काठमाडौं । विद्युतीय कारमा भारत निकै पछाडि रहेको छ । भारतमा कार उत्पादन गर्ने मारुती सुजुकी, हुन्डाई, किया, टोयोटा, रेनो जस्ता ब्राण्डले ईभी उत्पादनमा चासो देखाएका छैनन् ।
अर्कोतर्फ भारतकै मल्टीनेशनल अटोमोवाइल ब्राण्ड टाटा र महिन्द्रा जस्ता ब्राण्डले पनि डेडिकेटेड ईभीमा काम गर्न सकिरहेका छैनन् । यी ब्राण्डले अहिले ल्याइरहेका कुनै पनि मोडल ईभी प्लेटफर्ममा बनेका होइनन् । अझै २ वर्ष यी ब्राण्डका ईभी डेडिकेटेड प्लेटफर्ममा उत्पादन भएर आउने छैनन् ।
कोरिया र यूरोपियन प्लान्टमा ईभी उत्पादन गर्दै आएको हुन्डाई र कियाले पनि अहिलेसम्म भारतलाई ध्यानमा राखेर ईभी विकास गरेको छैन । भारतकै सबैभन्दा ठूलो कार निर्माता मारुती सुजुकीले सन् २०२५ को अन्त्यबाट मात्रै विद्युतीय कार बजारमा ल्याउने छ ।
जापानी ब्राण्ड टोयोटा र निसान, यूरोपियन ब्राण्ड रेनो, फक्सवागेन र स्कोडा तथा अमेरिकी ब्राण्ड जीपले समेत अहिलेसम्म भारतमा ईभीको प्लान तयार गरेका छैनन् । अधिकांश ब्राण्डले सन् २०२५ लाई एउटा बेन्चमार्क बनाएर ईभी उत्पादन सुरु गर्न लागेको कारण भारतमा तत्काल ईभीको बजार बिस्तार हुने छाँटकाँट देखिदैन ।
भारतले ईभी उत्पादनमा अझै प्रस्ट खाका प्रस्तुत गर्न सकिरहेको छैन । उसले जसरी प्रदुषण मापदण्डलाई कडा गर्दै पेट्रोल इन्जिनको विकासलाई जोड दिइरहेको छ । अझै भारतमा १० वर्ष ईभीको हिस्सा तिब्र गतिले बढ्ने देखिदैन । अहिले भारतमा ईभीको बिक्री हिस्सा २ प्रतिशतभन्दा तल रहेको छ ।
नेपालमा चिनियाँ उत्पादनको क्रेज बढ्दै
जापानी उत्पादनबाट कार चढ्न सिकेका नेपालीहरुको बीचमा चिनियाँ ईभीहरु अहिले सर्वाधिक चर्चा कमाउन सफल भएका छन् । विद्युतीय कारमा चिनियाँ आक्रमक रणनीतिको फाइदा नेपाली कार बजारलाई पनि पुगेको छ भन्दा फरक नपर्ला ।
अहिले चीनबाट आयात हुने बीवाइडी र एमजी जस्ता ब्राण्डका उत्पादनले बजारमा भित्र्याएको प्रतिस्पर्धाको फाइदा ग्राहकहरुले पाउने देखिन्छ । चल्तीका ब्राण्डले ईभी उत्पादनमा चासो नदेखाउँदा विश्व बजारमा नै ‘न्यू इनर्जी भेहिकल’ उत्पादनमा चीनले बाजी मारेको छ ।
नेपाल विद्युतीय कारको लागि निकै उपयुक्त देश मानिन्छ । पेट्रोलियम पदार्थको आयात पूर्ण रुपमा भारतको भर पर्नु पर्ने देशमा हाम्रै कच्चा पदार्थबाट उत्पादित विजुलीको प्रयोग गरेर गाडी चलाउन पाउने भएको कारण नेपालले विद्युतीय साधनको प्रयोग बढाउँदै लानु पर्नेछ ।
नेपाल पूर्णरुपमा भेहिकल आयात गर्ने देश भएको कारण भारतमा ईभी उत्पादन हुनु वा नहुँनु हाम्रोलागि चासोको विषय होइन । तर, भारतीय बजार मूल्यको हिसावले निकै महत्वपूर्ण बजार भएको कारण भारतमा कम मूल्यमा उत्पादन भए नेपालमा पनि सस्ता ईभी आउने थियो कि भन्ने चासो आम मानिसमा पाउने गरिएको छ ।
थपिदै चिनियाँ ब्राण्ड
अहिले विद्युतीय कार बिक्री गर्न चाहने ब्यवसायीक घरानाले चिनियाँ ब्राण्ड नेपाल ल्याउन प्रयास गरिरहेका छन् । चीनमा सफलता पाउँदै गरेको चांगन, जिली, चेरी, डिएफएसके जस्ता ब्राण्डका ईभी नेपाल ल्याउने तयारी भइरहेको छ ।
त्यसैगरी चिनियाँ स्टार्टअप कम्पनीहरुका ईभी पनि नेपाल ल्याउन यहाँका व्यापारीहरु कम्बर कसेर लागेका छन् । यसले भोलिको दिनमा चिनियाँ ब्राण्ड बीचको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गर्न सकिन्छ ।


