काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा अटो महाकुम्भ मेला ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ जारी छ । मंगलबारदेखि सुरू भएको यो एक्स्पो आगामी आइतबारसम्म संचालन हुनेछ ।
नाइमा एक्स्पोमा दुईरचारपाँग्रे र कमर्शियल गरी ५५ ब्राण्डले सहभागिता जनाएका छन् । यी ब्राण्डले ४० बढी नयाँ मोडल लन्च गरेका छन् ।
एक्स्पोमा करिब १९ लाखदेखि झण्डै ३ करोडसम्म पर्ने कारहरू प्रदर्शनीमा राखिएको छ । एक्स्पोमा सस्ता र मध्यम मूल्यका कारमा धेरैको आकर्षण देखिन्छ । कारोबार पनि यिनै कारको धेरै हुन्छ । तर, एक्स्पोमा कारका सौखिन र लग्जरी कार खोज्नेलाई लक्षित गर्दै केही महँगा कार पनि राखिएको छ । जसले धेरैको ध्यान खिचेको छ । महँगा कार किन्नभन्दा पनि कस्तो रहेछ भनेर हेर्न पुग्नेको भीड देखिन्छ ।
नाइमा १ करोड बढी मूल्य पर्ने आधादर्जन बढी कार लन्च भएका छन् । तीमध्ये हामीले यहाँ सबैभन्दा महँगा अर्थात् २ करोड बढी मूल्य पर्ने चार कारको बारेमा चर्चा गरेका छौं ।
डेन्जा बी फाइभ
नाइमा एक्स्पोमा राखिएको सबैभन्दा महँगो कार हो बीवाइडीको प्रिमियम ब्राण्ड डेन्जाको नयाँ प्लगइन हाइब्रिड एसयूभी ‘डेन्जा बी फाइभ’ । साइमेक्स इंकले प्रिमियम लग्जरी एसयूभी डेन्जा बी फाइभको मूल्य २ करोड ९७ लाख रुपैयाँ तोकेको छ । कम्पनीले डेन्जाकै बी ८ मोडल को मूल्य ३ करोड ८० लाख रुपैयाँ तोके पनि प्रदर्शनीमा भने राखेको छैन ।

डेन्जा बी फाइभ निकै पावरफुल र लग्जरी छ । यसमा १४९७ सीसी क्षमताको टर्बो इन्जिन दिइएको छ । यक्त इन्जिनको अधिकतम १८१ एचपी पावर प्रदान गर्छ । इन्जिनको पीकटर्क भने २६० न्युटन मिटर रहेको छ ।
यसमा ईएचएस इलेक्ट्रीक हाइब्रिड सिस्टम उपलब्ध छ । उक्त सिस्टमसँग ३१.८ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । यसमा ८३ लिटर क्षमको इन्धन ट्याङ्की छ । फुल ट्याङकी इन्धन र फुल चार्ज ब्याट्री छ भने ८५० किलोमिटर चलाउन सकिने डब्लूएलटीपी टेस्टमा देखिएको छ । ईभी मोडमा मात्रै ९० किलोमिटर हाराहारी चलाउन सकिन्छ ।
इलेक्ट्रीक मोटर निकै पावरफुल प्रयोग भएको छ । अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुने बी फाइभ एसयूभीको अगाडि २०० किलोवाट र पछाडि २२५ किलोवाटको मोटर दिइएको छ । इन्जिन र मोटरको संयुक्त पावर ४२५ किलोवाट हुनेछ । निकै पावरफुल मोटर भएको कारण यसलाई शून्यबाट १०० किलोमिटरको स्पीड भेट्टाउन केबल ४.८ सेकेण्ड मात्रै लाग्नेछ । यसको टप स्पीड क्षमता प्रतिघण्टा २१० किमी छ । डेन्जा बी फाइभले १०० किलोवाटको डीसी र ११ किलोवाटको एसी चार्जर सपोर्ट गर्छ ।
यसमा हिटेड, भेन्टिलेटेड, मसाज सिट, ठूलो प्यानोरामिक सनरुफ, क्याबिनमा प्रिमियम नाप्पा र उच्च गुणस्तरको लेदर कभरिङ दिइएको छ । यसमा सुरक्षाका लागि ३६० डिग्री क्यामेरा, ट्रान्सपेरन्ट चेसिस भ्यू, एडप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट मोनिटरिङ लगायत सुविधा भएको लेभल २ एडास फिचर छ ।
