बागमती प्रदेशमा बढ्यो इलेक्ट्रीक स्कुटरको वार्षिक कर, कारमा भने यथावत

काठमाडौं । बागमती प्रदेश सरकारले विद्युतीय मोटरसाइकल तथा कारमा लाग्ने वार्षिक कर वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत विद्युतीय दुई पाङ्ग्रे सवारी साधनमा लाग्ने कर वृद्धि गरेको हो ।

३५० वाटदेखि १००० वाटसम्म मोटर क्षमता रहेका स्कुटर तथा मोटरसाइकलको कर ५०० रुपैयाँले वृद्धि गरेको हो । अघिल्लो वर्ष यस्ता साधनले १ हजार ५०० रुपैयाँ वार्षिक कर तिर्नु पर्ने थियो । तर, यसपटक बढाएर २ हजार बनाइएको छ ।

त्यसैगरि १ हजार वाटदेखि १ हजार ५०० वाटसम्मका साधनमा पनि ५०० रुपैयाँले वृद्धि गरिएको छ । अघिल्लो आर्थिक वर्षमा २ हजार रुपैयाँ वार्षिक कर रहेकोमा चालु आवमा २ हजार ५०० रुपैयाँ बनाइएको छ । १५०० वाटभन्दा माथि क्षमता भएका मोटरसाइकल तथा स्कुटरको दर भने ३ हजार कायम गरिएको छ । यसमा कुनै परिवर्तन गरिएको छैन ।

कारको करमा भएन परिवर्तन

संघीय सरकारले विद्युतीय कारमा करका दर परिमार्जन गरेको भए पनि बागमती प्रदेश सरकारले विद्युतीय कारमा लाग्ने वार्षिक करमा परिवर्तन गरेन । धेरैले वार्षिक कर घट्ने अनुमान गरेका थिए ।

अब मागमती प्रदेशमा इलेक्ट्रीक कार, जीप, भ्यान र माइक्रोबस प्रयोग गर्नेहरुले ५० किलोवाटदेखि १२५ किलोवाटसम्मका सवारी साधन राखे वापत वार्षिक १५ हजार, १२६ किलोवाटदेखि २२५ किलोवाटसम्मलाई २० हजार र २२६ किलोवाट माथि क्षमतका मोटर जडान भएका गाडीलाई ३० हजार वार्षिक कर लाग्ने व्यवस्था गरेको छ ।


Back_to_top