डलरको मूल्य ढुकेर भन्सार छुटाउनु पर्ने बाध्यतामा व्यवसायी

काठमाडौं । पहिला रेमिट कम्पनीले डलर साटे जसरी ईभी छुटाउनु पर्ने बाध्यतामा आयातकर्ताहरू पर्ने देखिएको छ । सरकारले आयात मूल्यको आधारमा कर लगाएसँगै डलरको मूल्य ढुकेर गाडी छुटाउनु पर्ने बाध्यतामा आयातकर्ता कम्पनीहरू परेका हुन् ।

सरकारको कर नीतिको असर आयातकर्तामा भन्दा बढी उपभोक्तामै पर्ने हो । आयातकर्ताले तिरेर ल्याएको मूल्यमा आफ्नो नाफा राखेर कारको मूल्य घोषणा गर्ने भएकोले त्यसको सिधा असर उपभोक्तालाई नै पर्ने छ ।

सरकारको नयाँ कर नीतिले केही मोडलको मूल्य तलमाथि परि नै रहने देखिन्छ । खासगरी नेपाली रुपैयाँ १९ लाख मूल्यका कारमा कर बढ्ने जोखिम निरन्तर रहन्छ ।

सरकारले गाडी भन्सार बिन्दुमा आइपुग्दा कायम हुने (सीआइएफ) मूल्यका आधारमा कर लाग्ने व्यवस्था गरेसँगै विद्युतीय कारमा लगाइएको करले मूल्यमा ठूलै उथलपुथल पार्ने देखिएको हो ।

खासगरी, भारतीय मुद्रा बाहेक अन्य मुद्रामा खरिद गरेर ल्याउने कारको मूल्य नेपाली मुद्राको सटही दरले नै कर निर्धारणको प्रक्रिया सुरू हुने भएको छ ।

यदि, भन्सार बिन्दुमा आइपुग्दा डलर, युरो, पाउण्ड वा युआनको मूल्य बढ्यो भने धेरै कारहरू माथिल्लो श्रेणीको करका दरमा पुग्न सक्छन् । यसले गाडी आयातकर्तालाई मूल्य स्थिर राख्न धौ-धौ पर्ने देखिन्छ ।

अहिले सरकारले सबै विद्युतीय कारमा २० प्रतिशत भन्सार कायम गरेको छ । त्यसपछि मूल्यको आधारमा स्ल्याब अनुसार स्वच्छ निर्माण कर र सडक निर्माण कर लगाइएको छ । भन्सार आइपुग्दा २० लाख रुपैयाँसम्म पर्ने कारमा सबैभन्दा कम स्वच्छ निर्माण कर २.५ प्रतिशत र सडक निर्माण कर २.५ प्रतिशत लगाइएको छ ।

त्यसमाथि २० देखि ३० लाखसम्मको कारमा स्वच्छ निर्माण कर २० प्रतिशत, ३० लाखदेखि ४० लाखसम्मको कारमा स्वच्छ निर्माण कर ३५ प्रतिशत, ४० लाखदेखि ५० लाखसम्मका कारमा ९० प्रतिशत र त्योभन्दा माथिका सबै विद्युतीय कारमा १३० प्रतिशत लाग्छ । सबै कारमा सडक निर्माण कर भने ५ प्रतिशत लगाइएको छ ।

डलरको मूल्य तल माथि हुने बित्तिकै गाडीको लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्कको स्ल्याब नै घट बढ हुने देखिन्छ । उदाहरणका लागि कुनै बिक्रेताले अघिल्लो दिन ल्याएको गाडीको सीआइएफ मूल्य २९ लाख ९० हजार रुपैयाँ कायम थियो । उक्त दिन भन्सार जाँचपास गर्दा स्वच्छ पूवार्धार निर्माण शुल्क २० प्रतिशत लाग्थ्यो । तर, भोलिपल्ट डलरको मूल्य बढ्यो भने उक्त गाडीको सीआइएफ मूल्य ३० लाख रुपैयाँ बढी हुन्छ । यस्तोमा अघिल्लो दिनमा २० प्रतिशत तिरेको कर भोलिपल्ट ३५ प्रतिशत तिर्नुपर्ने बाध्याता आइपर्ने देखिन्छ ।

डलरको मूल्य निरन्तर उकालो

पछिल्लो ढेड वर्षमा डलरको मूल्य १५ प्रतिशतले बढेको छ । एक वर्षमा मात्रै १७ रुपैयाँले बढेको छ । गत वर्ष जेठमा १३६ रुपैयाँ रहेको डलरको भाउ बढेर अहिले १५३ रुपैयाँ पुगेको हो । डलरको मूल्य उकालो लागेसँगै युरो, पाउण्ड र युआन पनि निरन्तर बढ्दै गएको छ ।

यसरी डलर बलियोभन्दा गाडीको खरिद मूल्य नेपाली रुपैयाँ बढ्छ । अनि सरकारले त्यही बढेको मूल्यमा कर लगाउने भएको कारण करको दर नै तल माथि पर्छ । त्यसको सिधा मार उपभोक्तामै पर्छ ।


Back_to_top