मासिक ७० हजार किस्तामा ‘एक्सयूभी ७००’, यस्तो छ भेरियन्ट अनुसारको मूल्य

काठमाडौं । महिन्द्राले माघ महिनामा सार्वजनिक गरेको एक्सयूभी-७०० साइज, डिजाइन, लुक्स लगायतका कारण धेरै गाडी प्रमीहरुको बीचमा चर्चा कमाउन सफल हुँदै गएको मोडल हो । भारतीय बजारमा निकै ठूलो सफलतापछि नेपाल आएको एक्सयूभी-७०० झट्ट हेर्दा ल्याण्डक्रुजर प्राडोलाई टक्कर दिने देखिन्छ ।

विभिन्न ६ भेरियन्टमा उपलब्ध एक्सयूभी-७०० को ५ सिट र ७ सिट अप्सन मध्ये सबैभन्दा कम मूल्यमा उपलब्ध भेरियन्ट एएक्स ३ हो । यसको मूल्य ७४ लाख रुपैयाँ रहेको छ । यसलाई किन्न चाहने मानिसले डाउन पेमेन्ट बापत ३७ लाख रुपैयाँ जम्म गर्नु पर्छ भने ३७ लाख रुपैयाँ नै बैंकबाट कर्जा सुविधा लिन सक्नेछन् ।

अहिले बैंकहरुले औषत १४ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएका छन् । यदि यहि दरमा ७ वर्षको लागि कर्जा लिने हो भने उसले मासिक ६९ हजार ३४० रुपैयाँ हाराहारी किस्ता बुझाउनु पर्ने हुन्छ ।

मासिक किस्ताको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यस्तो छ सबै भेरियन्टको मूल्य

नेपालमा महिन्द्रा एक्सयूभी-७०० विभिन्न ६ भेरियन्टमा उपलब्ध रहेको छ । एक्सयूभी-७०० लाई अग्नी इनकर्पोरेटले ५ सिट अप्सनमा ३ भेरियन्ट र ७ सिट अप्सनमा पनि ३ भेरियन्ट ल्याएर विक्री वितरण सुरु गरेको हो ।

कम्पनीले ५ सिट अप्सनमा एएक्स ३, एएक्स ५ र एएक्स ५ अटोमेटीक विक्री गर्दै आएको छ । त्यसैगरी ७ सिट अप्सनमा एएक्स ५, एएक्स ७ र एएक्स ७ अटोमेटीक भेरियन्ट उपलब्ध रहेको छ ।

मूल्यको हिसावले पनि एक्सयूभी-७०० को ५ सिट अप्सन ७ सिटरको तुलनामा सस्तो रहेको छ । जसमा एएक्स ३ को मूल्य ७४ लाख रुपैयाँ, एएक्स ५ को ८१ लाख रुपैयाँ र एएक्स ५ अटोमेटीकको ८९ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले ७ सिट क्षमताको एएक्स ५ को मूल्य ८३ लाख रुपैयाँ, एएक्स ७ को १ करोड ५ लाख रुपैयाँ र एएक्स ७ अटोमेटीकको १ करोड १० लाख रुपैयाँ कायम गरेर विक्री वितरण गर्दै आएको छ ।

यस्ता छन् फिचर

महिन्द्राले अहिलेसम्म बजारमा ल्याएको मध्य सबैभन्दा धेरै हाइटेक फिचर दिइएको एक्स्यूभी-७०० मा ‘एड्रिनोएक्स’ कनेक्ट फिचर पाउन सकिन्छ । बोस्च इन्डियाले उत्पादन गरेको यो सिस्टम निकै नविनतम, लोभलाग्दो र प्रयोग गर्न सजिलो रहेको महिन्द्राको दावी छ ।

यात्रालाई आरामदायी र मनोरन्जनात्मक बनाउन मोवाइल कनेक्ट, सिमकार्ड बिनाको नेभिगेशन, रिमोर्ट स्टार्ट÷स्टप, क्लाइमेट कन्ट्रोल, रिमोर्ट विन्डो कन्ट्रोल, मोवाइल एप र स्मार्टवाचवाट भेहिकल कन्ट्रोल जस्ता फिचर पनि यसमा समावेस भएका छन् ।

नेपालमा उपलब्ध एक्सयूभी-७०० मा २.० लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले २०० पीएस पावर र ३८० एनएम टर्क प्रदान गर्छ ।

सुरक्षाको हिसावले पनि एक्सयूभी-७०० उत्कृष्ट रहेको छ । यसले सन् २०२२ को ग्लोवल एनक्यापले प्रदान गर्ने ‘सेफर च्वाइस अवार्ड’ जित्न सफल भएको छ । ग्लोबल एनक्यापले निर्धारण गरेको ६६ अंकमा ५७.६९ अंकसहित महिन्द्रा एक्सयूभी ७०० ले सेफर च्वाइस अवार्ड जित्न सफल भएको हो । यसले ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

एक्सयूभी-७०० को सुरुवाती भेरियन्टमा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ भने, टप स्पेकमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ ।

कम्पनीले यसलाई प्रिमियम बनाउन ६ वटासम्म स्पीकर, एलइडी डेटाइम रनिङ लाइट, १८ इन्चको अलोय ह्वील र पानारोमिक सनरुफ जस्ता फिचर प्रदान गरेर गाडीलाई लोभलाग्दो बनाएको छ ।


Back_to_top