काठमाडौं । विद्युतीय गाडीको सप्लाई बढेसँगै केरुङ नाकामा विभिन्न ब्राण्डका सयौंको संख्यामा ईभी जम्ममा भएका छन् । विशेषगरी एमजी, बीवाइडी, नेटा, केवाइसी, डाँफे लगायत ब्राण्डका गाडी भन्सारमा आइपुगेका हुन् ।

आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारीमा सरकार जुटिरहेको समयमा ईभीहरु भन्सारमा आइपुगेका हुन् । नेपालमा बढ्दो ईभी बजारलाई मध्यनजर गर्दै विक्रेता कम्पनीहरुले करिब ५/६ महिना अघि नै अर्डर हालेका गाडीहरु अहिले भन्सारमा आइपुगेको हो ।
एमजी जेडएस ईभीको १०० किलोवाट र बीवाइडी एटो थ्रीको १०० किलोवाटसँगै नेटा भी, इलेक्ट्रीक माइक्रो भ्यान र केही नाम नखुलेका मिनी कारहरु पनि नेपाल आउने क्रममा भन्सार याडमा देखिएका छन् ।

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायण प्रसाद भण्डारीका अनुसार सधैँ बजेट आउनु अघि केही परिमाणमा गाडीहरु आउने गर्छ । सधैँ आयातकर्ता कम्पनीलाई कर तलमाथि हुन्छ भन्ने लाग्ने हुँदा यसरी गाडी आयातको संख्या बढ्ने गर्छ ।

‘यो नियमित प्रक्रिया हो । लामो समयदेखि ठूलो परिमाणमा गाडी आएका थिएनन् । अहिले आउन थालेका छन् । भन्सारमा आएका गाडी दैनिक छुटाउने काम भइरहेको छ’, प्रमुख भन्सार अधिकृत भण्डारीले भने ।


