चल्तीका ब्राण्डलाई रोयल इनफिल्डको टक्कर, मासिक १२ हजारमा ‘क्लासिक-३५०’

काठमाडौं । ब्रिटिस आइकोनिक ब्राण्ड रोयल इनफिल्डले विश्वकै ५ औं एसेम्बल प्लान्ट नेपालमा लगाएर मोटरसाइकल उत्पादन सुरु गरेसँगै सरकारले पनि २५० देखि ४०० सीसीसम्मका मोटरसाइकलमा लाग्दै आएको सडक निर्माण दस्तुर र अन्तःशुल्क घटायो ।

यसरी एकैपटक ३० हजार सडक निर्माण दस्तुर र ३० प्रतिशत अन्तःशुल्क घट्दा मोटरसाइकलको मूल्य १ लाख ४० हजार रुपैयाँले घट्यो । फलस्वरुप रोयल इनफिल्डको नेपाल यात्रा यादगार बन्न पुग्यो । यसले बजारमा उपलब्ध चल्तीका ब्राण्डलाई कडा टक्कर प्रस्तुत गरेको छ ।

साना १२५ देखि २०० सीसीका मोटरसाइकलको मूल्य नै ६ लाख रुपैयाँसम्म पुगेको समयमा रोयल इनफिल्डको मूल्य ५ लाख तल आउँदा अन्य ब्राण्डले नसोचेको चुनौती सामना गर्नु परेको हो ।

अहिले नेपालमै एसेम्बल गरेर रोयल इनफिल्डले अल न्यू क्लासिक ३५० र स्क्र्याम ४११ मोडल बिक्री सुरु गरेको छ । कम्पनीले बीएस ६ मापदण्डको क्लासिक ३५० को मूल्य ४ लाख ९९ हजार निर्धारण गरेर बिक्री सुरु गरेको हो ।

मासिक किस्ता १२ हजार

रोयल इनफिल्ड क्लासिक ३५० किन्न चाहने ग्राहकले मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट गरेपछि ५० प्रतिशत रकम कर्जा सुविधा पाउने छन् । फाइनान्स कम्पनी र इन्भेष्टमेन्ट कम्पनीहरुले यस्तो कर्जा उपलब्ध गराउँदै आएका छन् ।

यदि तपाईले मूल्यको ५० प्रतिशतले हुन आउने २ लाख ४९ हजार ५०० रुपैयाँ वार्षिक १५ प्रतिशत ब्याजदरमा नै लिने हो भने पनि मासिक १२ हजार १०० रुपैयाँ तिर्दा पुग्छ । मोटरसाइकललाई दुई वर्ष भित्र तिरिसक्नेगरी वित्तीय संस्थाहरुले कर्जा प्रबाह गर्छन् ।

यस्तो छ अल न्यू क्लासिक ३५०

नयाँ जेनेरेशन क्लासीक ३५० रोयल इनफिल्डको ‘जे’ प्लेटफर्ममा तयार पारेको हो । यसअघि यहि प्लेटफर्ममा कम्पनीले मेटोर ३५० उत्पादन गरेको थियो ।

नयाँ मोटरसाइकलमा ३४९ सीसी, सिंगल सिलिन्डर, फोर स्ट्रोक, एफआई इन्जिन रहेको छ । यसले २०.२ हर्सपावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

न्यू जेनेरेशन मोडलमा ट्रीपर नेभीगेशन फिचर पाउन सकिन्छ । साथै, किट स्टार्ट गर्ने अप्सन हटाएको छ ।


Back_to_top