तीन महिनामा नेपाल आयो ७०५ ईभी, टाटाको बजार हिस्सा ७२ प्रतिशत

काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको तथ्यांक अनुसार ७०५ यूनिट ईभी आयात भएको छ । आयात भएको ७०५ यूनिटमा ५०२ यूनिट ईभी भारतबाट मात्रै आयात भएको देखिन्छ ।

भारतबाट आयात भएको ईभीमा सबै यूनिट टाटाले उत्पादन गरेको नेक्सन र टिगोर ईभी हो । भारतीय बजारमा करिब ७० प्रतिशत बजार हिस्सा ओगटेको टाटाका ईभीले नेपालीमा पनि करिब ७२ प्रतिशत हाराहारी बजार हिस्सा ओगट्न सफल भएको छ ।

चीनको नाका करिब २ महिना बन्द हुँदा चीनबाट आयात हुने गाडीको संख्या कम देखिएको छ । साथै, चीनबाट ठूलो परिमाणमा आयात हुने मोडलको कमीको कारण पनि संख्या धेरै हुन नसकेको हो ।

टाटाले सर्वाधिक ५०२ यूनिट गाडी आयात गर्दा दोस्रो स्थानमा हुन्डाई मोटर्स रहेको छ । साउनदेखि असोज मसान्तसम्ममा हुन्डाईले कोरियाबाट १२० यूनिट गाडी आयात गरेको छ । जसमा कोना १०९ यूनिट छ भने ११ यूनिट आयोनीक ५ रहेको छ ।

यस अवधिमा चीनबाट ७९ यूनिट गाडी आयात भएको छ । जसमा १०० किलोवाट मूनिका ७५ यूनिट र १०० किलोवाटदेखि २०० किलोवाट क्षमताका ४ यूनिट आयात भएको भन्सार तथ्यांकमा उल्लेख छ । चीनबाट आयात भएका गाडीमा मुख्य हिस्सा नेटा भी र बीवाइडीको रहेको छ ।

अमेरिकी ब्राण्ड टेस्लाले भने यस अवधिमा ४ यूनिट कार आयात गरेको छ । जसमा दुई यूनिट टेस्ला मोडल ३ र २ यूनिट मोडल वाई रहेको छ ।


Back_to_top