काठमाडौं । धेरैलाई सुन्दै अचम्म लाग्ला चीनभन्दा युरोप ब्याट्री प्रविधिमा २० वर्ष पछाडि पर्यो । तर, यो कुरा सत्य भएको जर्मन मिडियाले ‘अटो पोप’ उपमा दिएका फर्डिनान्ड डुडेनहोफरको भनाइले प्रष्ट पार्छ ।
डुडेनहोफर प्रसिद्ध जर्मन अटोमोटिभ विज्ञ प्रोफेसर हुन् । उनले भनेका छन्, ‘ब्याट्री टेक्नोलोजीमा चीनभन्दा युरोप कम्तीमा २० वर्ष पछाडि परेको छ ।’
चिनियाँ मिडिया ग्लोबल टाइम्ससँगको एक अन्तर्वार्तामा विश्वव्यापी ईभी र ब्याट्री विकासको दौडमा युरोप निकै कमजोर स्थितिमा रहेको बताए । चिनियाँ ईभीले डिसेम्बर २०२५ मा मात्रै १ लाख युनिट ईभी युरोपमा बिक्री गर्न सफल भएको बताएका थिए ।
‘चिनियाँ ब्याट्री उत्पादन र त्यसको प्रविधि विकासमा चिनियाँ आपूर्तिकर्ताकर्तासँग युरोपियन निर्माताहरूको सहकार्य हुनुपर्छ । त्यसले युरोपलाई पनि छिट्टै सम्भावना खोज्न सहयोग पुग्नेछ’, सेन्टर फर अटोमोटिभ रिसर्चका निर्देशक प्रोफेसर डुडेनहोफरले भने ।
उनका अनुसार चिनियाँ निर्माताको उत्पादन लागत युरोपियनको तुलनामा ३० प्रतिशत कम रहेको भने विकास चक्र ५० प्रतिशत छोटो छ । यसले विश्व अटोमोबाइल क्षेत्रमा नै तरङ पैदा गरेको छ । चीन तीव्र गतिमा अगाडि बढ्दा युरोपका कयौं ब्याट्री उत्पादक बैंकरप्सी फाइल गर्न बाध्य छन् ।
अहिले चीनबाट सीएटीएल, गोसन हाइटेक जस्ता कम्पनीले युरोपमा ब्याट्री निर्यात गरिरहेका छन् । सीएटीएल र बीएमडब्लू बीचको सहकार्यले युरोपमा निकै ठूलो प्लान्ट बन्दैछ । जबकि बीवाइडी र स्टेलान्टिसको सहकार्य पनि अगाडि बढी सकेको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको तथ्यांक अनुसार चीनले विश्वव्यापी ब्याट्री उत्पादनको ७५ प्रतिशत हिस्सा ओगटेको छ । विशेषगरी लिथियम आइरन फस्फेट ब्याट्रीको चीनको अभूतपूर्व हिस्सा कायम छ । त्यसको लागि चाहिने कच्चा पदार्थमा पनि चिनियाँ नियन्त्रण निकै बलियो देखिन्छ ।


