्य चल्तिको ब्राण्डहरु भन्दा ३ लाख ६० हजार कम मूल्य राखेको हो ।

त्यस्तै पूजा कन्स्ट्रक्सनले एसआरएम भ्यानको मूल्य १० लाख घटाउने तयारी थालेको छ । कम्पनीका अनुसार सानो ब्याट्री साइजमा एसआरएमका माइक्रो भ्यान आउने छन् ।

अब आउने ब्राण्डहरुले कसरी मूल्य निर्धारण गर्छन्, त्यो हेर्न निकै रोचक हुन्छ । जेहोस् बजारमा देखिएको प्रतिस्पर्धाले उपभोक्तालाई भने फाइदा नै पुग्ने देखिन्छ ।


Back_to_top