डेन्जा बी फाइभ दुई भेरियन्टमा उपलब्ध छ । यसको डाइनामिक भेरियन्टको लम्बाइ ४८८८ एमएम र प्रिमियम भेरियन्टको लम्बाइ ४९२१ एमएम छ । दुवै भेरियन्टको चौडाइ भने समान १९७० एमएम छ । यसमा २८०० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । ह्वील साइज पनि फरक छ । डाइनामिक भेरियन्टमा १८ इन्चको ह्वील छ । माथिल्लो प्रिमियम भेरियन्टमा २० इन्चको ह्वील पाउन सकिन्छ ।
एमजी मेजेस्टर
नाइमाको दोस्रो धेरै महँगो कार हो मोरिस ग्ग्यारेज (एमजी)को शक्तिशाली एसयूभी मेजेस्टर । इन्डिया मेड एमजीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइलले यो एसयूभीको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकेको छ ।

यो एसयूभी शक्तिशाली इन्जिनकै कारण चर्चामा छ । यसले गत मार्चमा ४०६.४ टन तौल भएको रेल तानेर गिनिज वल्र्ड रेकर्ड समेत बनाएको थियो । एमजी मेजेस्टरमा २.० लिटरको ट्विन टर्बोचाज्र्ड डिजेल इन्जिन छ । उक्त इन्जिनले २१५.५ पीएस पावर तथा ४७८.५ न्युटन टर्क उत्पादन गर्छ । यसमा ८ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।
मेजेस्टर एसयूभी रियर ह्वील र फोर ह्वील दुवै ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । यसको लम्बाइ ५,०४६ एमएम, चौडाइ २,०१६ एमएम, चौडाइ १८७६ एमएम र २९५० एमएम लामो ह्वीलबेस छ ।
यसको अगाडि विशाल ठूलो ग्लसी ब्ल्याक कलरको ग्रिल प्रयोग गरिएको छ । पछाडि दिइएको दुई वटा ‘एग्जस्ट पाइप’ले गाडीलाई थप स्पोर्टी बनाएको छ । एमजीको म्याक्सस डी ९० मा आधारित म्याजेस्टरले ठूला गाडी चाहनेहरूको आवश्यकता पूरा गर्नेछ ।
एमजी मेजेस्टर जस्तोसुकै अफरोडमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेगरी आएको छ । यसमा १० वटा अफरोड मोडहरू सहितको फोर ह्वील ड्राइभ सिस्टम, ट्रिपल डिफरेंशियल लक (अगाडि, पछाडि र बीच), क्रल कन्ट्रोल र २१९ एमएम ग्राउण्ड क्लियरेन्स रहेको छ । यसलाई ८१० एमएम गहिरो पानीमा पनि चलाउन सकिन्छ ।
सुरक्षाका लागि मेजेस्टरमा लेभल २ एडास दिइएको छ । यसको क्याबिन पनि निकै फिचर लोडेड छ । कम्पनीले यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ टच स्क्रीन, १२.३ इन्चकै इन्फर्मेशन डिस्प्ले र थ्री स्पोक स्टेरिङ ह्वील दिएको छ । थ्री जोन क्लाइमेट कन्ट्रोल, १२ स्पीकर सहितको साउण्ड सिस्टम, हिटेड तथा भ्यान्टिलेटेड सिटहरू, मसाज सिटले यात्रुको लागि यो उत्कृष्ट मोडल बनाएको छ ।
आयोनिक नाइन
दक्षिण कोरियाली कार निर्माता हुन्डाईको आयोनिक सिरिजकै सबैभन्दा ठूलो एसयूभी ‘आयोनिक नाइन’ तेस्रो महँगो कार रहेको छ । साथै, यो नाइमाको सबैभन्दा महँगो ईभी समेत हो । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले लक्जरी एसयूभी आयोनिक नाइनको मूल्य २ करोड १९ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।
७ सिट क्षमताको यो एसयूभी लामो ड्राइभिङ रेन्ज, अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा फिचर तथा तीव्र चार्जिङ क्षमताका कारण विश्व बजारमा चर्चित छ ।
