ईभीमा छुट घुमाएर होइन, सिधै दिनुस् न !

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी)को एसेप्टेन्स युरोपियन देशहरूको भन्दा धेरै छ । हाल नेपालमा आयात हुने सवारी साधनमध्ये ६५ प्रतिशत बढी हिस्सा ईभीको छ ।

ईभीको हिस्सा बढ्दा वातावरणविद्, सरकारसँगै समग्र नेपाली खुसी देखिएका छन् । ईभीले प्रदूषण नियन्त्रणसँगै पेट्रोलियम पद्धार्थको खपत समेत घटाउँछ भने स्वदेशमै उत्पादित बिजुलीको खपत बढाउँछ ।

नेपाल सरकारले लिएको प्रोत्साह नीतिकै कारण नेपालमा ईभीको ‘एसेप्टेन्स’ ह्वात्तै बढेको हो । सरकारले ग्यासोलिनको तुलनामा ईभीमा कर छुट दिएको छ । जसकारण मूल्य सस्तो भएकाले आम रोजाइमा पर्न थालेको हो । साथै, विद्युती कार फिचर लोडेड हुँदा युवापुस्ता आकर्षित भएको देखिन्छ ।

नेपालमा ईभीको बिक्री बढेसँग ब्राण्डको पनि ओइरो लागेको छ । हाल नेपालमा झण्डै ४ दर्जन ब्राण्डका ईभी उपलब्ध छन् । पछिल्लो समय न्यू इनर्जी भेहिकल उत्पादनमा चीनले ठूलो फड्को मारेसँग नेपालमा पनि नयाँ नयाँ ब्राण्डको ईभी आउने क्रम बढेको हो ।

छिमेकी चीनको ‘ईभी रिभुलोसन’को प्रभाव अहिले नेपालमा समेत परेको छ । फलस्वरुप नेपाल नयाँ र मझौला व्यापारीले समेत ईभी ल्याएर बेच्न थालेका छन् । चिनियाँ ईभीको प्रभाव अघि नेपालमा सामान्य व्यापारीले गाडी ल्याएर बेच्न निकै कठिन थियो । गाडीको व्यापारमा सीमित ठूला घरानाको मात्रै वर्चश्व थियो ।

हल्लाको पछिलाग्दा थुप्रिए ईभी

कुनै पनि देशमा जति धेरै ब्राण्ड भित्रिए, प्रतस्पर्धा पनि उति नै बढ्छ । त्यो ग्राहकका लागि राम्रो हो । जति ब्राण्ड आए पनि केही फरक पर्दैन । तर, एउटै ब्राण्डले बजारको मागभन्दा कैयौं गुणा बढी गाडी ल्याएर स्टक राख्ने प्रवृत्ति भने व्यापारी स्वयम् लाई घातक सावित हुनसक्छ ।

यस वर्ष केही व्यापारीलाई ‘ओभर स्टक’ गाडी घाँडो बन्ने देखिएको छ । नेपालमा हरेक वर्ष बजेटको बेला ईभी बजार तरंगित हुने गर्छ । बजेटमा कर बढ्ने हल्लासँगै व्यवसायीले बजेटपछि नाफा कमाउन सक्ने देखेर अन्धाधुन्ध गाडी आयात गर्ने गरेको देखिन्छ ।

बजेट अघिको डेढ महिनामा मात्रै व्यापारीले साढे ५ हजार युनिट ईभी आयात गरे । त्यसअघि नै व्यापारीहरूसँग २ हजार। बढी गाडी स्टक रहेको अनुमान थियो । विगतका वर्षहरूमा व्यापारीहरू सकेजति गाडी ल्याएर बजेटपछि बेच्ने ‘स्ट्राटेजी’मा सफल बनेका थिए । तर, यस वर्ष भने अर्थमन्त्रीले व्यापारीलाई ‘चक्मा’ दिए । बजेटमार्फत ईभीको कर यथावत राखिदिए । बजेट अघि व्यापारी र मिडियाले चलाएको हल्ला निराधार सावित गरिदिए ।

अर्थमन्त्रीको कदमले अहिले केही ईभी आयातकर्तालाई ‘हाइभोल्टेज करेन्ट’ लागेको छ । एकातर्फ ओभर स्टक गाडी अब कसरी सल्टाउने र अर्कोतर्फ अनावश्यक ब्याज तिर्नुपर्ने चिन्ता थपिएको छ ।

