काठमाडौं । नेपाली सडकमा एक करोड ५० लाखभन्दा माथि मूल्य पर्ने इलेक्ट्रीक कारहरु गुडिरहेको भेटिन्छन् । विश्व प्रसिद्ध ब्राण्ड अउडी, टेस्ला, ज्यागुअर जस्ता ब्राण्डका महंगा इलेक्ट्रीक कारहरु नेपाल आएका छन् ।
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा आधिकारीक एजेन्सी नभएपनि भन्सार मूल्यमा थप ३० प्रतिशत रकम तिरेर गाडी ल्याउन पाउने व्यवस्था गरेसँगै यस्ता गाडीको आयात बढेको हो ।

आर्थिक वर्ष २०७७/७८ को बजेट आउनु अघि नेपाली भन्सार याडमा आएर थन्केका टेस्ला, ज्यागुअर, ल्याण्डरोभर, अउडी लगायतका ब्राण्डका गाडी एक पटकलाई नेपाल ल्याउन दिने योजना अनुरुप भन्सार मूल्यको ३० प्रतिशत थप जरिवाना तिरेर गाडी छुटाउन पाइने व्यवस्था गरेको थियो । अहिले त्यसैलाई गाडी आयातको कानुनी माध्यम बनाएर गाडी आयात भइरहेका छन् ।
अटोमोवाइल क्षेत्रमा नयाँ विकृति सृजना भएको भन्दै नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले पनि यस्तो व्यवस्था तत्काल खारेज गर्न माग गर्दै आएको छ । यसरी आयात भएका गाडीले बजारमा स्वस्थ प्रतिस्पर्धालाई विगारेको नाडाको बुझाई छ ।
पछिल्ला दिन थप विवादित बन्दै
अउडीको इट्रोन नेपाल आएको पहिलो महंगो इलेक्ट्रीक कार हो । वेलायतबाट आयात भएको अउडी नक्कली कागजपत्र बनाएर आयात भएको थियो । अउडीको आयातपछि टेस्ला, ज्यागुअर लगायतका ब्राण्ड नेपाल आएका हुन् । यी कुनै पनि ब्राण्डको नेपालमा आधिकारीक वितरक नियुक्त छैन ।

कानुनी छिद्रको प्रयोग गर्दै व्यक्ति व्यक्तिले गाडी आयात गर्न थालेपछि यसको चौतर्फी विरोध सुरु भएको छ । अन्तर्राष्ट्रिय बजारमा ५५ हजार डलरभन्दा माथि पर्ने टेस्लाका कार ४० हजार डलरको मूल्य देखाएर आयात भएसँगै यसरी आयात हुने गाडी थप विवादित बनेको हो । केहि समयअघि ज्यागुअरको गाडी त अन्डर विलिङमा आयात भएको भन्दै भन्सारले १०० प्रतिशत जरिवाना तिराएर छोडेको थियो ।
टेस्लाले अहिले पनि भन्सारमा ३ यूनिट गाडी ल्याएको छ । पहिलो र दोस्रो लट निकै तिकडम गरेर छुटाएको प्रिन्साले अहिले ल्याएको ३ वटा टेस्ला मोडल थ्रिको विलिङ मूल्य केहि बढाएर ल्याएको वुझिएको छ । यद्यपी यी गाडी भन्सार पास भने भएका छैनन् ।

