एक वर्षमै २० प्रतिशतले घट्यो ब्याट्रीको मूल्य

काठमाडौं । सन् २०२४ को एक वर्षमै २० प्रतिशतले ब्याट्रीको मूल्यमा गिरावट आएको तथ्यांक सार्वजनिक भएको छ । इन्टरनेशनल इनर्जी एजेन्सी (आईईए) का अनुसार सन् २०२४ मा २०१७ पछिकै सबैभन्दा ठूलो मूल्य गिरावट आएको हो ।

ब्याट्रीको मूल्यमा आएको ब्यापक गिरावटसँगै विद्युतीय साधनको मूल्य कटौती भएको सहजै अनुमान लगाउन सकिन्छ । चीनमा अहिले ईभीमा ठूलो स्कीमहरु चलिरहेको छन् । ब्याट्रीको मूल्यमा उच्च गिरावट आएकै कारण टोयोटा, फोर्ड र जनरल मोटर जस्ता स्थापित ब्राण्डले आफैँ ब्याट्री प्लान्ट लगाउन थालेका छन् ।

सन् २०१५ को तुलनामा हाइभोल्टेज ब्याट्रीको माग ६०० प्रतिशतले वृद्धि भएको छ । त्यसैले उत्पादकहरु ब्याट्री उत्पादनमा ठूलो लगानी गरिरहेका छन् । अहिलेकै रफ्तारले दुई वर्ष ब्याट्रीको मूल्य घट्ने हो भने विश्वभर पेट्रोलियम पदार्थबाट चल्ने कार र ईभीको उत्पादन मूल्य समान हुनेछ ।

सन् २०२४ मा उत्पादन भएको कुल ब्याट्रीमा ८० प्रतिशत चीन एक्लैले उत्पादन गरेको थियो । त्यसपछि दक्षिण कोरिया, जापान, युरोप र अमेरिकाले उत्पादन गरे । ठूलो परिमाणमा उत्पादन सुरु भएसँगै चीनमा उत्पादन लागत निकै कम भएको थियो ।

लिथियम आइरन फस्फेट ब्याट्रीहरु विगतमा कम्पनीहरुले अनुमान गरेअनुसार नै कम मूल्यमा उपलब्ध भएका छन् । त्यसैले ईभीको उत्पादन र बिक्री दुबै बढ्न सफल भएको हो । केही वर्ष अगाडि प्लगइन हाइब्रिड कारमा उपलब्ध हुने २० किलोवाट आवरको ब्याट्री पाइने मूल्यमा अहिले ६५ किलोवाट आवरको ब्याट्री पाउन थालिएको छ । यसले समग्र ईभीको विकासमै सहयोग पुगेको छ ।


Back_to_top