कुनै पनि व्यापारीले कति सामान स्टक राख्ने भन्ने त्यो उनीहरूकै हातको कुरा हो । कसैलाई यति मात्र ल्याएर राख भन्ने अधिकार कसैलाई छैन । तर, ओभर स्टक राख्दा कति नोक्सानी हुन्छ भन्ने आफैंले सोच्नुपर्छ/पर्थ्यो ।

अब घुमाएर होइन, सिधै छुट दिनुहोस्

बजेट अघि भित्रिएका गाडी बेच्न अब कम्तीमा ६ महिना लाग्ने देखिन्छ । चालु आवमा मासिक औसतमा १ हजार युनिट हाराहारी ईभी बिक्री भएको देखिन्छ ।

आगामी केही महिना सवारी साधन बिक्रीका लागि अफसिजन नै मानिन्छ । अब साउन भदौमा  हुने २/२ वटा अटो शो र फेस्टिभ सिजनमा मात्रै राम्रोसँग गाडी बिक्ने देखिन्छ । पछिल्ला दिनमा गाडीको बिक्री स्लो भएको स्वयं बिक्रेताहरू नै बताउँदै आएका छन् ।

अर्कोतर्फ, अहिले चिनियाँ बजारमा ईभीमा चर्को प्राइसवार चलेको छ । केही कम्पनीले ५० प्रतिशतसम्मको छुटको स्कीम ल्याएका छन् । यसको सिधा अर्थ आगामी दिनमा आयात हुने ईभीहरू अहिलेकोभन्दा कम मूल्यमा आउनेछ ।

बजेटले पनि ईभीको कर नबढाएकाले अब मूल्य बढाउने ठाउँ देखिँदैन । उल्टो चिनियाँ प्राइसवारको असर नेपालमा पनि पर्ने देखिन्छ । यस्तोमा नयाँ गाडी किन्ने योजनामा रहेका ग्राहकले आफ्नो योजना केही पछि धकेल्ने देखिन्छ ।

अब व्यापारीलाई स्टक गाडी बेच्न भदौमा आयोजना हुने नाइमा र नाडा अटो शो अवसर हुनेनै छ । विगतमा जस्तै यस वर्ष पनि अटोशोमा विभिन्न अफर ल्याउने निश्चित नै छ । अहिले पनि सवारी बिक्रेताले एक्सचेन्ज अफर, प्रि बजेट, जस्ता अफर चलाइ नै रहेका छन् ।

अब केही दिनमै पोस्ट बजेट अफर भनेर आकर्षक स्कीम र प्रमोशनहरू आउने छन् । पोस्ट बजेट स्कीममा पनि फाइनान्स सुविधा, बीमा शुल्क सडक कर फ्री, किस्ताबन्दी छुट लगायत अफर आउने निश्चित नै छ । केही ब्राण्डले त आयात मूल्य (ल्याण्डिङ प्राइस) मा समेत थप छुट दिने गरेको सुनिएको छ ।

यस्तोमा अबका दिनमा ईभीमा पाइने अफर अनुमान गरेभन्दा राम्रो हुने आंकलन गर्न सकिन्छ । अब बिक्रेताहरूले अफर होइन, सिधै मूल्य घटाएर बेच्दा ग्राहक तान्न प्रभावकारी हुने देखिन्छ ।

मेरो भनाइ यति मात्रै हो, ईभीमा घटेको मूल्य समायोजन गर्न लजाउनु पर्दैन । ग्राहकलाई लोभ देखाएर गाडी बेच्न एक्सचेन्ज, प्रि-बजेट, पोस्ट बजेट, फेस्टिबल जस्ता अफर ल्याउनु पर्दैन । सिधै भन्नुस् हाम्रो गाडीमा यति मूल्य घट्यो, अब यो मूल्यमा दिन्छौं । ‘डार्क प्याटर्नको’ प्रयोग नगर्दा राम्रो हुन्छ ।

नेपालमा कुनै पनि वस्तुको मूल्य घट्दैन भन्ने भाष्य स्थापित छ । चीनमा घटेको मूल्य समायोजन गर्दै नेपालमा पनि डाइरेक्ट घटाउनुहोस् । अफर चलाएर होइन, ग्राहकलाई सिधा घटेको मूल्यमा छुट दिनुहोस् । यसले ग्राहकको विश्वास जित्नुकासँगै समाजमा रहेको गलत भाष्य समेत चिर्न सहयोग पुर्याउँछ ।

अन्तिममा फेरि पनि भन्छु, ईभीमा छुट घुमाएर होइन, सिधै दिनुहोस् न !


Back_to_top