काठमाडौं । सन् २०२० को पहिलो क्वाटरमा इलेक्ट्रीक कारको बिक्रीमा खासै वृद्धि हुन सकेन । यद्यपी यस अवधिमा विश्वभर ४ लाख ६० हजार ५०६ यूनिट कार बिक्री भयो ।
विश्वमा कोरोनाको महामारी सुरु भइसकेको समयमा पनि यो संख्यामा इलेक्ट्रीक कार बिक्री हुनुलाई उत्साहपूर्ण मानिएको छ । तर, कुल बिक्रीको ५९ प्रतिशत ५ कम्पनीले ओगटेका छन् ।
पाँच कम्पनीले २ लाख ७३ हजार ५६४ यूनिट कार बिक्री गरेका हुन् । यसरी सर्वाधिक इलेक्ट्रीक कार बिक्री गर्ने कम्पनीमा टेस्ला, फक्सवागन, रेनो–निसान–मित्सुविसी, बिएमडब्ल्यू र हुन्डाई–किया एलायन्सले ओगटेको छ ।
सर्वाधिक इलेक्ट्रीक कार बिक्री गर्ने कम्पनीको अग्रस्थानमा टेस्ला रहेको छ । टेस्लाले २०१९ को पहिलो क्वाटरको तुलनामा २ प्रतिशतले बजार हिस्सा बढाउन सफल भएको छ । कम्पनीले २०२० को पहिलो क्वाटरमा ८८ हजार ४०० यूनिट कार बिक्री गर्दै १९ प्रतिशत बजार हिस्सा ओगटन सफल भएको छ ।
त्यसैगरी दोस्रो स्थानमा फक्सवागन ग्रुप रहेको छ । कम्पनीले अघिल्लो वर्षको पहिलो क्वाटरको तुलनामा ७ प्रतिशतले बजार बढाएको छ । फक्सवागन ग्रुपले ५९ हजार ९१६ यूनिट कार बिक्री गर्दै कुल बजारको १३ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।
सूचीको तेस्रो स्थानमा रेनो–मित्सुविसी–निसान ग्रुपले चालु वर्षको पहिलो क्वाटरमा ५१ हजार ३६१ यूनिट बिक्री गर्न सफल भएको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले बजार बढाउँदै ११ प्रतिशत बजार हिस्सा पुर्याउन सफल भएको छ ।
सूचीको चौथो स्थान बिएमडब्ल्यू ग्रुपले लिएको छ । कम्पनीको मार्केट सेयर भने १ प्रतिशतले मात्रै बढेको हो । कम्पनीले चालु वर्षको पहिलो क्वाटरमा ३७ हजार ४१ यूनिट इलेक्ट्रीक कार बिक्री गर्दै ८ प्रतिशत बजार हिस्सा ओगटेको हो ।
हुन्डाई–किया ग्रुपले यस अवधिमा २ प्रतिशत बजार हिस्सा बढाउन सफल भएको छ । चालु वर्षको तीन महिनामा ३६ हजार ८४६ यूनिट इलेक्ट्रीक कार बिक्री गर्दै कम्पनीले ८ प्रतिशत बजार हिस्सा ओगटन सफल भएको छ ।


