दुई दिनमै ५५ हजार बढीले हेरे नाइमा एक्स्पो, बुकिङ पनि उच्च

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पोको दोस्रो दिन पनि अवलोकनकर्ताको व्यापक सहभागिताले मेलास्थल भरिभराउ बनेको हो ।

मेलास्थल पुगेका अवलोकनकर्ताले आफूलाई मनपरेका कार छानी-छानी बुक गरिरहेको पाइएको छ । एक्स्पोमा सहभागी कम्पनीहरूका अनुसार महँगा र सस्ता कार तथा मोटरसाइकलमा अवलोकनकर्ताको समान रुचि देखिएको छ ।

मेलामा ठुलो संख्यामा मानिसहरूले कयौं ब्राण्डका गाडी चढेर सुविधा हेरिरहेका र बुझिरहेकाहरू थिए । अवलोकनकर्ताहरूले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिसलगायत विषयमा चासो राखेका छन् । साथै, राम्रै संख्यामा सवारी बुकिङ भइरहेको सहभागी ब्राण्डहरूले जनाएका छन् ।

कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरूले मूल्यमा छुट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, फ्री सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन् ।

बुधबार दोस्रो दिन पनि विभिन्न ब्राण्डका चार नयाँ मोडल सार्वजनिक भएका छन् । पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका थिए । त्यस्तै आज २६ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् । उद्घाटनको दिन हिजो २९ हजारभन्दा बढीले मेला अवलोकन गरेका थिए । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो ६ दिन अर्थात् साउन ३१ सम्म चल्नेछ ।

एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्राण्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् ।

एक्सपोमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् ।


Back_to_top