काठमाडौं । यातायात व्यावस्था विभागले लामो कानुनी अड्चन पार गर्दै लागु गरेको इम्बोस्ड नम्बर प्लेट अहिलेसम्म ३ लाखभन्दा बढी संख्यामा प्रिन्ट भएको छ । सेवाग्राहीले राजस्व तिरेपछि इम्बोस्ड नम्बर प्लेट प्रिन्ट गरेको भएपनि लगाउनेको संख्या भने अत्यन्त न्यून रहेको छ ।
यातायात व्यवस्था विभागका अनुसार अहिलेसम्म ३ लाख भन्दा धेरै नम्बर प्लेटहरु प्रिन्ट भएका छन् ।
‘अहिले ३ लाखभन्दा बढी संख्यामा इम्बोस्ड नम्बर प्लेट प्रिन्ट भएको छ । तर, १ लाख सवारी साधनमा पनि जडान भएको छैन’, यातायात व्यावस्था विभागका महानिर्देशक नमराज घिमिरेले भने ।
घिमिरेका अनुसार यातायात कार्यालय पुगेको समयमा राजस्व तिरेर प्रिन्ट गर्न लगाउने र फेरी यातायात कार्यालय जाने समय सेवाग्राहीले ननिकाल्दा सवारी साधनमा लाग्न नसकेको हो । विभागले अब विलबुक नविकरणमा जानेहरुलाई पनि इम्बोस्ड नम्बर प्लेट अनिर्वाय गर्न थालेको छ ।
सडकमा इम्बोस्ड नम्बर प्लेट लागेका सवारीसाधनको संख्या बढ्दै जाँदा त्यसलाई जाँच्न मिल्न ‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने (आरएफआइडी) गेट राख्ने कामलाई तिब्रता दिएको छ ।
महानिर्देशक घिमिरेका अनुसार काठमाडौं उपत्यका भित्रका ६ स्थान र उपत्यका बाहिर ४ स्थानमा गरी कुल १० आरएफआइडी गेट राख्ने काम भइरहेको हो । आरएफआइडी गेट निर्माण गर्न कम्तीमा ५ लेनको सडक चाहिने विभागको भनाई छ ।


