काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको प्रयोग बढ्दो छ । विद्युतीय गाडीको प्रयोगसँगै चार्जिङ स्टेशनको माग समेत बढेको हो । तर, यस्ता चार्जिङ स्टेशन निर्माणमा ठोस योजना भने देखिदैन ।
चार्जिङ स्टेशनको माग बढेपनि माग अनुसारको पर्याप्त मात्रामा स्टेशन नभएको नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष करण चौधरीले बताए । उनका अनुसार विद्युतीय गाडीको माग बढेपनि सरकारले चार्जिङ स्टेशन भने बढाउन नसकेको हो ।
नेपाल विद्युत प्राधिकरणले केही दिन भित्रै थप ११ स्थानमा बनेको चार्जिङ स्टेशन संचालनमा ल्याउँदैछ ।
चौधरीका अनुसार ईभी गाडीहरूको बढ्दो फाइदासँगै, ईभीको माग बढेको हो । ग्रिन्ली अर्थ नामक अनलाइन समाचारपत्रमा प्रकाशित भएको एक लेखमा पेट्रोलियम पदार्थबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडीहरूको मर्मतसम्भार खर्च निकै कममा भएको, गाडीको साइलेन्सर पाइप नहुँने र धुवाँ पनि नआउने भएकाले वातावरणमैत्री पनि हुने उल्लेखछ ।
‘सरकारले पेट्रोलियम पदार्थबाट चल्ने साधनको बिक्री घटाउन कडा बैंकिङ नीति ल्याएको छ । अर्कोतर्फ आईसीई सवारीसाधनको तुलनामा ईभी सवारीसाधनमा कर पनि निकै कम लगाएको हो’, अध्यक्ष चौधरीले भने ।
नेपाल हाल ईभीको उच्च प्रवेश अनुपात र बढ्दो माग भएको देशको सूचीमा छ । नेपाल सरकारले पेट्रोलियम पदार्थको आयात घटाएर विद्युतको उपयोग प्रवद्र्धन र भुक्तानी सन्तुलन घटाउन पहल समेत गरेको छ ।
विभिन्न ठाउँमा पब्लिक चार्जिङ स्टेशन थपिदै गएका छन् । सुरुवातमा ५१ वटा चार्जिङ स्टेशन निर्माण गरेको नेपाल विद्युत प्राधिकरणले केही दिन भित्रै थप ११ स्थानमा बनेको चार्जिङ स्टेशन संचालनमा ल्याउँदैछ ।
चालु आर्थिक वर्षमा भने प्राधिकरणले निजी क्षेत्रको सहकार्यसँगै ४५० चार्जिङ स्टेशन निर्माण गर्ने लक्ष्य राखेको नेपाल विद्युत प्राधिकरणका चार्जिङ स्टेशन संयोजक सागरमणि ज्ञावालीले बताए ।
‘प्रत्येक महिना ३०० मेघावाट भन्दा बढी चार्ज सप्लाई गरेका छौँ’ रायमाझीले भने ।
विद्युतीय गाडीले प्रति दिन चार लाख यूनिट बिजुली खपत गर्न थालेको ज्ञावाली बताउँछन् । उनले भने, ‘हाल दिनमा ४ लाख युनिट बिजुली विद्युतीय गाडीले खपत गर्ने गरेको छ । त्यसमा थोरै हाउसहोल्डको मात्रै तथ्यांक समावेश भएको छ ।’
प्राधिकरण सँगसँगै अन्य निजी संस्थाहरूले समेत देशका विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण गरेका छन् ।
दीगो ई–स्टप नेपालका अध्यक्ष राजन रायमाझीले ईभी गाडी विक्रेताहरुले चार्जिङ स्टेशन बढाएसँगै विद्युतीय गाडी चार्ज गर्न समेत सहज भएको बताए ।
रायमाझीले दीगो ग्रुपले गत आर्थिक वर्षमा देशभर ४५ वटा फास्ट चार्जिङ स्टेशन निर्माण गरेको बताए । त्यस्तै अबको आर्थिक वर्षमा उनले ६० वटा फास्ट चार्जिङ स्टेशन निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिए ।
‘प्रत्येक महिना ३०० मेघावाट भन्दा बढी चार्ज सप्लाई गरेका छौँ’ रायमाझीले भने ।
निजी संस्थाहरूले चार्जिङ स्टेशन निर्माण गरेका त छन्, तर ती चार्जिङ स्टेशन अपुग भएको नाडाका अध्यक्ष चौधरीको भनाइ छ । नेपाली बजारमा अहिले उपलब्ध सवारी साधन अनुसार चार्जिङ पूर्वाधार अपर्याप्त छ ।
चौधरीले चार्जिङ पूर्वाधारका लागि निजी क्षेत्र मात्र नभएर सरकारी पहल समेत आवश्यक रहेको बताए ।
‘आज, ईभी बिक्रीले समग्र बिक्रीमा ६० प्रतिशतभन्दा बढी योगदान पु¥याउँछ, जुन चार वर्ष वा सोभन्दा पहिले ५ प्रतिशतभन्दा कम थियो’, चौधरीले भने, ‘नेपाली ग्राहकहरूले ईभीलाई व्यापक रूपमा स्वीकार गरेका छन् । यो एक सकारात्मक संकेत हो, तर हामीले ईभीबाहेकका अन्य अटो सेक्टरमा समेत ध्यान केन्द्रित गर्न आवश्यक छ ।’
अहिले बजारमा दुई दर्जन ब्राण्डका विद्युतीय साधन उपलब्ध हुन थालेको छ । यस्तोमा कसरी थप चार्जिङ नेटवर्क विस्तार गर्ने भन्ने विषयमा सरकार र निजी क्षेत्रले योजनावद्ध काम गर्न नसक्ने हो भने ईभीको भविष्य आयो र गयो मै सिमति हुनसक्छ । त्यसैले चार्जिङ पूर्वाधारमा ठोस काम गर्न आवश्यक हुन्छ ।

