काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको युग सुरु भएको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा उल्लेख्य संख्यामा विद्युतीय सवारीसाधन नेपाल आएका छन् ।
सरकारले विद्युतीय सवारीसाधन आयातमा अपनाएको सहज बाटो, विद्युतको आपूर्ति र ग्राहकहरुको बढ्दो विश्वासको कारण दक्षिण एसियाली बजारमा नै विद्युतीय गाडी प्रयोग गर्नेको औषत संख्यामा नेपाल अग्रणी स्थानमा रहेको छ ।
चालु आर्थिक वर्ष २०७८/७९को ५ महिनामा ४ हजार ९३१ यूनिट विद्युतीय सवारीसाधन नेपाल आएका छन् । त्यसमा सबैभन्दा ठूलो संख्या इलेक्ट्रीक तीन पाङ्ग्रे साधनको देखिन्छ ।
साउनदेखि मंसिर मसान्तसम्म २ हजार ८७४ यूनिट विद्युतीय तीन पाङ्ग्रे सवारीसाधन आयात भएका छन् । त्यसैगरी दोस्रो धेरै दुई पाङ्ग्रे स्कुटर तथा मोटरसाइकल आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार ५ महिनामा विभिन्न ब्राण्डका १ हजार ३६२ यूनिट स्कुटर तथा मोटरसाइकल आयात भएका छन् ।
कारको आयत पनि निकै राम्रो रहेको छ । कार सेग्मेन्टमा विद्युतीय गाडीको हिस्सा करिब १० प्रतिशत पुगेको छ । चालु आबको पाँच महिनामा विभिन्न क्षमताका कार ९१३ यूनिट नेपाल भित्रीएका छन् । यद्यपी बजार माग अनुसार सप्लाई भने हुन सकिरहेको छैन ।
सरकारले अन्तःशुल्क खारेज र भन्सार महशुल कम गरेसँगै विद्युतीय कारको आयात बढेको हो । अहिले कम्बस्चन इन्जिन जडान भएका गाडी आयातमा कडाई गर्नभन्दै सरकारले एलसी खोल्दा अनिर्वाय ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको भएपनि विद्युतीय गाडी आयातगर्दा यस्तो मार्जिन १ प्रतिशत राख्दा पुग्छ । त्यसैले अझै विद्युतीय गाडीको कारोबार बढ्ने देखिन्छ ।