आयोनिक नाइनलाई कम्पनीले आफ्नो ई जीएमपीमा आधारित रहेर बनाएको हो । ८०० भोल्ट विद्युतीय आर्किटेक्चर प्रयोग भएको एसयूभीले उच्च कार्यक्षमता, उत्कृष्ट स्थिरता, राम्रो तौल सन्तुलन कायम गर्छ ।
१६० किलोवाटको इलेक्ट्रीक मोटर रहेको यो एसयूभीमा ११० किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ । यसले एक पटकको फुलचार्जमा ६२० किलोमिटरसम्म रेन्ज डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
यसलाई ३५० किलोवाट क्षमताको डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई करिब १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २४ मिनेट मात्रै लाग्ने कम्पनीको दाबी छ ।
विभिन्न भेरियन्टमा उपलब्ध यो एसयूभीमा रियर ह्वील ड्राइभ सिस्टम पाउन सकिन्छ । विकल्पमा डुअल मोटर भएको अल ह्वील ड्राइभ सिस्टम पनि छ । तीव्र एक्सेलेरेसन, उच्च टर्क र सहज पावर डेलिभरीले यसलाई प्रिमियम इलेक्ट्रिक एसयूभी बनाएको छ ।
इन्टेरियरमा डुअल प्यानोरामिक डिस्प्ले, डिजिटल ककपिट, प्रिमियम सामग्री, आरामदायी सिट, मल्टि जोन क्लाइमेट कन्ट्रोल, ओटीए सफ्टवेयर अपडेट, डिजिटल की, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, ३६० डिग्री क्यामेरा पाउन सकिन्छ ।
डिजाइनका हिसाबले पनि आयोनिक नाइनले हुन्डाईको नयाँ एरो एस्थेटिक डिजाइन दर्शनलाई पछ्याएको छ । एरोडाइनामिक बडी, पिक्सेल शैलीका एलईडी लाइट, क्लोजअफ ग्रिल पाउन सकिन्छ ।
छैटौं जेनेरेशन र्याभफोर
नाइमामा लन्च गरिएको छैटौं जेनेरेशन र्याभफोर हाइब्रिड एसयूभीको मूल्य २ करोड १३ लाख रुपैयाँ तोकिएको छ । युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले नेपाल ल्याएको नयाँ र्याभफोर मोडलमा २.५ लिटर फोर सिलिण्डर इन्जिन रहेको छ ।

सेल्फ चार्जिङ हाइब्रिड नामबाट आउर्ने याभफोरको इन्जिन र इलेक्ट्रीक मोटरको संयुक्त पावर २४० पीएस छ । जुन अहिले बजारमा रहेको र्याभफोरको तुलनमा १८ पीएसले बढी हो । सेल्फ चार्जिङ मोडलमा ब्याट्री भने १.५ किलोवाट आवर उपलब्ध छ ।
नयाँ र्याभ ४ मा आधुनिक क्याबिन र उन्नत सुरक्षा प्रविधि समावेश गरिएको छ। यसको क्याबिनमा १२.३ इन्चको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १२.९ इन्च को टचस्क्रीन इन्फोटेनमेन्ट, ओटा सफ्टवेयर, वायरलेस स्मार्टफोन चार्जर, डुअल जोन क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड तथा हिटेड फ्रन्ट सिट, पावर एड्जस्टेबल ड्राइभर तथा सहचालक सिट, एम्बियन्ट लाइटिङ लगायत फिचर छन् ।
सुरक्षाका लागि टोयोटाको यो टोयोटाको सबैभन्दा नयाँ एडास फिचर भएको टोयोटा सेफ्टी सेन्स ४.० सिस्टम छ । साथै, टोमेटिक इमर्जेन्सी ब्रेकिङ, फुल स्पिड डायनामिक रडार क्रुज कन्ट्रोल, लेन डिपार्चर अलर्ट, लेन किपिङ असिस्ट, लेन सेन्टरिङ, ब्लाइन्ड स्पट मनिटर, रियर क्रस ट्राफिक अलर्ट, ड्राइभर मनिटरिङ सिस्टम, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, हिल स्टार्ट असिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम लगायत फिचर उपलब्ध छन् ।


