ईभीलाई डीसी चार्ज होइन, स्वापिङ सेन्टर लाने दौड

काठमाडौं । विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जाँदा तीव्र गतिमा ब्याट्री चार्ज गर्ने विषयमा थप अनुषन्धान र खोजहरू भइरहेका छन् ।

ईभीको जन्मभूमि मानिने चीनमा कार निर्माताहरूले चालकको समय बचतको लागि तीव्र गतिमा चार्ज हुने टेक्नोलोजी विकास गर्दै आएका छन् । त्यसैले कम्पनीहरूले १२०० किलोवाट क्षमताको डीसी चार्जर नै बनाएर त्यसैबाट तीव्र गतिमा कार चार्ज गर्ने बनाएका छन् ।

डीसी चार्जरमा ठूलो फड्को मारे पनि त्यो उचित उपाय बन्न सकेको छैन । ठूला चार्जर मूल्यका हिसाबले महँगा छन् । अनि यसको प्रयोग गर्न चाहिने हाइभोल्टेज विद्युतको व्यवस्थापन थप कठिन पूर्ण छ । त्यसैले धेरै ईभी उत्पादकहरू डीसी चार्जरको विकल्पमा नै काम गर्नुपर्ने बताउँछन् ।

घरायसी विद्युतबाट चार्ज गरेर नै धेरै मानिसले ईभी चलाउँछन् । कहिले काहीँ लामो यात्रामा निस्कन पर्दा हाइवेमा गाडी चार्ज गर्नुपर्ने हो । अथवा, कहिले काहीँ घरमा चार्ज गर्न नभ्याएको खण्डमा पनि सार्वजनिक स्थानमा बनेका डीसी चार्जरको प्रयोग गर्नुपर्ने हुन्छ । त्यहाँ लाइनमा बस्नुपर्ने वा चार्जरमा जोडेपछि पनि करिब एक घण्टा बस्नुपर्ने अवस्था अहिले छ ।

ब्याट्री स्वापिङ टेक्नोलोजीको विकास चिनियाँ स्टार्टअप कम्पनी नियोले सुरू गरेको हो । उसले सुरूदेखि नै चीनमा ब्याट्री स्वापिङ टेक्नोलोजीमा आधारित रहेर कार बनाउँदै आएको छ । कम्पनीले चीनमा ३ हजार ३०० स्थानमा स्वापिङ सेन्टर बनाएको छ । चीन बाहिर पनि कम्पनीको ७०० स्थानमा स्वापिङ सेन्टर संचालनमा छ । त्यसैले ब्याट्री स्वापिङ टेक्नोलोजीको लिडर नियो हो ।

थपिँदै अन्य ब्राण्ड

चीनमा नियोले ब्याट्री स्वापिङ टेक्नोलोजीमा लगानी विस्तार गरे पनि सुरूमा अन्य ब्राण्डले त्यसमा ध्यान नै दिएका थिएनन् । त्यसैले यो टेक्नोलोजीमा आधारित धेरै पेटेन्ट राइटहरू नियोले आफ्नो नाममा लेखाएको छ ।

अहिले नियोको पदचाप पछ्याउँदै चेरी, बएएआइसी, चांगान, जिली, जेएसी, लोटस, विलिङ जस्ता ब्राण्डले स्वापिङ टेक्नोलोजीमा आधारित गाडी बनाउन थालेका छन् । यही साता मात्रै चीनमा चेरी अटोमोबाइल ग्रुपको आइकार भी-२३ र जीएसी आयोन आरटी मोडलमा स्वापिङ टेक्नोलोजी दिइएको छ ।

के हो ब्याट्री स्वापिङ ?

नेपालमै पनि ब्याट्री स्वापिङ टेक्नोलोजी अपनाइएको छ । नेपालमा गोगोरोका स्कुटरहरूमा ब्याट्री स्वापिङ गर्न सकिन्छ । निवोला इनर्जीले उपत्यकामा ४५ स्थानमा स्वापिङ सेन्टर निर्माण गरेर संचालनमा ल्याएको छ । जहाँ आफ्नो चार्ज सकिन लागेको ब्याट्री छाडेर फुलचार्ज भएको ब्याट्री उपभोक्ताले लान पाउने छन् ।

कारहरूको ब्याट्री स्वापिङ स्टेशन झनै गज्जबको हुन्छ । कुनै पनि स्वापिङ सेन्टरमा गएको गाडीले ५ मिनेट भित्र आफ्नो चार्ज सकिन लागेको ब्याट्री छाडेर फुलचार्ज भएको ब्याट्री गाडीमा राख्न सक्नेछन् ।

रमाइलो कुरा के छ भने गाडीको ब्याट्री परिवर्तन गर्दाको बखत चालक गाडीबाट बाहिर पनि निस्कनु पर्दैन । अटोमेटिक तरिकाले गाडीको ब्याट्री परिवर्तन हुन्छ । यो टेक्नोलोजी निकै तनावमुक्त भएको कारण अन्य ब्राण्डहरूले पनि यसको प्रयोग थालेका हुन् ।


Back_to_top