जापान सरकारले टोयोटालाई दियो १२० बिलियन येन, ब्याट्रीमा लगानी गर्ने

काठमाडौं । विश्व प्रसिद्ध मास मार्केट ब्राण्ड टोयोटाले ढिलोगरी ब्याट्री इलेक्ट्रीक भेहिकल उत्पादन सुरु गरेको छ । कम्पनीले केही मोडल उत्पादन गरेर बजारमा पठाएको भएपनि बिक्रीको हिसावले राम्रो हुन सकिरहेको छैन ।

कम्पनीले कारसँगै नयाँ टेक्नलोजीको ब्याट्री विकासमा समेत ठूलो लगानी गर्ने भएको छ । त्यसको लागि जापान सरकारले ‘नेक्ट जेनेरेशन ब्याट्री’को विकास गर्न १२० बिलीयन येन (८५३ मिलीयन डलर) अनुदान दिएको छ ।

ईभीको ब्याट्री विकास र उत्पादनमा चिनियाँ कम्पनीहरुको दवदवालाई मत्थर गर्न जापन सरकारले उक्त रकम टोयोटालाई दिएको हो । विश्वको ईभी ब्याट्री उत्पादनमा चिनियाँ सीएटीएएल र बीवाईडीको मात्र ५० प्रतिशत भन्दा बढि हिस्सा छ । जापनीज कम्पनी पानाशोनीकको हिस्सा १० प्रतिशतभन्दा कम छ ।

टोयोटाले प्राप्त रकम वाइपोलार लिथियम आयोन फस्फेट टेक्नलोजीमा आधारित ‘नेक्ट जेनरेशन लिथियम आयोन ईभी ब्याट्री’को विकासमा खर्च गर्ने जनाएको छ ।

नयाँ ब्याट्री टेक्नलोजीले अहिले चलिरहेको ब्याट्रीभन्दा २० प्रतिशत बढि रेन्ज दिने र उत्पादन लागत पनि ४० प्रतिशत कम हुने बताइएको छ । टोयोटाले सन् २०२६ सम्ममा यो ब्याट्री प्रयोगमा ल्याउने योजना सार्वजनिक गरिसकेको छ । ‘नेक्ट जेनरेशन लिथियम आयोन ईभी ब्याटी’ले सिंगल चार्जमा कम्तीमा एक हजार किलोमिटर रेन्ज दिनेछ ।

यसबाट बचेको रकम टोयोटाले आफ्नो महत्वकांक्षी योजना सोलिड स्टेट ब्याट्रीको विकासमा खर्च गर्नेछ । सोलिड स्टेट ब्याट्रीको रेन्ज पनि झण्डै १५ सय किलोमिटर हुने जनाइएको छ । टोयोटाले हालसम्म बीजेडफोरएक्स र लेक्सस आरजेड गरी दुई मोडलको व्यवसायीक उत्पादन गरिरहेको छ । कम्पनीले आगामी सन् २०२६ सम्ममा १० नयाँ बीईभी मोडल लन्च गर्ने योजना अनुसार काम गरिरहेको छ ।


Back_to_top