भदौमा नेपाल आए २१४५ विद्युतीय कार, कुन देशबाट कति ?

फाइल तस्बिर

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना (भदौ)मा मात्रै २१०० युनिट बढी विद्युतीय कार आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौमा कुल २१४५ युनिट विद्युतीय कार, जीप, भ्यान आयात भएको हो । यो साउनको तुलनामा तेब्बर धेरै हो । साउनमा जम्मा ६८९ युनिट ईभी कार आयात भएको थियो ।

भदौमा कुल ५ अर्ब ९ करोड रुपैयाँ बराबरको विद्युतीर कार आयात भएको हो । सो बापत राज्यले ३ अर्ब २३ करोड रुपैयाँ राजस्व पाएको छ ।

विभागका अनुसार चालु आवको २ महिना (साउन-भदौमा) कुल २८३४ युनिट ईभी कार आयात भएको छ । यो अवधिमा ६ अर्ब ७० करोड रुपैयाँ बराबरको ईभी आयात भएको हो । जसबाट सरकारले ४ अर्ब २९ करोड राजस्व पाएको छ ।

व्यवसायीहरूले गत साउन र भदौमा भएको नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा बुकिङ गरेकालाई डेलिभरी दिन ठूलो संख्यामा कार आयात गरेका हुन् । साथैं, दशैं, तिहार जस्ता चाडपर्वलाई लक्षित गरी धेरै गाडी ल्याएका हुन् ।

कुन देशबाट कति आयात ?

भदौमा चीनबाट सबैभन्दा धेरै ३ अर्ब ५ करोड रुपैयाँ बराबरको १२५६ युनिट विद्युतीय कार आयात भएको हो । चीनसँग व्यापार गर्ने मुख्य रसुवागढी र तातोपानी नाका बन्द भएपछि यी गाडी कोरला नाका हुँदै भित्र्याइएका हुन् ।

चीनबाट बीवाइडी, चेरी, ओमोडा, जेको, नामी, आर्कफक्स, लीपमोटर, एमजी, ओरा, हाभाल, स्काइवेल लगायत ब्राण्डका ईभी आयात भइरहेको हो ।

भदौमा भारतबाट ५४० युनिट आयात भएका छन् । भारतबाट टाटा, महिन्द्रा, किया, एमजी, सुजुकी लगायत ब्राण्डका ईभी नेपाल ल्याइएको हो ।

थाइल्याण्डबाट ३४८ युनिट विद्युतीय कार आयात भएको छ । थाइल्याण्डबाट दीपल लगायत चिनियाँ ब्राण्डका ईभी नेपाल आएका हुन् ।

भदौमा अमेरिकाबाट १ युनिट ईभी आयात भएको छ ।

पेट्रोल/डिजेल कार आयात भने सुस्त

भदौमा २१०० बढी ईभी कार आयात हुँदा आइस (पेट्रोलरडिजेल) कार आयात भने सुस्त रहेको छ । भदौमा डिजेल, पेट्रोल र हाइब्रिड गरी कुल ४८७ युनिट कार आयात भएको छ । जसमा ४२८ पेट्रोल, ४५ डिजेल र १४ वटा हाइब्रिड रहेका छन् ।

भदौमा कुल १ अर्ब ३५ करोड रुपैयाँ बराबरको आइस कार आयात भएको हो । सो बापत सरकारले ३ अर्ब ३१ करोड रुपैयाँ राजस्व पाएको छ । चालु आवको भदौमा ईभी, डिजेल, पेट्रोल र हाइब्रिड गरी कुल २ हजार ६३२ युनिट कार आयात भएको छ ।


Back_to_top